बुधबार, ११ नोभेम्बर २०२६

अमेरिकामा ममता हत्या प्रकरण: श्रीमान नरेश भट्ट नै दोषी सावित भए

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

एकजना नेपाली महिलाको हत्या प्रकरणमा अमेरिकालगायत विश्वभरि चर्चित मुद्दामा ती महिलाका श्रीमान अन्तत: दोषी ठहर भएका छन्। अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई अदालतले दोषी ठहर गरेको हो।

त्यहाँको अदालतले गठन गरेको जुरीले नरेशलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको हो। साथै, मृतकको शव लुकाएको र शवको अपमान गरेको अभियोगमा समेत उनि दोषी ठहर भएका छन्।

सन् २०२४ जुलाई २७ देखि सम्पर्कविहीन भएकी ममता काफ्लेको खोजीका क्रममा प्रहरीले उनका पति नरेशमाथि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा घरमा रगतका दाग, कपालका टुक्रा तथा अन्य प्रमाण फेला परेका थिए।

अदालतमा बयान दिने क्रममा नरेशले ममताको मृत्यु भएको र उनको शवलाई आराले टुक्रा पारेर विभिन्न फोहोरका झोलामा राखी फालेको स्वीकार गरेका थिए। तर उनले ममताको हत्या आफूले नगरेको र उनको मृत्यु आफैँले विष सेवन गरेका कारण भएको दाबी गरेका थिए।

अभियोजन पक्षले भने विभिन्न प्रमाण, निगरानी दृश्य, दूरभाष विवरण तथा वैज्ञानिक परीक्षणका आधारमा नरेशले नै ममताको हत्या गरेको जिकिर गरेको थियो।

यस घटनामा सबैभन्दा दुःखद पक्ष के छ भने ममताको शव हालसम्म पनि फेला परेको छैन।

नरेशलाई हत्याको अभियोगमा बीस वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। अन्य दुई अभियोगमा समेत थप सजाय हुन सक्ने व्यवस्था छ। उनको सजाय निर्धारण आगामी मार्च १२ मा हुने तय भएको छ। दोषी ठहर भएपछि अदालतले उनको धरौटीसमेत रद्द गरेको छ।

यस घटनाले नेपाल तथा विदेशमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ। लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका ममताका परिवारका लागि अदालतको यो निर्णय महत्वपूर्ण बनेको छ।

अमेरिकी मिडिया सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा जुरीले उनको दाबी अस्वीकार गरेको हो। ममता सन् २०२४ को जुलाईमा भर्जिनियाको मनासस पार्कस्थित घरबाट बेपत्ता भएकी थिइन्। उनको शव अहिलेसम्म फेला परेको छैन।

करिब छ सातासम्म चलेको सुनुवाइमा झन्डै १०० जनाले साक्षीका रूपमा बयान दिएका थिए। फैसलापछि भट्टले हत्याको अभियोगमा आजीवन कारावाससम्मको सजाय पाउन सक्नेछन्। उनको सजाय निर्धारणका लागि आगामी १२ मार्च २०२७ को मिति तोकिएको छ ।

सुनुवाइका क्रममा भट्टले ममताको शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार गरेका थिए। तर उनले ममताको हत्या आफूले नगरेको दाबी गरेका थिए।

एनबीसी वासिङ्टनका अनुसार भट्टले सन् २०२४ जुलाई ३० को बिहान शयनकक्षको भुइँमा ममता अचेत अवस्थामा भेटिएको र उनलाई ब्युँताउने प्रयास गरेको बताएका थिए। करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गर्दा पनि सफल नभएपछि आफू आत्तिएको र प्रहरीलाई खबर नगरेको उनको भनाइ थियो।

उनले ममताले आत्महत्या गरेको हुन सक्ने दाबी गर्दै आफूलाई दोषी ठहर गरिने डरले शव लुकाएको बताएका थिए। शव फोहोरको भाँडोमा नअटाएपछि आराले टुक्र्याएर विभिन्न झोलामा राखी फालेको उनले अदालतमा स्वीकार गरेका थिए।

तर सरकारी वकिलहरूले भट्टले नै ममताको हत्या गरेर शव टुक्र्याएको र उत्तरी भर्जिनियाका विभिन्न स्थानमा फालेको दाबी गरेका थिए । उनीहरूले भट्टको दाबीलाई पत्याउन नसकिने भन्दै हत्या योजनाबद्ध रूपमा गरिएको तर्क गरेका थिए ।

सुनुवाइका क्रममा सरकारी वकिल सारा सामीले जुरीसमक्ष भनेकी थिइन्, ‘प्रतिवादीले ममता काफ्लेको हत्या गरे । उनले ममता काफ्लेको शव टुक्र्याए र फोहोरजस्तै गरी फालिदिए ।’

सरकारी वकिलहरूले भट्टको बयानलाई ‘बनाइएको पागलपनपूर्ण कथा’ भन्दै विश्वास नगर्न पनि जुरीलाई आग्रह गरेका थिए ।

सरकारी पक्षले भट्टविरुद्धको प्रमाणका रूपमा आरासहित विभिन्न सामग्रीमा भेटिएका रगतजस्ता दाग, कपाल, घरको कार्पेटमा भेटिएको डीएनए, निगरानी क्यामेराका दृश्य र मोबाइल फोनका विवरण प्रस्तुत गरेको थियो ।

भट्टले सन् २०२४ जुनमा होम डिपोबाट एउटा विद्युतीय आरा किनेको देखिने निगरानी क्यामेराको दृश्य अदालतमा पेस गरिएको थियो । उक्त आरामा रातो-खैरो रङका दाग र कपालजस्ता रेसा भेटिएको अनुसन्धानकर्ताहरूले बताएका थिए ।

सीएनएनका अनुसार आराको भित्री भागबाट लिइएका नमुनासहित केही नमुनाको डीएनए ममताको डीएनए प्रोफाइलसँग मेल खाएको फरेन्सिक परीक्षणले देखाएको थियो । यस्तै, दम्पतीको शयनकक्षको कार्पेटमा भेटिएको दागको डीएनएमा ममता र उनकी छोरीको डीएनए रहेको बलियो आधार देखिएको फरेन्सिक विज्ञले अदालतमा बताएका थिए ।

तर प्रतिरक्षा पक्षले ती दाग कसरी लागे भन्ने कुरा डीएनए परीक्षणबाट मात्रै पुष्टि नहुने तर्क गरेको थियो ।

सरकारी पक्षले ममता बेपत्ता भएको समय आसपास भट्टले फोहोर फाल्ने झोला र सरसफाइका सामग्री किनेको दृश्य पनि प्रस्तुत गरेको थियो । उनको गाडी र मोबाइल फोनका विवरणबाट विभिन्न फोहोर सङ्कलन केन्द्रसम्म पुगेको देखिने दाबी पनि गरिएको थियो ।

अदालतमा जिरहका क्रममा सरकारी वकिल म्याथ्यु स्वीटले भट्टलाई ममताका आफन्त, साथीभाइ, छिमेकी र प्रहरीसँग झूट बोलेकोबारे प्रश्न गरेका थिए । भट्टले आफूले झूट बोलेको स्वीकार गरेका थिए ।

ममताका दाजु महेश काफ्लेले पनि अदालतमा बयान दिएका थिए । उनले बहिनीले अनुहारमा चोट लागेको देखिने तस्बिर पठाएको र आफू असुरक्षित महसुस गरिरहेको बताएको जानकारी दिएका थिए । दम्पतीबीचको सम्बन्धमा तनाव रहेको विषयमा उनीहरूका साथीहरूले पनि अदालतमा बयान दिएका थिए ।

प्रतिरक्षा पक्षकी वकिल ट्रेसी लेनोक्सले भने ममता वैवाहिक सम्बन्धमा खुसी नरहेको र परिवारबाट सम्बन्ध कायम राख्न दबाब परेको तर्क गरेकी थिइन्। उनले सरकारी पक्षले हत्याको अभियोग शङ्कारहित रूपमा पुष्टि गर्न नसकेको भन्दै जुरीलाई भट्टलाई दोषी नठहर्‍याउन आग्रह गरेकी थिइन् ।

नेपालकी नर्स ममता काफ्ले सन् २०२४ जुलाईमा बेपत्ता भएकी थिइन् । लगातार दुई दिन काममा नआएपछि उनको कार्यस्थलले प्रहरीलाई खबर गरेको थियो । अनुसन्धानका क्रममा भट्टले सुरुमा ममता घर छाडेर गएको र न्युयोर्क वा टेक्सास गएको हुन सक्ने बताएका थिए ।

तर अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीले उनलाई २२ अगस्ट २०२४ मा पक्राउ गरेको थियो । सुरुमा शव लुकाएको अभियोग लगाइएका भट्टमाथि पछि प्रथम श्रेणीको हत्या र शव विकृत बनाएको अभियोग पनि थपिएको थियो ।

अदालतमा भट्टले शव टुक्र्याएर फालेको स्वीकार गरे पनि ममताको शव कहाँ छ भन्ने खुल्न सकेको छैन । उनको शव फेला नपरेका कारण मृत्युको चिकित्सकीय कारण पनि स्थापित हुन सकेको छैन ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!