डा. गोविन्द टन्डन संस्कृतिविद हुन्। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालिसकेका उनी शाकाहार प्रवर्द्धक पनि हुन। नेपालमा मनाइने चाडपर्वबारे राम्रो जानकारी राख्ने उनीसँग गरिएको दसैं विशेष कुराकानी:
दसैंको सांस्कृतिक र पौराणितक महत्व के छ? यसलाई किन महान वा बडा चाड भनिएको हो?
असोजमा मनाइने दसैंलाई हामी बडादसैं भन्छौं। विशेषगरी वर्षमा दुईवटा दसैं हुन्छन्। एउटा चैते दसैं, अर्को बडादसैं। असोजमा मनाइने दसैं शरद ऋतुमा पर्ने भएकाले बडा दसैं भन्छौं। यसका धार्मिक र सांस्कृतिक धेरै नै महत्वहरु छन्। किनभने लामो समयदेखि चलेर आएको पर्व हो यो। पर्व भन्नासाथ पारिवारिक मिलनका रुपमा पनि बुझ्न सकिन्छ। समाज–समाज, व्यक्ति–व्यक्ति र परिवार–परिवारमा जोडिने भएकाले पनि यसलाई बडादसैं भनिएको हो।सामाजिकीकरणका लागि पनि यसको आफ्नै महत्व छ। धार्मिक र सांस्कृतिक महत्व त हुने नै भयो सामाजिक महत्व पनि अत्यन्त धेरै छ।
नेपालको सन्दर्भमा धेरै चाडवाडहरुमध्ये बडादसैं, विजया दशमी अथवा दसैंलाई अत्याधिक महत्वको रुपमा नेपालीहरुले मनाउने गरेको पाइन्छ। यद्दपी, केही समूहले हिन्दुहरुको होइन भनेर दसैं नमनाएको पनि पाइन्छ। स्वाभाविक पनि लाग्छ यसले केही हदसम्म दसैंको सन्दर्भमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्न मद्दत गरेको पाइन्छ। तर, त्यस्तो समूह धेरै ठुलो चाँही छैन। समग्रमा भन्नुपर्दा विजया दशमी नेपालीहरुको एउटा महान चाडको रुपमा लिनुपर्दछ। अहिले त नेपालीहरु विश्वका विभिन्न कुनामा बसेका छन्। आजभन्दा १५–२० वर्षभन्दा अगाडि यसको जति राष्ट्रिय महत्व थियो, अब अन्तर्राष्ट्रिय हुँदै गएको छ। नेपालको चाडपर्व हेर्ने पञ्चाङ्ग निर्णायक विकास समिति पनि अन्तर्राष्ट्रिय रुपमै साइतहरु सार्वजनिक गर्न थालिसकेको छ। अमेरिका, बेलायत, जापान र कोरियालगायतका देशहरमा कुन कुन बेला टिकाको साइत छ भनेर सार्वजनिक गर्नु पनि बडादसैंले आफ्नो महत्व विस्तार गर्दै लगेको अर्थको रुपमा पनि बुझ्नुपर्दछ। बडादसैंको सामाजिक, सांस्कृतिक, पौराणिक महत्व भएकै कारणले मान्छेले यसलाई ग्रहण गरिरहेका छन्।
विश्वका विभिन्न देशमा मनाइने दसैंको तौरतरिका एकै किसिमको हुन्छ कि फरक फरक छ?
विभिन्न देशको भ्रमणका क्रममा त्यहाँ मनाइने दसैंलाई नजिकबाट हेर्ने मौका पाएको छु। त्यहाँ अलग अलग देशले त्यहाँको समय परिस्थिति र पर्यावरण अनुसार फरक फरक तरिकाले नै मनाएको देखिन्छ। तर, दसैंमा भएको अभिन्न अंगहरु एउटै संस्कृति अनुसार मनाइन्छ। दसैंका एक दुईवटा अंगहरु भनेको दसैं एउटा चाड हो। यसमा मनोरञ्जन छ, केही धार्मिक, अध्यात्मिकता र केही उपासना पक्ष पनि छ। दसैंमा साधनाका पक्षहरु पनि त्यत्तिकै छन्। त्यसलगत्तै विजया दशमीदेखि पुर्णिमासम्म टिकाटालोको समय छ। टिकाटालो र जमरा राख्ने क्रमलाई सबैतिर विधि जानेको छ भने आफैंले र जानेको छैन भने साथीभाइतर्फबाट जमरा ल्याएर टिकाटालो गर्ने चलन छ। तर, जसले विजया दशमीलाई अध्यात्मका रुपमा चिनियो र महत्वका साथ हेर्दै आउनुभएको छ। दसैंका सुरुवाती नौ दिनमा मान्छेले आफ्नो जीवनलाई फेरि पुर्नताजकी गरेर नवीकरणीय गरेर उर्जा प्राप्त गर्ने पर्व पनि हो। बाह्य कुराहरु खाने, पिउने, रमाइलो गर्ने कुराहरु त सबैतिर उस्तैउस्तै जस्तो देखिन्छ। दसैंभित्रको साधनाको, ज्ञानको पक्षमा चाँही कँही न कँही चुकिरहेका छौं। यसो भनिरहँदा नेपालमा चाँही दसैंमा साधनालाई महत्व दिइरहेका हुन्छन् कि भन्ने प्रश्न आउला, यसमा पनि हामी चुकिरहेका छौं। सरकारले समेत दसैंलाई खाने पिउने र रमाउने तरिकालाई मात्र प्रोत्साहन गरिरहेको जस्तो देखिन्छ। तर दसैं अध्यात्म साधना र पारिवारिक मिलनको चाड भएकाले विश्वमै दुर्लभ मानिन्छ। यसमा जीवन्तता भरिएको छ, यसकारण पनि बडादसैं, ठुलो दसैं भनेर विश्वभर छरिएर रहेका नेपालीहरुले मनाउने गरेका हुन्।
तपाईंले दसैंलाई अध्यात्मिक चाडका रुपमा व्याख्या गरिरहँदा विलासीका रुपमा लिने हिन्दुहरु पनि धेरै छन्। ऋण लिएर नै भएपनि दसैं मनाउने प्रवृतिले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?
समाजको बाहिरी रुपमा देखिने पक्ष हो यो। दसैं मनाउनेहरु सबै हुनेखाने छन् भन्न मिल्दैन। त्यस्तो अवस्थामा कतिपय मान्छेले अर्काको देखासिखीमा अर्थात उसले यस्तो गर्यो मैंले किन नगर्ने ? अरुले नयाँ लुगा किन्यो मंैले किन नकिन्ने ? भनेर प्रतिस्पर्धा गर्ने चलन छ। यस्तो प्रवृत्ति बढ्दै जाने हो भने अरुले घोडा चढ्यो भनेर आफू धुरीमाथि चढ्न जानुजस्तो हुन्छ। यसले निश्चय नै देशको अर्थतन्त्रमा असर पर्छ । त्यसैले कुनैपनि चाड मनाउँदा आफ्नो आर्थिक परिस्थिति हेरेर मनाउने हो। ऋण लिएर, ऋणमा डुबेर चाडपर्व मनाउनुपर्छ भन्नेमा म छैन। किनभने कसैले कसरी मनायो भन्दा पनि आफूले राम्रो ढंगले चाड मनाउने हो। कसैले यो पटक तैंले किन कम गरिस् भनेर त भन्दैन नि। त्यसैले आफ्नो क्षमताले भ्याएसम्म ऋणमा नडुबिकन दसैं मनाउनुपर्छ।
दसैंको साइत नेपाल र विश्वका विभिन्न देशमा किन फरक पर्न गएको हो?
समयको फरक भएरै होला। अमेरिका र नेपालमा मात्रै पनि १२, १३ घण्टाको फरक छ। अमेरिकाका राज्यपिच्छे फरक छ। जति हामी पूर्वतिर गयौं, त्यति घण्टा फरक हुन्छ। यसमा त विश्वको समयलाई नै ध्यान दिनुपर्छ।
दसैंमा केहीले सेतो टीका र जमरा पनि लगाउने गरेको पाइन्छ। खासगरी सेतो, रातो टीका र जमराको महत्व के हो?
दशैँलाई नेपालीहरुको सबैभन्दा व्यापक पर्व भएको हुनाले यसलाई विभिन्न तरिकाले मनाइन्छ। पूर्वतिर राई, लिम्बुहरुले सेतो टीका जमरा लगाएको पाइन्छ। त्यसको अर्थ भनेको रातो टीकामा अलिकति नकारात्मक संकेत छ। त्यसले कसैको काटमारको भावना देखाउने भएका हुनाले रातोभन्दा सेतो नै लगाउने भनेर लगाउने गरेको पाइन्छ। टीका पनि निधारमा लगाउने भन्दा पनि निधारभर लगाउने चलन छ।
अर्कोतिर रातो टीकालाई शुभ, विरताको संकेत मानिन्छ। त्यसैगरी जमराको कुरामा पनि शास्त्रमा के भनेको छ भने ‘अन्न नै ब्रह्म हो’। त्यसैले अन्न मध्येको पनि सबैभन्दा प्रमुख जौं हो, हरेक पूजामा प्रयोग गरिन्छ। यति धेरै महत्व दिएको हुनाले जौंको प्रसाद ग्रहण गर्ने गरिन्छ। नौ दिनसम्म छोपेर जौं उमारिन्छ। त्यसलाई प्रसादको रुपमा ग्रहण गरिन्छ। यो प्राचिन र पवित्र अन्न मध्ये एउटा हो। धेरै स्थानमा जौं सँगै अरु अन्न पनि राख्ने गरिन्छ।
दशैँमा बलि दिने चलन पनि छ, यो शास्त्रमा नै लेखिएको छ कि चलि आएको चलन मात्र हो?
बलि भन्ने शब्दको मात्र प्रयोग गर्यौं भने त्यहाँ पशु आउदैँन्। बलि भनेको उपहार हो। भगवानलाई उपहार दिने कुरा हो। बलि भनेको बलिदान हो। शास्त्रको कुरा गर्दा कुन कुनलाई भन्ने अनगिन्ति कुराहरु छन्। त्यसमा सात्विक विचार राख्नेहरुले त्यो शास्त्रहरुबाट राम्रो कुराहरुको संग्रह गरेर पशु बलि भनेको राम्रो होइन भन्ने अर्थ निकालिएको पाइन्छ।
किनभने कसैलाई मार्नु धर्म हुदैँन्, यो धर्म हो भने पाप के हो त?
समाजमा यस्ता मानिस पनि हुन्छन् जसको सोच खाऊँ, पिउ मोज गरौं भन्ने हुन्छ। त्यस्तो मानिसको लागि पूजाका क्रममा पशु बलिका कुराहरु पनि आएका छन्। तर हामी २१ औं शताब्दीमा छौ, यहाँसम्म आइपुग्दा देवी देउताको नाममा काटमार गर्नुलाई त्यति उपयुक्त मानिदैँन्। काटमार राम्रो होइन रहेछ भनेर धेरैले छाडेको पनि छन्। वास्तवमा भगवानको वहानामा मान्छेले आफैंले खानलाई गरेको एउटा तरिका मात्र हो।
यस्तो काम धर्म विरोधी हो भनेर मानिसहरुले भनिरहेका हुन्छन्, तर आफैंले विरोधी काम पनि गरिरहेका छन् नि। यस्तो तरिका दुई चरित्रको भयो, कुनैपनि हालतमा राम्रो भएन। जसले खादैँन्, उसले दिनु हुदैँन्। म माछा मासु खादिन् र म काटमारको पक्षमा पनि छैन्। म जस्तै धेरै मानिस छन्। अब एकथरी मान्छेहरु भने दुई चरित्र भएका हुन्छन्। म बलि दिन्न तर खान चाहीं खान्छु भन्ने खालका छन्, यो गर्नु हुदैँन्।
जे काम गर्दा आफ्नो आत्माले शान्ति पाउदैँन्, त्यस्तो काम अरुलाई गर्नपर्छ भनेर भन्नु भएन नि। आफू खाने अनि गर्न चाही हुदैँन् भन्नु पनि राम्रो भएन। यसले गर्दा सबैभन्दा ठूलो कुरा आफूले आफैलाई सोध्ने हो। यदि मेरो सन्तानलाई कसैले लगेर खान्छ भने म के भन्थे होला ? त्यसैगरी अर्काको छोराछोरी हामीले खाइ रहेका छौं, यो ठिक हो कि होइन भनेर आफैलाई सोध्ने हो। शास्त्रले पनि यसलाई बढाउने होइन, घटाउनेतिर लाग्नुपर्छ भनेर भनेको छ। अर्कालाई मार्नु, काट्नु, खानु कुनै पनि हालतमा राम्रो काम होइन्।
तपाईले बलि दिनु हुदैँन् भनेर लामो समयदेखि अभियान पनि चलाउनु भएको छ, केही हदसम्म कम भएको जस्तो लाग्छ?
केही मात्र होइन, धेरै नै कम भएको छ। पहिला पहिला यो अभियान सुरु हुनुभन्दा अगाडि अष्टमी, नवमीमा काठमाडौंका सडकमा निस्कन सकिँदैनथ्यो। गाउँघरमा पनि त्यस्तै हुन्थ्यो। अब सडकमा त्यो अवस्था छैन्। नरीवल चढाउन थालेका छन्। भद्रकालीको मन्दिरदेखि लिएर गुहेश्वरी, दक्षिणकालीसम्म हेर्दा कुनैबेला नरीवल भनेको के हो भन्ने चलन थियो। तर अहिले सबैतिर नरीवल चढाउने चलन आयो।
पूर्ण रुपमा निर्मूल पार्नको लागि कसरी सकिएला?
पूर्ण रुपमा निर्मुल पार्न एउटा चाँही सरकारी पक्षबाट पनि लाग्नुप¥यो। राज्य संयन्त्रले नेपालमा नेपालीहरुको लागि गर्नुपर्ने धेरै काम छ। सुशासनका लागि, सुुख दिनको लागि र समुुुन्नतिको लागि कामहरु गर्नुपर्नेछ। तर दसैंको बेला राज्यको संयन्त्र खाद्य संस्थानमा कताबाट भेडा र च्याङग्रा ल्याउने भन्ने सोचमै व्यस्त हुन्छ। त्यसैले पहिले त राज्यले पनि प्रोत्साहन गर्नुप¥यो। र जनताहरुले पनि त्यही अनुसारको विचार वा धारणा बनाउँदै जान्छन। राज्यले कसैले मासुको दोकान खोल्छु भन्यो भने पाँच लाख रुपैयाँ सजिलै पाउँछ। अर्कोले फलफूल वा तरकारीको पसल राख्छु भन्यो भने त्यति कमाउन गार्हो पर्छ। त्यसैले पनि यहाँ त राज्यले नै प्रोत्साहन गरिरहेको छ। किन दिएको होला थाहा छैन्। देशमा जतिपनि महामारीहरु छन् ति सबै माछा मासुकै कारणले भइरहेको छ। संसारमा अहिले जतिपनि रोगहरुको कारण छन् सबै माछा मासुकै कारण वा खानपीनका कारणले भइरहेकोछ। यो सबैलाई थाहा छ। तर राज्यले नै प्रोत्साहन गरिरहेको देखिन्छ। यो कुनै पनि हालतमा उपयुक्त होइन्। राज्यले सिंहदरबारभित्र काटमार गर्न भएन, राष्ट्रपति, प्रधानमन्त्रीको भवनभित्र काटमार गर्न भएन। कुनैपनि सरकारी काममा माछा मासुको भोजभत्तेर नगर्नुहोला भन्न चाहन्छु। यस्तो गरियो भने शान्ति आउँदैन। शान्तिको कुरा गर्दै माछामासु र जाँडरक्सी सेवन गर्दा शान्ति आउँदैन्। त्यसैले यसलाई ख्याल राख्नुपर्छ।
वौद्ध धर्मावलम्वीहरु पनि दसैं मनाउँछन्। उहाँहरुले मनाउने दसैं के फरक हुन्छ?
उहाँहरुको पनि दुईवटा चरित्र हुन्छ। बुद्धले परम्परादेखि चलिआएको धर्म, संस्कृतिमा बलिप्रधान देखेर नै ठिक भएन भनेर लाग्नुभयो। उहाँहरुको पञ्चशिल सिद्धान्त छ। एक नम्बरमा हिंसा गर्नुहुन्न भन्नुभएको छ। हिंसा गर्नुहुन्न भनेर उहाँले त्यस्तो राम्रो उपदेश दिनुभयो तर उहाँका थोरै मात्र शिष्यहरु अहिंसा गर्ने छन्। हुँदाहुँदा बौद्ध धर्म अहिंसावादी बौद्ध समाज भनेर गठन गरेको देख्छु। आफूले काटमार नगरेपनि बजारबाट ल्याएर खान हुन्छ भन्ने उहाँहरुको धारणा छ। उहाँहरुले नखाइदिने हो भने त्यो पसल नै खुल्दैनथ्यो। तर उहाँहरु भन्नुहुन्छ हामीले काट भनेको होइन राखेको रहेछ, तरकारी खाए जस्तो हो भन्नुहुन्छ। तर गौतम बुद्धले त्यस्तो भन्नुभएको छैन्। जसरी सनातन हिन्दु धर्मावलम्वीहरुमा अलमल छ त्यस्तै बौद्ध धर्ममा पनि छ। मात्र जैनहरुमा यस्तो अलमल देखिदैन। अहिले सनातन हिन्दु धर्मभित्र पनि विभिन्न सम्प्रदायहरु भित्रिएका छन् जसले काटमार भनेको गलत हो पनि भनेका छन्।
हिन्दुहरु पनि धेरै समुदायले दशै मनाउँदैनन्। उदाहरणको लागि ललितपुरको खोकनाबासीले अहिले पनि दशै मनाउँदैनन्। यसको कारण के होला?
कतिले फाप्दैन भन्ने चलन छ। कुनै दुर्घट्ना भयो भने हामीलाई फाप्दैन् भन्छन्। यसरी व्यक्ति नै पिच्छे फरक धारणा हुनसक्छ। तर समग्र भन्दाखेरी मनुष्य जीवनमा मेरो लागि मात्र हो कि राष्ट्रको लागि गर्ने भन्ने सोच्ने हो भने सामान्य काटमारलाई छाड्न सकिन्छ। यसमा युद्धको कुरा जोडिएको र विजया दशमीको चलन पनि पहिलेको जस्तो छैन्। समयअनुसार परिवर्तन हुँदै गइरहेको छ, जानु पनि पर्छ। त्यसैले चाडपर्वहरुलाई समयअनुसार मिलाएर लानुपर्छ अनि समाज, राष्ट्र र विश्वमा त्यसका राम्रा पक्षलाई लिएर गयो भने धर्म संस्कृति जीवन्त रहन्छ।
नेपालका चाडपर्वमा पछिल्लो समय पश्चिमा संस्कृति भित्रिदै गयो भन्ने चिन्ता छ। दसैंलगायतका चाडपर्वहरुको पौराणिक सांस्कृतिक महत्वको पुस्तान्तरण हुन नसकेको हो कि?
यसका लागि प्रयत्न पनि गरेनौं, राज्यले पनि प्रयत्न गरेन। यस्तो कुरा सिक्ने भनेकै आफ्नो घरबाट हो। तर उनीहरुलाई नै त्यसबारे थाहा छैन भने सिक्ने कुरा भएन। त्यसको लागि पाठ्यपुस्तकहरुमा नै संस्कृतिको बारेमा राख्ने गर्नुपर्छ। जीवनसँग जोडिएका संस्कृतिका विषयहरु पढ्न पाउने तालिम केन्द्रहरु हुनुपर्छ। जमरा कसरी उमारिन्छ भन्ने तालिम होस। तर अहिलेको बच्चाहरुलाई जमरा कसरी उमारिन्छ भन्ने थाहा छैन्। अहिले मानिसहरुमा अलमल पनि छ, जति बुझ्नुपर्ने नबुझेको अवस्था छ। देशको लागि राम्रो होइन। कुनै देशको धर्म, संस्कृति, इतिहास भूगोल मासिदै गयो भने देशको अस्तित्व जोगाउन समस्या पर्छ। यि कुरालाई राज्यले देशको लागि नेतृत्व गर्छु भनेर हिड्नेहरुले बुझ्दिनुपर्छ। विकृतिको सुधार गर्न भन्दा पनि आलोचना मात्र गरेर बस्ने काम राज्यको तर्फबाट भएको छ।
भिडियाे :