हिन्दू नेपालीहरूको महान् चाड दसैँको उल्टो गणनाक्रम सुरु भइसकेकै बेला नेपाल विनाशकारी प्राकृतिक प्रकोपको कहरमा परेको छ । यो कहरले यसपालिको दशैलाई कम दसैँ र बढी दशा बनाइदिएको छ । बाढीपहिरोको दुःखद् घटनाले दसैँको उल्लासमाथि एक्कासि चिसो पानी खनिएको छ र देश नराम्ररी दुःखका नीला आँसुले भिजेको छ ।
हुन त नेपालको मौसम विभागले यो प्रकोपको पूर्व अनुमान गरेर चेतावनी दिएको थियो । यसअघिका धेरै अनुमानहरू सही नभएर विश्वास गुमाएको यो विभागको चेतावनीलाई कसैले पनि गम्भीरतापूर्वक लिएनन् । अरूको त के कुरा, सरकार प्रमुख केपी शर्मा ओलीले पनि पत्याएनन् । र, २२ सदस्यीय जम्बो टोली लिएर अमेरिकाको १० दिने लामो यात्रामा निस्के ।
राष्ट्रसंघ महासभाको मुख्य काम सकेर बोष्टनमा घुमफिरमा समय बिताइरहेकै बेला नेपालमा प्राकृतिक प्रकोपको कहरमा पर्यो । अमेरिकामै बसेर पनि उनले आपतकालिन मन्त्रिपरिषद्को ‘जुम’ बैठक राख्न सक्थे । तर, उनको ध्यान त्यतातिर गएन । उनी पूर्वनिर्धारित कार्यक्रममै अल्झिए । उनका तर्फबाट फेसबुकमा मन दुखेका र निर्देशन दिएका स्ट्याटस भने आइरहे । घटनाको गम्भीरता बुझेर उनी मात्रै अगाडि फर्कन पनि सक्थे तर त्यसतिर पनि उनको ध्यान खासै गएन ।
ओली अमेरिका भ्रमण सकेर सोमबार ५ बजे त्रिभुवन विमानस्थलमा ओर्लँदा पानी मात्र बिदा भएको थियो तर पीडाले मन चिसिएकाहरूको मनमा कुनै न्यानो भरिएको थिएन । यस्तो अवस्थामा पनि ओलीको स्वागतमा लावालस्कर फालिम लागेकै थियो । तोप, सलामी र गारथ सबै भएकै थिए । जीवन नभएका सही, स्वागतमा फूलका गुच्छाहरूमा चढाइएकै थिए । तर, फूलका गुच्छा समाउँदा कामिरहेका ओलीका हातहरू उत्साहित थिएनन्, लखतरान भएर गलेका देखिन्थे ।
उनले १० दिन अगाडि नापेर छोडेका काठमाडौंका सडकहरू पूरै घाइते थिए । उपत्यकाका खोलाहरूले सयौँको ज्यान मात्र लिएका थिएनन्, त्यतिकै ठूलो संख्यामा मानिसहरूलाई आफूसँगै बगाइ पनि सकेका थिए । ओली तिनै बहुलाइरहेका खोला हेर्दै काठमाडौंका घाइते सडक नापेर बालुवाटार पुगे ।
सम्भवतः बालुवाटार पनि त्यो कहरको चिसो साक्षी थियो र कुनै उत्साहपूर्वक स्वागत गरिरहेको थिएन । खासै समवेदना नभएका ओलीका लागि त्यसको खासै माने पनि थिएन । तर, ओलीलाई यसपटक समवेदना नभएको भनेर छुट मिल्ने छैन । दसैँको मुखमा दशा लागेको देशका प्रधानमन्त्रीका रूपमा उनले पीडितहरूको चहराइरहेको घाउमा मलहम लगाउनुको विकल्पै छैन ।
यसका लागि सबैभन्दा पहिले त ओलीले सबैलाई समेटेर अगाडि बढ्ने इमानदार प्रयत्न गर्नुपर्छ । अनि, ओलीबाट पटक पटक धोका पाएकाहरूले पनि ओलीको हैन, पीडितको मुख हेरेर एक ठाउँमा उभिनुपर्छ । राहत–उद्धार कार्यलाई तदारुकताका साथ अगाडि बढाएर देशवासीलाई दुःख परेको बेला देशमा सरकार र राजनीतिक दलहरू काँध थाप्छन् भन्ने अनुभूति गराउनुपर्छ । त्यसका लागि फेरि पनि ओलीले दार्शनिक सुकरातले भनेजस्तै ‘सत्य छेउमा नभएर बीचमा हुन्छ’ भन्ने बुझ्नुपर्छ ।
ओलीको अमेरिका भ्रमण
ओलीले राष्ट्रसंघको महासभालाई योसहित चार पटक सम्बोधन गरिसके । तीनपटक न्युयोर्क आएर नै गरे, एकपटक कोभिडका कारण काठमाडौँबाटै भर्चुअल गरे । उनले गरेको पहिलोपटकको सम्बोधन र त्यसपछि गरेका हरेक सम्बोधनको कपी हेर्ने हो भने विषय उही छन्, पाराफ्रेजिङ मात्र फरक हो । यसपटक उनले शान्ति प्रक्रियाका सन्दर्भमा प्रगति विवरण सुनाउन पाए, ‘मेरो सरकार बनेलगतै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित ग¥यो।‘
यसका अतिरिक्त उनले कोलोम्बो विश्वविद्यालय र हार्भर्ड विश्वविद्यालयका दुई कार्यक्रमलाई सम्बोधन गरेर समाचार शीर्षक बनाए । प्रश्न समाचार शीर्षक बन्ने वा बनाउने भन्दा पनि त्यसमा के बोल्ने र त्यसको कति माने हुने भन्ने हो । अझ, त्योभन्दा पनि बढी बोल्ने मान्छेको व्यक्तिगत छवि र विश्वसनीयताको पनि हो ।
घाम जत्तिकै सत्य हो कि, ओलीको अन्तर्राष्ट्रिय छवि त्यति राम्रो छैन । उनको विश्वसनीयताको पारो धेरै तल घटेको छ । उनी पटक–पटक सत्तामा पुगेर पनि केही नगर्ने एक गफाडी नेताका रूपमा बदनाम छन् । अझ अमेरिकाका लागि त उनी अमेरिकासँगै अप्रत्यक्ष रूपमा जोडिएको भुटानी शरणार्थी प्रकरणको सूत्रधार गर्ने सरकारका प्रमुख हुन् । उनीमाथि भुटानी शरणार्थी प्रकरणमा जोडिएकी आरजु देउवालाई जोगाउने ढाल बनेको संगीन आरोप पनि छ । सुशासनको सबैभन्दा ठूलो पैरवी गर्ने अमेरिकाका लागि ओली–आरजु दुबै चोखा हैनन्, खोटा हुन् ।
यस अर्थमा ओलीले जहाँ जे बोले पनि त्यसको खासै ठूलो अर्थ छैन । तर, एउटा कुरा के चाहिँ सत्य हो भने नेपालका लागि राष्ट्र संघको महासभा आफ्नो कुरा राख्ने एक ठूलो प्लेटफर्म हो । यसमा राखिएका धारणाहरू नेपालका औपचारिक धारणा हुन् र तीमार्फत् समसामयिक जल्दावल्दा विषयमा नेपालको स्थिति र अडान के हो भन्ने अभिलेख हुन्छ । केही प्रगति भएको बेला नेपालको प्रगति प्रतिवेदन राख्ने सुनौलो मौका पनि हो । ओली र नेपालका सरकार प्रमुखले त्यसको उपयोगिता के कसरी गरेका छन्, त्यो मूल्यांकनको अर्कै पाटो हो ।
ओलीको यसपटकको अमेरिका भ्रमणले मिश्रित परिणाम दियो। राष्ट्रसंघ महासभाको सहभागिता र कार्यक्रम कर्मकाण्डी नै भए पनि कोलोम्बिया र हार्भर्ड विश्वविद्यालयको सम्बोधनलाई उपलब्धि नै मान्नुपर्छ । त्यसबाट के उपलब्धि हुन्छ ?, यो प्रश्नको उत्तर भने समय देला नै । यो उपलव्धीको पाटो भयो, गुमाएको पाटो चाहिँ अझै पनि ओली अमेरिकामा रहेका सबै नेपालीको प्रधानमन्त्री हुन सकेनन् ।
संघीयता र समावेशिता विरोधी परिचय बनाएका ओली न्युयोर्कमा रहेका नेपाली जनजाति संघ–संस्था र नेताहरूको यसपटक पनि विरोधको तारो बने । यही बिचमा नेपालमा उनकै स्वाङे–भाइ रविलाई पक्राउ गर्ने ट्रायल बलुन चल्यो । त्यसबाट भड्केका रविभक्तहरूले कालोझण्डा देखाउने र जुत्ताले हान्ने भने । त्यसपछि ओली–आरजुको स्वागत कार्यक्रम नै बिथोलियो ।
निश्चित पनि अमेरिकाका नेपालीहरूले नेपालका प्रधानमन्त्रीलाई जुन उद्देश्य र सन्दर्भमा कालो झन्डा देखाइने सनातन चलाएका छन्, त्यो ठीक छैन । तर, यो सनातनका पछाडि नेपालका प्रधानमन्त्रीहरू पनि उत्तिकै जिम्मेवार छन् । सरकारी पैसामा नेपालको प्रधानमन्त्री भएर अमेरिका आउने, आइसकेपछि पार्टीका भातृ–भगिनी संस्थाको ब्यानरमा पार्टीको नेताका रूपमा मात्र प्रस्तुत हुने– यो गलत हो ।
यही गलत सनातन दोहोरिँदा यस्तो समस्या देखापर्छ । यसलाई सदाको लागि अन्त गर्न अमेरिकाको सरकारी भ्रमणमा आएकाले अमुक पार्टीको मात्र नेता हुन छोड्नुपर्छ । स्वागत कार्यक्रम नेपाली नियोगहरूको ब्यानरमा मात्र गर्नुपर्छ ।
ओलीका लागि दसैँ कम, दशा बढी
नेपालमा दसैँ सुरु भइसक्यो तर ओलीका लागि भने अनेक दशाहरू फालिम लागेका छन् । न्युयोर्कमा मरिहत्ते गरेर मोदी दर्शन पाए पनि उनले मोदीलाई खुसी पार्न सकेनन् । यसले कति बेला सिंहदरबार गुम्ने हो ? भन्ने चिन्ता अरू बढाएको छ । यस अतिरिक्त प्राकृतिक प्रकोपको कहरले आक्रोशित जनताका चराइरहेका घाउमा मलहम लगाएर शान्त बनाउनु छ ।
नेपाली लोकरिझ्याइवादका पछिल्ला मोहोरा बालेनसँग आम्नेसाम्ने जारी नै छ । यही बीचमा अर्का मोहोरा रवि लामिछाने ‘नखाउँ भने दिनभरिको सिकार खाऊँ भने कान्छो बाबुको अनुहार’ जस्ता भएका छन् । उही मुद्दामा उस्तै अवस्था भएका छवि पक्राउ परिसके तर रवि पक्राउ गरे प्रतिकार गर्ने चुनौती दिइरहेका छन् । रविको क्रेजसँग डराएर ओलीले बीचैमा ट्रायल बलुन फुटाए जस्तो छ । तर, जे भए पनि रविको विषय गलगाँढ नै हो । यसले ओलीलाई अर्को चुनौती थपिदिएको छ ।
ओलीलाई आफ्नै मान्छे सुनिता बरालले समस्या थपिदिएकी छन् । ओलीकै कृपाले पटक पटक लाभान्वित हुँदै संसदीय दलकी सचेतक भएकी उनको रंगिन सम्बन्ध बाहिरिएको छ । महेश, गुलाब, ऐनको यौन विचलन बिस्तारै छायामा परिरहेको बेला बरालको यो विचलन ओलीका लागि अर्को दुःख भएको छ । तर, यो विषयको लहरो तान्दा एमालेको पहरो गर्जने भएकाले पनि सामसुम पारिने आकलन गरिएको छ । ओलीका सामु चुनौतीका पहाडहरू ठडिएका छन्, हेरौँ कसरी छिचोलेर अवसरका मैदान बनाउने हुन् । त्यसका लागि समयकै ऐना हेर्नुपर्ने हुन्छ ।