धेरै विषयमा कलम चलाइयो। विषयहरुलाई दोहोर्याइ, तेहोर्याइ पनि कलम घोटियो।
२०४९ सालदेखि लगातार अनेक अखबार र पत्र-पत्रिकाहरुमा कलम घोट्ने ‘काम’ सिकियो। ‘इन्टरनेट’को सुलभतासँगै २०५९/६० देखि अनेक ‘ब्लग साइट’ र ‘सेलेक्टेड अनलाइन पोर्टल’मा निरन्तर लेखियो। यसबीच लामो अनुसन्धान गरेर केही पुस्तक पनि प्रकाशित गरियो। जसमा अत्यधिक बिक्री भएको चाहिँ ‘म को हुँ’ उपन्यास हो। करिब २७ सय वटा ‘म को हुँ’ बिक्री भए, २०७२ यता।
अर्को हप्ता ‘अन्तिम प्रहर’ बजारमा पठाएपछि आधा लेखेर ‘फाइल क्लोज’ गरेको ‘एक्लो माकुरो’ (जासुसी उपन्यास)लाई सखार गर्नु छ। तर, हिजो-आज मलाई अर्थोकै केही फुरिरहेको छ। केही दिन यता निकै खतरनाक ‘प्लट’हरु मलाई फुरिरहेका छन्।
कूल जनसंख्याका आधारमा नेपालमा ‘म को हुँ’ जस्तो उपन्यास एक दशकमा २७ सयप्रति मात्रै होइन, सत्ताइस लाख प्रति बिक्री हुनुपर्ने हो। ०४९ सालदेखि लगातार अखबारमा लेखिरहेको लेखकले यति अपेक्षा राख्नु अत्युक्ति होला कि? तर भइदियो।
यद्यपि, यस्तो लाग्छ कि यहाँ पाठकहरु बढ्नुको सट्टा झन्झन् घटिरहेका छन्। जसका अनेकानेक कारण छन्। त्यसको चर्चा फेरि कुनै दिन!
हाललाई -
‘एक्लो माकुरो’को फाइल अझै ६ महिना नखोल्ने निर्णय गरें। यसबीच म एक बिल्कूलै नवीन पुस्तक लेख्ने ‘फिराक’मा छु। अब बल्ल म यहाँ अत्यधिक बिक्री हुन सक्ने विषयलाई समातेर कलम दौडाउँछु। कुनै अनुमान? के होला त्यस्तो जरुरी र कुश्त नाफा कमाउन सक्ने विषय, नेपालमा?
धेरै अलमल किन? लौ आयो, जवाफ -
‘कामशूत्र’ वा ‘सेक्स’ !
तीन सय पृष्ठमा जब म कामशूत्र वा सेक्स विषयक पुस्तक निकाल्ने छु- तब म पनि मालामाल हुने छु, नेपालमा ! (बाजी ठोक्ने कि?)
भट्टी खोलिएन। घाटा सहेर पनि पुस्तकै निकालियो। त्यसैले अब पुस्तकबाटै मालामाल हुनु जरुरी देखिन्छ, यहाँ हाम्ले पनि। होइन र? अहिलेसम्म घाटा सहेर पनि यहाँ टिकियो भने, अब बजारमा प्रचुर मात्रामा बिक्ने सम्भावना बोकेको ‘टिकिया’ किन नफुराउने, मसीको तातो तेलमा?
झण्डै ४ करोड जनसंख्या भएको मुलुकमा केवल सत्ताइस सय मानिस जाग्न चाहन्छन्? लाग्छ, यहाँका मानिसहरु ‘ओभरफेड’ छन्। यथेष्ट पौष्टिक आहारको अभावमा हुने कुपोषण त नेपालमा उन्मूलन भएन र भन्या? तर दु:खद कुरा के भने, ‘ओभरफेड’हरु पनि कुपोषणग्रस्त नै हुन्!
मने, खान नपाएर भएको वा बढी खाएर भएको जुनसुकै कुपोषण होस्, यसले व्यक्तिको बौद्धिकता र आध्यात्मिक आयाममा नराम्रोसँग ह्रास निम्त्याउँछ।
यहाँ कुरा अलिक क्लिष्ठ छ। पाठकहरुको कुनै दोष छैन। गल्ती चाहिँ लेखककै छ। खाली नयाँ-नयाँ र अनौठा विषयमा किन चलाउँछौ कलम? ओ लेखक, के तिमीलाई थाहा छ तिम्रा पाठकहरु कस्तो विषय खोजी-खोजी पढ्न चाहन्छन्? तिमी हमेशा किन थोपर्छौ, पाठकका सपाट टाउकाहरुमा बाङ्गाटिङ्गा, दुरुह र अमूर्त कुरा?
हुन त एक व्यवसायिक लेखकले पाठकले जे माग्यो, त्यो नलेख्न पनि सक्छ। पूर्णकालीन लेखकको आफ्नै ‘मिसन’ हुन्छ। ऊ आविष्कारमा डुबेको हुन्छ। बजारको मागलाई त्यस्तो गम्भीर लेखनका बेला उसले नजरअन्दाज गर्नुपर्ने हुन्छ।
तर, अपवादका अगाडि कसको के लाग्छ र?
यत्तिका वर्ष कलम घोटेर ‘सर्वहारा’ हुन पुगेपछि म पनि के कम? अब नाफा कमाउने उद्देश्यले अक्षर पेल्छु। अहिलेसम्म मैले नाफा कमाउने उद्देश्यले लेख्दै लेखिनँ। मेरो सपर्पण नितान्त राष्ट्रप्रेम हो। तर, सधैं यस्तो सम्भव कसरी?
‘कामशूत्र’ वा ‘सेक्स’ विषयक एउटा यस्तो नेपाली पुस्तक चाहिएको रहेछ मेरो देशमा, जसले मानिसलाई अचानक ‘इथृक अर्ग्याजम’ प्रदान गर्न सकोस्। अहिलेसम्म नेपालमा उत्कृष्ट ‘यौन साहित्य’ आउनै नसकेको भान मलाई भइरहेको छ। अरु भाषामा भने उत्कृष्ट यौन साहित्य पढ्न पाइन्छ। त्यो पुरानो जमानाको ‘नीलो चोली’ शैलीले अलिक भ्याउँदैन, आजकल। अहिले यहाँ ‘डिजिटल’ हुने गर्दछ, चोली। अनि निकै ‘हाइटेक’ हुने गर्दछ त्यसलाई खोलीकन ‘रन्दा’ लगाउने डिँगो!
तर ‘नीलो चोली’ उपन्यास जति यहाँ बिपी कोइरालाका पनि बिकेनन् होला, पुस्तक ! अत्यधिक बिक्रीको के कुरा? उक्त पुस्तकको बारेमा अनेक उमेर समूहमा कुना-कुनामा चर्चा हुनुले त्यतिबेला त्यो अहिलेको भाषामा भन्नुपर्दा ‘भाइरल’!
धेरै त भन्दिनँ, तर मलाई निकट भविस्यमा आफ्नो नेपाली भाषाको पुस्तक एक ‘मिलियन कपी’ बिक्री भएको हेर्ने रहर छ।
खासमा,
कामशूत्र वा सेक्सका विषयमा गफ त बढी नै भए होलान्, साथी-भाइसँग। तर कलम? सायद मैले यस एकसाथ दिव्य र तुच्छ मानिएको ‘यौन’का विषयमा निकै कम लेखेको छु, अरु विषयको तुलनामा।
आखिर जुन प्रक्रियाबाट प्राणीको जन्म हुन्छ, त्यो प्रक्रियाका सारा ‘अवयव’ मानवले केलाउन सक्नु नै पुरुषार्थ हो। जन्म जानेपछि स्वत: मृत्युलाई जानिन्छ। कुरा त्यसो पो त। मतलब, जन्मलाई पूर्णरूपमा जानिसकेपछि आफसेआफ मृत्यु विषयक प्रज्ञा हामीभित्र उम्लिने हुँदा, जिन्दगी जिउनुको तीन सय साठी डिग्री फेरो त्यहाँ पूरा हुन्छ। नत्र त जिन्दगी छताछुल्ल!
‘कामकला’ वा ‘रतिक्रीडा’ कसरी अपभ्रंशित छ भने ‘कामकला’बाट यो ‘यौनसम्पर्क’मा घट्यो। ‘यौनसम्पर्क’बाट यो ‘सेक्स’मा झर्यो। हाल बजारमा यसलाई ‘बलात्कार’ भन्न थालिएको छ। समयको बहावसँगै भाषा वा कृत्य पनि बदलिने गर्दछ।