पछिल्लो समय हाम्रा स्वास्थ्य संस्थामा आउने धेरै बिरामीहरूमा शारिरिक भन्दा मानसिक समस्या हुने गरेको स्वास्थ्यकर्मीहरूले बताउँछन्। शरीर दुख्ने, टाउँको दुख्ने होस् वा निद्रा नलाग्ने बेचैनी हुनु अहिलेका समस्या हुन्। प्रयाप्त मानसिक चिकित्सक नहुनु यतिबेलाको अर्को समस्या हाे। स्वास्थ्य संस्थामा सामान्य तालिम प्राप्त मनोबिमर्शकर्ता सम्म नहुँदा स्वास्थ्यकर्मीहरूलाई उपचारमा सकस परिरहेको छ।
सरकारी वा गैरसरकारी निकायबाट आयोजना गरिने कतिपय कार्यक्रमहरूमा स्वास्थ्यकर्मीले मानसिक समस्या भयाबह हुँदै गएको बताए पनि राज्य निकायबाट समस्या सम्बोधनमा खासै चासो दिएको पाइँदैन। गाउँ सहर चारैतिर महामारी जस्तो बन्दै गएको मानसिक स्वास्थ्यका बारेमा चासो चिन्ता ब्यक्त भइरहँदा सरकारले बेलैमा समस्या न्यूनिकरणमा चासो दिनुपर्ने देखिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य एउटा अवस्था हो। जसमा व्यक्तिले आफूसँग भएको सामर्थयलाई महसुस गर्ने, जीवनमा आइपर्ने सामान्य तनावलाई सामना गर्नसक्ने, उत्पादनशील काम गर्नसक्ने, आफ्नो क्षमता अनुसार परिवार र समाजका लागि योगदान गर्नसक्ने हुन्छन्।
मानसिक स्वास्थ्यले संवेगात्मक, मनोवैज्ञानिक र सामाजिक सुस्वास्थ्यलाई समेटेको हुन्छ। यसले व्यक्तिले कस्तो सोच्छ, महसुस गर्छ र क्रियाकलाप गर्दछ भन्ने कुरालाई प्रभाव पार्दछ। त्यसैले मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो सोचाइ, भावना र व्यवहारलाई समाजमा सबैले मान्य हुने ढंगले प्रकट गर्दछन्।
मन र समाजबीचको तालमेल मिलेको अवस्थामा व्यक्तिमा कुनै समस्या हुँदैन। यसलाई मनोसामाजिक सुस्वास्थ्य भनिन्छ। तर एउटा व्यक्ति समाजमा बसेको र हुर्केको हन्छ, ऊसँग त्यस समाजप्रतिको संस्कार, परम्परा, धर्म, आपसी सम्बन्ध हुन्छ भने त्यसको साथसाथै उसको व्यक्तिगत भावना, विचार, धारणा, बुझाइ आदि पनि हुन्छ। यी दुईबीचको सम्बन्ध नै मनोसामाजिक हो र यी दुईबीच सन्तुलन हुन सकेन भने मनोसामाजिक समस्या उत्पन्न हुनसक्छ।
मानसिक तनावका कारण मानिसलाई थुप्रै मनोसामाजिक समस्या हुन सक्छन्। डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअडर, छटपटीको समस्यासँगै निन्द्राको समस्यासमेत हुन्छ। तनावका समयमा मानिसहरूले लागुपदार्थसमेत प्रयोग गर्छन्। मानिसहरूलाई दिक्क लाग्ने, नरमाइलो लाग्ने, निराशा हुने, छटपटी हुने, अत्यास लाग्ने, ढुकढुकी बढ्ने हुन्छ। हातखुट्टा झमझमाउने, पोल्ने, कहिले यता कहिले यता दुखेजस्तो लाग्ने हुन्छ। यस्तो बेलामा जचाउन गर्यो रिपोर्टमा केही पनि आउँदैन, यो सबै तनावका कारणले हुन्छ।
मानसिक तनावबाट बच्ने उपायहरू
मानसिक तनावबाट बच्न, शारीरिक रूपमा स्वस्थ राख्न हामी व्यायाम गरेजस्तै मन स्वस्थ राख्नका लागि पनि काम गर्नुपर्छ। आफ्नो विचारलाई कसरी स्वस्थ राख्ने ? मेरो विचार कतातिर गइरहेको छ ? म आज कस्तो छु ? मेरो सोचाइ कस्तो छ? म स्वस्थ्य छु कि छैन ? आज म खुसी छु कि छैन? अलि तनाव पो छु कि ? यस्ता कुरा बेलाबेलामा याद गर्नुपर्छ।
मेरो तनाव कस्तो खालको हो ? मेरो पारीवारिक हो कि व्यावसायिक हो ? कि या जागीरको पो हो कि ? यसलाई पत्ता लगाउनुपर्छ। यस्ता कुराको साथै निन्द्राको व्यवस्थापन अनि खानाको व्यवस्थापन गर्न जरुरी छ।
आफू र परिवारलाई बेलाबेलामा मनोरञ्जन दिन आवश्यक छ। आफूले आफूलाई स्वस्थ र बलियो बनाउन मैले कुनै रमाइलो र खुसी हुने काम गरेको छु कि छैन भनेर आफूले आफूलाई जाँच्नुपर्छ। आधुनिकताले गर्दा व्यक्तिवादी चिन्तन हावी भएको छ। दिनरात काम गर्ने गर्नाले एकदिन पनि मानिसलाई फुर्सद छैन। रातिमा काम गर्नेलाई अझ बढी तनाव हुनसक्छ।
बेलाबेलामा साथीभाइ, आफन्तसँग घुम्ने, रमाइलो गर्ने गर्नुपर्दछ। बिदाको दिनमा आफ्नो कामको तनाव लिनु हुँदैन। आफ्नो विचारलाई बेलाबेलामा जाँच गर्नुपर्दछ। यस्ता समस्या देखिए भने मनोविमर्शकर्ता कहाँ जानुपर्छ र त्यहाँबाट समस्या समाधान हुन नसकेमा मानसिक रोग विशेषज्ञहरूसँग सल्लाह लिनुपर्छ।
नेपालमा मानसिक समस्या भन्नासाथ एउटै कुरा बुझ्ने गर्छौं, त्यो हो पागलपन। जबसम्म व्यक्ति र समाज यो समस्याबाट उठ्न सक्दैन, तबसम्म यो समस्या रहिरन्छ। अहिले पनि मानसिक स्वास्थ्यलाई समस्याको रूपमा हेरिएको अवस्था छैन। मानसिक समस्यालाई लाज र घृणाको संज्ञा दिइरहेको छ। यसले समस्यामा परेको व्यक्तिले झन् समस्या भोग्नुपरेको छ भने समाजले पनि कतै न कतै पीडाबोध गरेको हुन्छ। सबैभन्दा पहिले त मानसिक समस्याप्रति कोही कतै पनि संवेदनशील नभएको पाइन्छ। यसले यो समस्यालाई झनै मौलाएको देखिन्छ।
स्वास्थ्यको एउटा अत्यावश्यक अंश हो, मानसिक स्वास्थ्य। हरेक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ, जसको उद्देश्य मानसिक स्वास्थ्य सम्बन्धी जागरूकता जगाउने र मानसिक स्वास्थ्यको समर्थनमा प्रयास परिचालन गर्नु हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा ४.३ प्रतिशत वयस्कहरूमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। सर्वेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ। सर्वेक्षणमा किशोर किशोरीमा मानसिक स्वास्थ्यको अवस्था हेर्दा ५ दशमलब २ प्रतिशत किशोर किशोरीमा मानसिक समस्या भएको पाइएको छ।
विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन्। १५ देखि २९ वर्षका उमेर समूहमा आत्महत्या तेस्रो प्रमुख मृत्युको कारण हो। विश्व स्वास्थ्य संगठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुने गर्दछन्। नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन्।
विगत एक दशकको तथ्याङ्क हेर्दा आ.व. २०७१/७२ मा वार्षिक ४ हजार ३ सय ३२ जनाबाट आ.व. २०८०/८१ सम्म आइपुग्दा वार्षिक ७ हजार २ सय २३ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ। नेपाल प्रहरीका अनुसार आ.व. २०८०/८१ को तथ्याङ्क अनुसार पुरुष, महिला, बालक र बालिकाले गर्ने आत्महत्याको सङ्ख्या क्रमशः ३ हजार ७ सय २७, २ हजार ५ सय ७३, ३ सय ३१ र ५ सय ९२ रहेको देखिन्छ।
नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले प्रकाशन गरेको तथ्याङ्क हेर्ने हो भने विगत दश वर्षमा वार्षिक रुपमा औसतमा ५ हजार ७ सय ५२ जनाले आत्महत्या गर्नेगरेको देखिन्छ। विगत १० वर्षमा सबैभन्दा बढी कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा आत्महत्या गरेको तथ्याङ्क छ। कुल ३२ हजार ८ सय ७८ जनामा २६ हजार ६ सय ५० जनाले झुण्डिएर, ५ हजार ६ सय ८७ ले विष खाएर र बाँकी अन्य छ। आ.व. २०७५/०७६ देखि आ.व. २०७९/८० सम्मको आत्महत्याको लैङ्गिक अवस्था हेर्दा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गरेको देखिन्छ।
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या निकै उच्च रहेको एक तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ३ सय ३४ जनाले आत्महत्या गरेको प्रहरीले बताएको छ। त्यसैगरी २०७९/०८० मा १ हजार ३ सय ६ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ३ सय २१ जनाले आत्महत्या गरेका छन्। यो आर्थिक बर्षको २ महिनामा १ सय २२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ। दाङमा सबै भन्दा धेरै आत्महत्याको दर देखिँदा रुकुम पूर्वमा भने यो संख्या न्यून रहेको छ। प्रहरीको तथ्यांक अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या अत्याधिक छ।
विश्वब्यापी तथ्यांक हेर्दा करिब ६० प्रतिशत जनसंख्यामा कुनै न कुनै रोजगारीमा संलग्न छन्। ति मध्य ४७ प्रतिशत महिलाहरूको संख्या रहेको छ। नेपालको सन्दर्भमा करिब ६०.४ प्रतिशत महिलाहरू आर्थिक रुपमा सक्रिय रहेको छन्। यसरी काममा संलग्न हुँदा, सुरक्षित, सम्मानित र स्वस्थ्य वातावरण पाउनु सबै ब्यक्तिको अधिकार हो।
कार्यस्थलमा सुरक्षित सम्मानित र सहयोगि वातावरण नहुँदा कर्मचारी वा कामदारले अत्यधिक तनाब, डर, असुरक्षित हिंसा आदि भोग्नु परिरहेको हुन सक्दछ। जसका कारण ब्यक्तिको मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ। मर्यादित कार्यस्थल र सन्तुलित कामले ब्यक्तिको आत्मविश्वास बढाउने आफ्रनो अस्थीत्व बोध गराउन ब्यक्तित्व निर्माण गर्ने क्षमतामा निखार ल्याउनुका साथै तनाबलाई बहन गर्न सक्ने गराउदछ।
कार्य प्रकृतिले निर्धारण गर्ने दैनिकि र समय तालिकाले ब्यक्तिको जीवनशैलीस्थिर राख्दै अनिश्चित र अन्यौल जस्ता चिन्ता वा उदासिनतामा देखिने मनोभावनामा पनि कमी ल्याउन सहयोग गर्दछ। साथै सुरक्षित कार्यस्थलले ब्यक्तिको मनको भावना पीडा र अनुभव आफ्ना सहकर्मीसँग साटासाट गर्ने अवसर पनि प्रदान गर्दछ। यस्तो कार्यस्थलमा सहकर्मीसँग हुने हार्दिकता, आत्मीयता अन्तरक्रियाले अलग्गीएको तथा एक्लोपनाको महसुस हुनबाट जोगाउदछ।
कार्य कुशलता कायम गर्न र गुणस्तरीय नतिजा हासिल गर्न मदत गर्दछ। तसर्थ कार्यस्थलमाहुन सक्ने मानसिक स्वास्थ्य समस्याको बारेमा सबै सचेत रहदै मानसिक स्वास्थ्यमैत्री कार्यस्थल बनाउन सबै तहमा जरुरी रहेको छ।
लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्र रुकुमका जिल्ला संयोजक हुन्।