संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा कोदोको चर्चा बढ्दो छ। रैथाने बाली प्रवर्द्धन गर्नका लागि कोदोबालीको उत्पादन तथा बजारीकरणलाई जोड दिनु कोदो वर्षको मूल उद्देश्य हो।
कोदो विशेष गरी पहाडी भू-भागमा पाइने खाद्य बाली हो। अङ्ग्रेजीमा फिङ्गर मिलेट भनेर चिनिने कोदोको वैज्ञानिक नाम भने इलुसिन हो। अफ्रिकी मुलबाट कोदोको उत्पत्ति भएको मानिन्छ। नेपालको पहाडी भेगमा कोदोलाई चोखो बाली वा घुसुवा बालीका रूपमा खेती गरिन्छ। मुख्यतः कोदोलाई मकैसँग घुसुवा बालीका रूपमा खेती गर्ने चलन छ।
कोदो पौष्टिकताका हिसाबले अति नै महत्वपूर्ण अन्नबाली हो। कोदो क्याल्सियमका साथसाथै फाइबर, म्याग्नेसियम, भिटामिन ई, भिटामिन बि, ट्यानिन, फलाम आदिको राम्रो स्रोत हो। चामलभन्दा २५-३५ गुणा बढी क्याल्सियम पाइने कोदो खाद्यान्न बालीमध्ये क्याल्सियमको मुख्य स्रोत नै हो।
पौष्टिक हिसाबले धनी मात्र होइन, रोग प्रतिरोधक क्षमता पनि कोदोमा उत्तिकै छ। कोलेस्ट्रोल, मधुमेह, हाडजोर्नी र रगतसम्बन्धी विकार तथा मुटुरोगीका लागि कोदो सेवन स्वास्थ्यवर्द्धक रहेको वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको छ।
नेवार, गुरुङ, तामाङलगायतका जातजातिका लागि कोदोको धार्मिक महत्व पनि उत्तिकै छ। चाडबाड तथा विवाह, व्रतबन्धजस्ता शुभकार्यमा कोदोको जाँडलाई सगुनका रूपमा लिने गरिन्छ।
नेपालले सबैभन्दा बढी आयात गर्ने खाद्यान्न चामल हो। वार्षिक करिब पचास अर्ब बराबरको चामल नेपाल भित्रिने गर्छ। देशको कमजोर अर्थतन्त्र र अहिले चलिरहेको आर्थिक मन्दीको अवस्थामा भारी मात्रामा चामल आयात हुनु देशको अर्थतन्त्रका लागि रातो बत्ती हो। बिहान-बेलुका खानामा भात नै रूचाउने हाम्रो बानीले नयाँनयाँ रोगसमेत निम्त्याउने गरेको छ। त्यसैले भाते प्रवृत्तिको अन्त्य गरी चामलको विकल्प खोज्नु आजको आवश्यकता हो।
कम लागतमा उत्पादन लिन सकिने, सुख्खापन सहन सक्ने, रोग किराको प्रकोप न्यून रहेको, लामो समयसम्म भण्डारण गर्न सकिने तथा खाद्य सुरक्षा र पौष्टिकताका हिसाबले पनि कोदोबाहेकको अर्को विकल्प छैन। त्यसैले कोदोको उत्पादन, प्रवर्द्धन र बजारीकरणमा जोड दिन सरकारी तथा गैरसरकारी निकायले विशेष भूमिका खेल्नै पर्छ।
सर्वप्रथम त 'दालभात पावर, ट्वान्टी फोर आवर' बाट अब 'कोदो सेवन, स्वस्थ जीवन' तर्फ हाम्रो मानसिकता बदल्नु आवश्यक छ। कोदोलाई कु-अन्न वा गरीबको खानाका रूपमा होइन, अबको स्मार्ट खानाका रूपमा लिनुपर्छ। हरेकका भान्सामा कम्तिमा दिनको एकचोटी कोदोका परिकारलाई स्थान दिन सकेमा रोग र भोक दुबैको समाधान हुन्छ।
कोदो खेतीका लागि उपयुक्त हावापानी भएकाले व्यवसायिक कोदो खेती गरी चामल आयातमा रोक लगाउनका साथै मनग्य आम्दानी लिन सकिन्छ। त्यसका लागि किसानलाई कोदो बालीका फाइदाहरुका बारेमा जानकारी गराइ कोदो खेतीतर्फ आकर्षित गर्नु आवश्यक छ। किसानलाई उन्नत बिउबिजन उपलब्ध गराउने, तालिम र सिपमूलक कार्यक्रम आयोजना गर्ने तथा उत्कृष्ट किसानका लागि पुरस्कारको व्यवस्था गरी किसानलाई प्रोत्साहन गर्ने गरेमा कोदोको उत्पादन वृद्धि गर्न सकिन्छ।
ढिँडो, ममः, केक, प्यानकेक, सेलरोटी, पुवाजस्ता कोदोजन्य परिकारलाई होटल, रेष्टुरेन्ट तथा होमस्टेहरूमा विशेष स्थान दिनुपर्छ। कोदोका परिकारलाई विज्ञापन गरी व्यापारीकरण गर्नुपर्छ। रेडियो तथा टेलिभिजनमा प्रसारण हुने कृषि कार्यक्रमहरूमा कोदोबालीलाई विशेष जोड दिनुपर्छ।
यसरी हरेक स्तरबाट कोदो बालीको प्रवर्द्धन गर्न सकेमा खाद्यान्नका लागि हाम्रो देश परनिर्भर हुनु पर्दैन। विभिन्न किसिमका दिर्घकालीन रोगहरू आफैँ कम हुँदै जानेछन्। देशको अर्थतन्त्र विस्तारै सुदृढ हुँदै जानेछ, अनि खाद्यसुरक्षा र पौष्टिक सुरक्षाको सुनिश्चितता हुनेछ। यसरी 'समृद्ध नेपाल, सुखी नेपाली' भन्ने हाम्रो अभियान अब नारा मात्र होइन, वास्तविकता हुनेछ।