नारी हौँ नरदास हैन बुझनू, सम्मान आफ्नो गरी
बाटाको रज हैन कान्ति शिरका, ती ताज झैँ झल्मली
एकैनास हुँदैन कालगति यो,
फेरिन्छ सँगै युग
सङ्लो दर्पणका पवित्र छविमा, ल्याई नयाँ चिन्तन
फुस्रा ओठ अबोध रूप महिला, बेनाम थे जीवन
भान्सा नै दुनियाँ, कुवा र घर नै, थ्यो पाठशाला जब
यी यस्तो स्थिति जो अतीत पलमा, दासत्व नारी बुझ
सङ्लो दर्पणका पवित्र छविमा, ल्याई नयाँ चिन्तन।
शिक्षा ज्योति बले हजार मनमा, नारी बने शिक्षित
आफ्नो निर्णयले चढे शिखरमा, छोएर अग्लो नभ
हैनन् दुर्बल शक्तिहीन अबला,
हुन् साहसी दीक्षित
सङ्लो दर्पणका पवित्र छविमा, ल्याई नयाँ चिन्तन।
हुन्छन् कोमल पुष्प झैँ हृदयका, निःस्वार्थका मालिक
नारी हुन् सृजना जगत रचयिता, हुन् शृष्टिका पालक
गंगा झैँ छ विशुद्ध जीवन सदा
अस्तित्व चोखो तन
सङ्लो दर्पणका पवित्र छविमा, ल्याई नयाँ चिन्तन।।
पावन्दी मनका फुके समयका, जन्जाल डोरीहरू
फाटे बादल मैल, दाग धमिला, छिर्दा प्रभातीहरू
नाच्दैछन् रविका नयाँ किरणमा, छम्छम् गरी पायल
सङ्लो दर्पणका पवित्र छविमा, ल्याई नयाँ चिन्तन।