अमेरिकामा एक दिन पहिलै दशैं टीका : जारी छ 'धन्धुकारी' बितण्डा

प्रदीप भट्टराई

वासिङ्टन डीसी
Break n Links
Break n Links

अमेरिकामा केही वर्षयता दशैको टीका नेपालभन्दा अघिल्लै दिन लगाउने वितण्डा सुरू गरिएको छ । यसपटक पनि त्यही वितण्डा मच्चाउँदै अक्टोबर २५ शुक्रबार नै अमेरिकाका विभिन्न छ स्थानका लागि छुट्टाछुट्टै समयमा दशैंको टीकाको शुभसाइत निकालिएको छ जबकि नेपालमा अक्टोबर २६ गते शनिबार विहान ११ बजेर ३६ मिनेटमा दशैंको टीकाको शुभसाइत छ ।   

नेपालका कुनै समयका राजा ज्ञानेन्द्रका शाही पण्डित माधवप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति नामक एक संस्था बनाएर यो वितण्डाको नेतृत्व लिएका छन् । उनले यही समितिमार्फत् अमेरिकाका लागि मात्र हैन, नेपाली डायस्पोरा रहेको संसारका विभिन्न ३२ देशका लागि दशैं टीकाको साइत बाँड्न थालेका छन् । भन्नलाई त विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले टीकाको साइत निकालिएको भनिएको छ तर यथार्थमा त्यस्तो हैन ।

शाही पण्डित भट्टराईको यो वितण्डाअघि नै अमेरिकामा रहेका मारूती पात्रोवाला भुटानी नेपाली पण्डितहरूले यसको प्रयास गर्दैआएका थिए। तर, उनीहरूको त्यो प्रयासको असर अमेरिकामा रहेका केही भुटानी नेपालीमा परे पनि अमेरिकामा रहेका नेपालीलाई भने पटक्कै परेको थिएन।

तर, जब भट्टराई आफ्नी राप्रपावाली नेतृ पत्नी कान्ता भट्टराईलाई लिएर नेपाल अमेरिकाको यात्रा गर्न थाले, उनी ड्यालासस्थित नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसीएससी)मा रहेका आफ्ना एक भक्त पूजारीमार्फत् यो अभियानको जग राख्न सफल भए, त्यसले ड्यालसमा रहेका केही नेपालीलाई दिगभ्रमित पार्न सक्यो। अहिले त्यसको नेतृत्व नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसीएससी) ले लिएको छ ।

तर, विगतमा भन्दा यस वर्ष यो वितण्डाको पछि लाग्नेको संख्या कम भएको छ । गत वर्ष अमेरिकाका अन्य सहरमा रहेका नेपाली मन्दिरका धेरै पूजारीले अघिल्लो दिन नै दशैको टीका लगाउनुपर्ने उर्दी जारी गरेका थिए । तर, नेपालमा मान्यजनले टीका नलगाइ नलगाउने भनेर धेरै नेपालीले उर्दी नमानेपछि उनीहरू रक्षात्मक बनेका थिए। यस वर्ष त उनीहरू पनि नेपालमा टीका लगाएपछि नै टीका लगाउने निर्णयमा पुगेका छन्।

बुझ्न के जरूरी छ भने दशै हिन्दू धर्मवालम्वीको धार्मिक चाड मात्र हैन, यो नेपाली जातिकै साझा सांस्कृतिक पर्व हो। यसलाई हिन्दू धर्मको धार्मिक चाडका रूपमा मात्र हेरिनु हुन्न । यसलाई नेपाली मात्रको सांस्कृतिक चाडका रूपमा हेरिनुपर्छ । यसको सनातनी मान्यता पनि यही नै हो। पछिल्लो समय बढ्दो नेपाली डायस्पोरासँगै जहाँ जहाँ नेपाली पुगेका छन्, त्यहाँ त्यहाँ यो सांस्कृतिक विरासतका रूपमा मनाइदै आएको छ। 

पहिला पहिला नेपाली डायस्पोरा रहेको भारत, भुटान, म्यान्मारमा पनि नेपालमा टीका लगाएपछि मात्र टीका लगाउने चलन थियो । आफ्नो थातथलोको मूलघरको कोतमा मान्यजनले भवानी दुर्गाको पूजा गरेर टीका खोलेपछि मात्र टीका सुरू हुने यसको स्थापित प्रचलन हो । अझ भुटानमा रहेका भुटानी नेपाली त नेपालका राजारानीले टीकालगाएपछि मात्र टीका लगाउँथे । भनिन्छ, यसबाट भुटानी राजा आफूलाई भन्दा पनि नेपालका राजालाई मान्यता दिएको भनेर चिढिएका थिए।  

जब दशैको सनातनी मान्यता नै यस्तो छ भने योभन्दा फरक किसिमले दशैको टीका लगाउने प्रपञ्च गर्नुको कुनै अर्थ छैन। तिथि, घडी, पलाको हिसावभन्दा पनि दशैको सनातनी परम्परा प्रमुख हो। दशैंको सांस्कृतिक स्वीकार्यता प्रमुख हो । अझ चुरो कुरो त दशैलाई हिन्दू चाडका रूपमा खुम्च्याउने सोच नै पश्चगामी सोच हो, यसलाई जहाँ रहे-बसेका भए पनि नेपालीको सांस्कृतिक चाडका रूपमा फराकिलो बनाउनेतिर लागौं । यसका लागि यसको स्थापित मान्यता र सनातनी परम्परालाई यथाशक्य कायम राखौं । यसलाई विवाद र विभाजनको विषय हैन, आपसी मेलमिलाप र संयोजनको आधार बनाऔं ।

खुशीको कुरा, अमेरिकामा रहेका नेपाली मूलका भुटानीहरूले शाही पण्डित भट्टराईकै उर्दीअनुसार अघिल्लो दिन नै दशैंको टीका लगाए पनि यहाँको नेपाली डायस्पोरामा यो धन्धुकारी अभियानले मान्यता पाएको छैन । आगामी दिनमा यो धन्धुकारी अभियानमा जोडिएकाहरूलाई पनि थप सद्वुद्धि प्राप्त हुने नै छ। उनीहरूले बुझ्न के जरूरी छ भने दशै भट्टराई वा भण्डारीका केही थान जजमानीको विषय  हैन, यो त नेपाली मात्रको सांस्कृतिक धरोहर र विरासतको विषय हो। हामीमध्ये कोहीको लहडको वा अल्पवुद्धिको विषय यो बनाइनु हुन्न।

अमेरिकामा यस वर्षको दशै-टीका मिलेसम्म शनिबार विहान ११ बजेर ३६ मिनेटको साइतमा लगाऔं, नमिल्नेले त्यसपछि लगाऔं । केही धन्धुकारीले भनेजस्तै नेपालमा आफ्ना मान्यजनले नलगाइ आइतबार नै नलगाऔं । यसबाट आफ्ना मान्यजनको अपमान त हुन्छ नै, जानी नजानी दशैको मूलमर्ममाथि पनि प्रहार हुन्छ ।

हामी विदेशमा रहेका नेपाली 'एकपटकको नेपाली सधैंको नेपाली' भनिरहेका छौं। त्यो भनेको विदेशी र नेपाली दुबै नागरिकता लिएर राजनीति गर्न र धनसम्पतिको पुर्जा जोगाउन मात्र त पक्कै पनि हैन होला। त्यसका केही निश्चित दायित्व र कर्तव्य पनि होलान् । त्यही  कोटीमा सांस्कृतिक विरासतका रूपमा पाएका दशैजस्ता चाडलाई दशैका रूपमा मनाउनुपर्ने पनि त होला नि, हैन र ? 
यो वर्ष यस्तै भयो, अर्को वर्ष के हुन्छ ? त्यो सबै त बाँचे देखिएला । कि कसो ?

प्रकाशित मिति: : 2024-10-07 05:11:00

प्रतिकृया दिनुहोस्