फलोअप

अस्तित्व नै संकटमा पर्ने गरी सुके रुख : वन कार्यालयद्वारा अनुगमन, पत्ता लागेन कारण

File Photo
File Photo

दाङको शान्तिनगर गाउँपालिकाको वडा नं. १, ३ लगायतका ठाउँमा अस्तित्व नै संकटमा पर्ने गरी मैयूँका रुख सुकेका छन्। विगत ३ वर्षयता पैयूँका रुख सकेपछि स्थानीय अचम्मित त परका छन् नै चिन्तित पनि छन्।

वडा नं. १ को बाँजविसौना, हारिचार, कल्लेखारा त्यस्तै ३ को सल्लाघारी असपासको क्षेत्रमा रुख सुकेका छन्। साथै दुधिलाका रुख पनि सुकेर सकिएको स्थानीयले बताएका छन्। तर किन सुक्यो भन्नेबारेमा स्थानीय अनविज्ञ छन्।

रुख सुकेको विषयमा विएल नेपाली सेवाले प्राथामिकताका साथ समाचार प्रकाशित पनि गरेको थियो। त्यसपछि डिभिजन वन कार्यालय दाङले अनुगमन गरेको छ।

डिभिजन वन कार्यालयबाट विज्ञ टोली बाजविसौनामा गएर अनुगमन गरेको वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए।

विज्ञ टोलीसहित वन कार्यालयको टोली गएर रुख सुकेको बारेमा स्थलगत अनुगमनसहित नमुनाहरु लिएर आएको बताए। उनले पैयूँको अस्तित्व नै संकटमा पर्ने गरी सकुको पाइएको जानकारी दिए।

‘हामीले अनुगमनसँगै गाउँमै पुगेर सुकेका रुखको नमुनाहरु लिएका छौँ,’ उनले भने, ‘थप अनुसन्धान हुँदै छ। रुख किन सुक्यो हामी पनि अचम्ममा छौँ।’

‘संटकमा पर्ने गरी रुख सुक्नु कोरोना रोग जस्तै नयाँ हो’

डिभिजन वनका सूचना अधिकारी केसीले पैयूँको रुख सुक्नु निकै नयाँ भएको भन्दै त्यसलाई कोरोना भाइरस जस्तै विश्वमै नयाँ भएको बताए।

उनले विश्वमै नदेखिएको पनि जनाए। ‘एक दुई वटा रुख त सुक्नु स्वभाविकै है, तर सबै सुकेको देखिन्छ, यो कोरोना भाइरस जस्तै विश्वमै नयाँ हो।’ उनले भने।

केसीले कुनै प्रयोजनका लागि लगाइएका रुखहरु सुक्न सक्ने भन्दै प्राकृतिक रुपमै रहेका रुख सुक्नु खतराको विषय भएको पनि बताए।

‘यदि रोपिएको रुखहरु भए त, सुक्नु स्वभाविकै हो। हावा पानी नमिल्ने ठाउँमा पनि रुखहरु लगाइएको हुन्छ, त्यस्ता रुख सुक्छन्,’ उनले भने, ‘तर ती रुखहरु लगाइएका होइन। भएकालाई संरक्षण गरिएको हो। सबै सुक्नु खतराको विषय पनि हो।’

रुख सुक्नुको कारण पत्ता लागेन

डिभिजन वन कार्यालयले पैयूँको रुख सुकेको अनुगमण गरे पनि कारण भने पत्ता लगाउन सकेन। विज्ञ टोलीसहितले अनुगमण गरे पनि यहि कारणले हो भन्ने पत्ता लगाउन नसकेको र अनुसन्धान गरिरहेको सूचना अधिकारी केसीले बताए।

कुन रोग लागेर सुकेको भन्ने वैज्ञानिक कारण पत्ता लगाउन नेपालमा असम्भव रहेको पनि उनले जानकारी दिए। कुनै ब्याक्टेरियाहरुको संक्रमण जस्तो पनि नेदिएको उनको भनाई छ।

अनुमानमा भन्ने हो भने मानवीय कारणले रुख सुकेको हुन सक्ने केसीले बताए। ‘यहि कारणले रुख सुकेको भन्ने थप अध्ययन हुँदैछ,’ उनले भने, ‘यहि नै हो भन्ने बैज्ञानिक कारण भन्न नसके पनि मानवीय कारणले सुकेको हुन सक्ने हाम्रो अनुमान छ।’

उनले विशेष गरेर पानीको स्रोतको कमीले रुख सुकेको हुन सक्ने अनुमान गरेको बताए। ‘यी रुखहरु त प्राकृतिक रुपमै रहेका रुख हुन्। तर अहिले मानिसको क्रियाकला जस्तै, सडक विस्ता, ढल निकास आदि कार्य गर्दा पानीको बग्ने बाटो परिवर्तन भए त्यसपछि रुखले पहिले पाएको पानी पाएनन्, अनि पानी सोस्न नपाएर सुकेको हुन सक्छ,’ केसीले भने।

उनले अगाडी भने, ‘पानीको पहिले एउटा बग्ने बाटो थियो। त्यसै अनुकुलका विरुवाहरु थिए। अहिले जथाभावी सडक विस्तार भएका छन्, ढल निकासका नाममा पानीको बग्ने बाटो परिवर्तन भएका छन्। त्यस्तै पानीका स्रोतहरु पनि सुकेका छन्। यस्तै कारणहरुले पनि सुक्न सक्छ।’

प्रकाशित मिति: : 2021-12-16 08:25:00

प्रतिकृया दिनुहोस्