मुस्ताङवासीको ‘भाग्य’ गाँसिएको ‘सेनतेन थ्याग्पालिङ’ (भिडियाे- रिपाेर्ट)

आफैमा प्राकृतिक सुन्दरताका अनेक परिभाषाले भरिएको छ मुस्ताङ। सुन्दर बान्कीमा फैलिएका भूगोल अनि सांस्कृतिक समाज। मुस्ताङका यी सुन्दर आयामहरूलाई शब्दमा उतार्न जति कठीन छ, त्यसको आकर्षणले भने हरेकलाई उत्तिकै सजिलै तान्नसक्छ।

हिमालको यो सुन्दर काखमा भर्खरै एउटा गुम्बा उघ्रिएको छ। बोन धर्म मान्नेहरूले भरिएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा निर्मित भव्य बोन गुम्बा हालैमात्र उद्घाटन भएको छ।

यो गुम्बा उद्घाटन गर्न भारतबाट आएका बोध धर्मका मुख्य लामा ३४औँ मेन्री ठिन्जिन रिम्फोछेका पाइलाहरूलाई मुस्ताङवासीले यसलाई अझ सुखद र अझ सुन्दर भविष्यको संयोग मानेका छन्। ‘सेनतेन थ्याग्पालिङ’ नाम दिइएको गुम्बाले यो क्षेत्रमात्रै होइन, विश्वभरि नै छरिएका बोन धर्मावलम्बीहरूको ‘भाग्य’ उघार्ने विश्वास लिइएको छ। यो जोमसोम र कागबेनीको बीच पर्ने सुन्दर भूगोलमा अवस्थित छ।

मुस्ताङमा मात्रै होइन, नेपालभरि नै धेरै गुम्बाहरू छन्। तर यहाँ बनेको यो गुम्बालाई बोन धर्मावलम्बीहरूको एउटा विश्वविद्यालयका रुपमा हेरिएको छ। त्यसकै एउटा आरम्भिक जगका रुपमा खडा भएको गुम्बाका लागि विश्वभरिका बोन धर्मावलम्बीहरूले आफ्नो पसिना मिसाएका छन्।

मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्र यहाँको धर्म संस्कृति संरक्षण अनि बोन धर्म शिक्षाको प्रवर्द्धनका लागि समर्पित एउटा धार्मिक अंग हो। अनि यो केन्द्रका अध्यक्ष हुन् घेसे सोनाम। जसले यो क्षेत्रका बोन धर्म समुदायका लागि एउटा भव्य गुम्बाको परिकल्पना गरे। उनै यो धर्मका प्रमुख लामा मेन्रीसँग छलफल गरे अनि संसारभरि छरिएका बोन धर्मावलम्बीहरूलाई यो गुम्बा निर्माणका लागि एउटै थलोमा ल्याए।

बोन धर्मका प्रमुख लामा ३४औँ मेन्री ठिन्जिन रिम्पोछे र पोनल्प रिम्पोछेले एकसाता अघि अर्थात् सेप्टेम्बर १८ मा संयुक्त रुपमा गुम्बाको उद्घाटन गरे।

गुम्बा उद्घाटनका लागि बोन धर्मका प्रमुख लामा मेन्री ठिन्जिन रिम्पोछे मुस्ताङ पुगेका थिए। त्यसैगरी बोन धर्मको शिक्षा विभाग प्रमुखका रुपमा रहेका पोन्लप रिम्पोछे पनि मुस्ताङ पुगेका थिए।यो गुम्बा निर्माणका लागि मुस्ताङ बोन फाउन्डेसन अमेरिकाको मुख्य सहयोग गरेको छ। गुम्बा निर्माण भएर सञ्चालनमा आए पनि गुम्बा क्षेत्रमा अस्पताल, सभा हल र स्कुल भवन निर्माणको काम पनि चलिरहेको छ।

यो गुम्बालाई बोन अध्ययन केन्द्रका रुपमा विकसित गरिने मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका अध्यक्ष घेसे सोनाम गुरुङले जानकारी दिए। उनका अनुसार भविष्यमा घेसे डिग्री गर्न नेपालदेखि भारतलगायत अन्य क्षेत्रमा जान नपरोस् भनेर यो गुम्बा निमार्ण गरिएको हो।

मुस्ताङमा लामाहरू धेरै छन्। तर अहिलेसम्म व्यवस्थित बोन गुम्बा नभएको भन्दै घेसे सोनामले ३३औँ मेन्री ठिन्जिन रिम्पोछेसँग गुम्बा निर्माणका लागि आफैले पहल गरेका थिए।

गुम्बा निमार्णका लागि मुस्ताङ बोन फाउन्डेसन अमेरिकाले १६ करोड सहयोग गरेको थियो भने ५ करोड रुपैयाँ मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले सहयोग गरेको थियो। गुम्बा निर्माणका लागि करिब १८ करोड लागत लागेको घेसे सोनामले बताए।

मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले अहोरात्र खटेर यो गुम्बा निमार्ण गरेको हो। तीव्र गतिमा गुम्बा निमार्ण हुनु, बोन धर्मका प्रमुख लामा नै आएर उद्घाटन गर्नुले मनाङवासीले आफूहरूको ‘भाग्य’को ढोका उघ्रिएको प्रतिक्रिया दिएका छन्।

गुम्बा उद्घटन कार्यक्रममा बोल्दै बोनका प्रमुख लामाले खुलेको गुम्बालाई सबैले मिलेर संरक्षण गर्न र सबैजना मिलीजुली बस्नु भन्दै दिएको सन्देशले मुस्ताङवासी झनै उत्साहित भएका छन्।

गुम्बा उद्घाटनका लागि दुई दिनसम्म भव्य समारोह आयोजना गरिएको थियो। कार्यक्रममा बोन धर्मका प्रमुख लामा, पोन्लप रिम्पोछे तथा मेन्री गुम्बाबाट लामाहरूको सहभागिता रहेको थियो। मुस्ताङका अन्य बोन गुम्बासँगै विभिन्न ठाँउका बोन गुम्बाबाट लामाहरू पनि सहभागी भएका थिए।

प्रकाशित मिति: : 2024-10-02 16:08:00

प्रतिकृया दिनुहोस्