बसन्तपुर शिवपार्वती डबलीमा परम्परागत चर्या नृत्य (फोटो फिचर)

Break n Links
Break n Links

बसन्तपुर शिवपार्वती डवलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्यहरूको प्रदर्शनी गरिएको छ। काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले विश्व सम्पदा दिवसको अवसर पारेर ध्यान, अनुष्ठान र उत्सवका अवसरमा प्रदर्शन गरिने नृत्य प्रस्तुत गरेको हो।

यस्ता नृत्यहरू बज्राचार्यहरूले गुप्त रुपमा गर्ने गरेका छन्। महानगरपालिकको सांस्कृतिक महानगर स्वर्णिम योजनाका फोकल पर्सन धर्म मुनिकारका अनुसार अमूर्त सम्पदाको प्रवर्द्धन र पुस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको हो।

तस्बिरहरू-

देवीदेवताको भावमा देव कलाकारहरूले प्रस्तुत गरेको नृत्यमा स्वयम्भूराज शाक्य र सुमन कपालीले गायन प्रस्तुत गरेका थिए।

उनीहरूको गायनमा षोडष लास्य, अन्नपूर्ण देवी, महामञ्जुश्री, आर्यतारा देवी, बज्रयोगिनी देवी, रक्त गणेश, अबलोकितेश्वर, वज्रपाणी बोधिसत्व र पञ्चबुद्ध स्तोत्र नृत्य प्रदर्शन गरिएको थियो।

षोडष लास्य नृत्य पञ्च बीजाक्षर (मन्त्रको पहिलो अक्षर)बाट उत्पत्ति भएका १६ देवीहरूको भाव नृत्यको हो। देवीहरू मण्डलाकारमा बसेर बाद्यबादनको धुनसँगै मुख्य देवताको पञ्चोपचार पूजा यस नृत्यको कथा हो।

नृत्यमा समेटिएको अन्नपूर्ण देवीको मन्दिर काठमाडौंको असनमा छ। आठ वटा हातमा शक्ति लिएकी तीनवटा नेत्रले दृष्टि प्रदान गर्ने देवीको महिमा समृद्धि प्रदान गर्ने शक्तिका रुपमा प्रख्यात छ।

उनले आफूसँग भएको शक्तिलाई प्राणीहरूको अहित गर्नेहरूको नाश गर्न प्रयोग गर्छिन् भन्ने विश्वाश गरिन्छ। अन्नले भरिएको कलश अन्नपूर्णको बिम्ब हो।

उपत्यकामा भएको पानीको ठूलो दहलाई चन्द्रहास आकारको खड्गले काटेर उपत्यकालाई बस्ती योग्य बनाउने महामञ्जुश्रीलाई नेपाल मण्डलको स्थापनासँग जोडेर हेर्ने गरिन्छ। पहेंलो वर्ण भएका, चारवटा हातमध्ये दायाँ हातमा चन्द्रहास खड्ग र धनुष, वायाँ हातमा प्रज्ञा पुस्तक र वाण लिएका महामञ्जुश्रीलाई बुद्ध ज्ञान प्रदान गर्ने शक्तिका रुपमा हेर्ने गरिन्छ।

आर्यतारा देवीले आँखाबाट जगतलाई डरमुक्त गराउने, शान्त, स्वच्छ र निर्मल भएर प्राणीहरूलाई अकाल मृत्यबाट बचाउने नारी शक्तिका रुपमा पूजा गरिन्छ। हरियो वर्णकी देवी ललित आसनमा हुन्छिन्। देवीले श्रद्धालुहरूलाई बुद्ध ज्ञानबाट पारङ्गत गराउँछिन भन्ने विश्वास पाइन्छ।

दुःख पाएकाहरूलाई करुणा राख्ने, दया गर्ने देवी वज्रयोगिनी नृत्य आकर्षक थियो।प्रत्यालिंधा आसनमा बसेर ताण्डव नृत्य गर्ने देवीले राग, द्वेष र मोह त्यागेर मोक्षको बाटो देखाउने विश्वाश गरिन्छ।

रक्त गणेशलाई जगतको पालनाकर्ता र रक्षकका रुपमा अर्चना गरिन्छ। दशवटा पाखुरामा उहाँको शक्ति हुन्छ। रक्त गणेशलाई सुखदाताका रुपमा पनि पूजा गरिन्छ। 

अबलोकितेश्वर चर्या, जगत पालनासँग सम्बन्धित देवनृत्य हो। दायाँ हातमा अभय वरदान, वायाँ हातमा निर्मल, निलो रङ्गको कमलको फूल लिएका अवलोकितेश्वर प्राणी रक्षार्थ ३ लोकमा विराजमान भएको विश्वास गरिन्छ।

बुद्ध शासनको रक्षाका लागि प्रकट भएका बज्रपाणी बोधिसत्व चर्या नृत्य प्रस्तुतिले उपत्यकाबासीको धार्मिक आस्थालाई विम्बका रुपमा प्रकट गरेको थियो। दायाँ हातमा बज्र र वायाँ हातमा घण्ट लिएका बोधिसत्वको रङ्ग निलो हो।

वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अभिताव र अमोघसिद्धि पञ्चबुद्ध हुन्। प्रत्येक बुद्धका अन्तरनिहित विशेषता छन्। हरेका आफ्नै रङ्ग, मुद्रा, दिशा र अन्तरदृष्टि छन्। बौद्ध धर्माबलम्बीहरूका लागि पञ्चबुद्धको स्थान उच्च छ। बिध्नबाधा नाश गरेर बुद्ध ज्ञानबाट निर्वाणको बाटो देखाउने बज्रयानी र महायानी परम्परा छ।

प्रकाशित मिति: : 2025-04-19 17:29:00

प्रतिकृया दिनुहोस्