एउटा पुस्ताको सिङ्गो जीवन बाँचिसक्दासम्म पनि काठमाडौंको ‘प्यास’ बनिरहेको मेलम्चीमा कहानीहरू सकिएका छैनन्। बरू, एकपछि अर्को ‘इपिशोड’हरूमा मेलम्चीका मिथकहरू थपिइरहेका छन्।
प्रजातन्त्रको युग सकिएर ‘पञ्चायत’को बत्ती धिपधिपाइरहेको त्यो जुगमै तत्कालीन राजा महेन्द्रको सरकारले काठमाडौंको प्यास थाहा पाइसकेको थियो। २०२० तिर नेपाललाई भर्खरै ‘आधुनिकता’को बाछिटाहरूले छुन खोजिरहेका थिए। र, त्यो बेला काठमाडौंका शासकहरूले ‘अर्को पुस्ता’को प्यास देखेका थिए।
प्यास मेटाउने त्यही सपना थियो मेलम्ची। विकाशोन्मुख नेपालको रेखाङ्कन गरिरहेका दाताहरूले त्यो बेलै मेलम्चीको पानी काठमाडौं ल्याउनबारे छलफल सुरु गरेका थिए।
सन् १९७३ तिर काठमाडौंको खानेपानी आयोजनाका लागि बेलायती संस्था बिन्नी एन्ड पार्टनर्सले एउटा गुरुयोजना बनाइदियो। जसमा मेलम्ची पनि जोडिएको थियो।
२०४६ सालको क्रान्तिले ल्याएको प्रजातान्त्रपछि संविधान बनाउनका लागि घोषणा गरिएको अन्तरिम सरकारका प्रधानमन्त्री थिए नेपाली काँग्रेसका कृष्णप्रसाद भट्टराई।
२०४७ सालमा संविधान जारी भएपछि २०४८ सालमा आम निर्वाचन घोषणा भयो। त्यो चुनावमा भट्टराई पनि उम्देवार थिए।
एउटा भाषणका बेला उनले भनेका थिए ‘मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखालिनेछ’ त्यो चुनाव उनले जित्न सकेनन्। नेकपा एमालेका मदन भण्डारीले उनलाई पराजित गरे।
मेलम्चीको आदिम कथामा जोडिने कृष्णप्रसाद भट्टराईको त्यो भाषणभन्दा अलि बढ्ने हो भने पनि त्यो बेलै काठमाडौं तिर्खाइसकेको थियो। जसले विदेशी दाताहरूको ध्यान पनि तान्यो। तर त्यो बेला विदेशी लगानी अनि दातृ निकायहरूलाई पनि सहज थिएन बीचमा पञ्चायत थियो।
काठमाडौंमा मेलम्ची ल्याउने रेखाहरू कोरिन सुरु भएको करिब ३५ वर्षपछि सन् १९९८ देखि एशियाली विकास बैंकले मेलम्ची आयोजना अघि बढाउनका लागि नेतृत्व लिएको थियो।
त्यसको करिब २५ वर्षपछि अर्थात् २०७७ सालमा बल्ल काठमाडौंका धाराहरूमा मेलम्चीको त्यो पानी चुहिन थाल्यो। तर अहिलेसम्म काठमाडौं यति तिर्खाइसकेको छ कि मेलम्चीको त्यो पानी यहाँका धाराहरूसम्म आइपुग्दा ‘पञ्चामृत’ भइरहेको छ।
२०५५ सालमा सरकारले गठन गरेको ‘मेलम्ची विकास समिति’ले २०५८ सालदेखि लगानीको स्रोत निश्चित गरी २०६४ सालमा आयोजना सम्पन्न गर्न ३७ अर्ब रुपैयाँ लागत आंकलन पनि गरियो तर योजना बनाउने काम भने शून्य नै भयो।
त्यसपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा आयोजना बनाउने योजना बन्यो।
तर वि.स २०६३ सालमा तत्कालीन भौतिक योजनामन्त्री हिसीला यमीले विदेशी कम्पनीलाई खानेपानी जिम्मेवारी दिन इन्कार गरिन् तर अर्थमन्त्री डा. रामशरण महतले भने एडिबीकै पक्षमा लागे।
२०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि मेलम्ची आयोजनाबारे थप चर्चा चल्यो। उनकै सक्रियतामा खानेपानी व्यवस्थापन गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड स्थापना भयो।
र, २०६६ सालमा मेलम्चीका लागि ठेकेदार चुनियो। चाइना रल्वे कन्स्ट्रक्सन (सिआरसिसी)ले सुरुङको ठेक्का पायो। तर चाइना रेल्वेले निर्माण कार्य अधि बढाउन सकेन।
२०७० सालसम्म काम सक्ने जिम्मेवारी पाएको कम्पनीले २०६८ सालमा काम गर्न नसकेको भन्दै सिआरसिसीसँगको ठेक्का रद्द गरियो। त्यसपछि इटालियन कम्पनीसँग ठेक्का सम्झौता गरियो।
२०७० सालमै नयाँ कम्पनी को–अपरेटिभ मुराटोरी सेमेन्टिस्टी (सिएमसी)सँग सम्झौता भयो। त्यही कम्पनीले आयोजना निर्माण अन्तिम चरणसम्म पुर्यायो। तर सम्पन्न हुनअघि नै बाहिरियो।
२०७१ सालबाट सुन्दरीजल, सिन्धु, ग्यालथुम, सेरा, बाहुनेपाटी, अम्बाधान गरी विन्दुबाट सुरु खन्न सुरु भयो। काम राम्रैसँग चल्दैथियो। तर २०७२ सालको भूकम्प र नाकाबन्दीका कारण इन्धन अभाव हुँदा सुरुङ निर्माण रोकियो। त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली थिए।
२०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री बने। त्योबेला भौतिक मन्त्रालयअन्तर्गत रहेको मेलम्ची खानेपानी आयोजनालाई खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गत सारियो। मन्त्रालय फेरियो तर आयोजना काम कछुवाको चाल।
देउवा लगतै ओली फेरि सत्तामा पुगे। त्यसपछि उनले खानेपानी मन्त्रालयको जिम्मा बिना मगरलाई दिए। उनकै कार्यकालमा सुरुङ मार्ग खन्ने कार्यको ‘ब्रेक थ्रु’ भनेर प्रचार गरियो।
‘हेडवर्क्स’ निर्माण क्षेत्रमा १ लाख घनमिटर ओपन कट तथा स्लोप स्टलिाइजेशन गर्ने काम र आयोजनाको सुरुङभित्र भुइँ ढलान गर्ने कार्य पनि पूर्ण रुपमा सम्पन्न भएको थियो।
२०७७ असार २१ गते पहिलापटक मेलम्चीको सुरुङमा पानी भर्न सुरु भएको थियो।
सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर त्यसको शुभारम्भ गरेकी थिइन्।
‘मेलम्चीसँगको लामो समयको प्रतीक्षा, निराशा र प्रश्नहरूको अन्त्य भएको छ। प्राविधिक रुपमा निकै कठिन काम सम्पन्न भएका छन्’, मेलम्चीको पानी सुरुङमा जोडिएपछि बिनाले भनेकी थिइन्, ‘बाधा अवरोध चिरेर निरन्तरको प्रयाले हामी सफल भएका छौं। अब छिट्टै उद्द्दाटनको मिति तोक्नेछौं।’
उनको सक्रियतामा ६२ प्रतिशत प्रगति रहेको आयोजनाले ३० महिनाको अवधिमा ९७ प्रगति हासिल गरेको थियो। तर आयोजनाको काम सम्पन्न भएर सुरुङभित्र पानी परीक्षण गर्नेक्रममा एउटा दुर्घटना घट्यो।
२०७७ असार ३० गते। खानेपानी परीक्षणका लागि पठाइएको सुरुङभित्रको अवस्था हेर्न ४ जना सुरुङभित्र प्रवेश गरेका थिए।
सुरुङभित्रको गेटको ढोका फुटेर उत्पन्न भएको बाढीले हाइलक्स गाडीलाई खोलामा पुर्याइदियो। र, त्यही घटनामा २७ वर्षीय इन्जिनियर सतिस गोइत र ५६ वर्षका चालक राधाकृष्ण थापाको ज्यान गयो।
दुर्घटनापछि मेलम्ची मर्मतमा करिब ८ महिना लाग्यो।
सोही वर्ष प्रतिनिधि सभा बिघटन गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको कदमप्रति असहमति जनाउँदै मगरले राजीनामा दिइन्।
त्यसपछि सुरुङको भत्केको ढोका मर्मत गरेर पुनः पानी पथान्तरण गर्दा २०७७ फागुन १० गते तत्कालीन खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र साँसद शेरबाहदुर तामाङ मुहान क्षेत्रमा पुगेर ठेलमेल गर्दै स्विच थिचेर पथान्तरणको ‘उद्घाटन’ गरेका थिए।
मेलम्ची, मेलम्चीमा छ अझै
लामो प्रतिक्षा बनेको मेलम्ची पहिलोपटक २०७७ फागुन–२२ गते काठमाडौंवासीका धारामा चुहिन थाल्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक त्यसको उद्घाटन गरेका थिए। त्यतिबेला मेलम्ची आयोजनाको स्थायी बाँध (ड्याम) र पानी छान्ने संयन्त्र (डिसेन्डर) तयार भएकै थिएन।
संरचना निर्माण नटुंगिँदै हतारोमा उद्घाटन गरेको टिप्पणी सेलाउन नपाउँदै तत्कालीन राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः मेलम्चीको उद्घाटन गरिन्।
संरचना निर्माण नटुंगिँदै हतारोमा उद्घाटन गरेको टिप्पणी सेलाउन नपाउँदै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा राखिएको ढुङ्गेधाराबाट पानी खसालेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरण औपचारिक रुपमा शुभारम्भ गरिन्। त्यसपश्चात काठमाडौंवासीका घर–घरमा मेलम्चीको पानी बग्न थाल्यो।
झण्डै तीन दशकपछि मेलम्चीको पानी काठमाडौं ल्याउन सफल हुँदा भण्डारीले कृष्णप्रसाद भट्टराई सम्झदै भनेकी थिइन्, ‘तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याई वितरण गर्ने प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले महत्व र प्रचार पायो। मुलुकको नेतृत्व तहलाई आयोजना कार्यान्वयन गर्न प्रेरणा मिल्यो।’
मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थालेपछि चर्को खानेपानीको समस्या समस्या झेल्दै आएका काठमाडौंबासीलाई राहत भएको थियो।
तर तीन महिना नपुग्दै असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहान पुरिदियो। र, तीन महिना पानी आउनै बन्द भयो।
हेडवर्क्समा थुप्रिएको गेग्रानलाई डोजरले पन्छाएर अस्थायी निर्माण गरेर २०७९ वैशाख ११ गते काठमाडौंमा पुनः पानी वितरण गरियो।
त्यो पटक भने तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले पानीको उद्घाटन गरेका थिए। तर मेलम्चीको पानी जसोतसो एक महिना मात्रै धारामा आयो।
बाढीपहिरोको जोखिम भन्दै २०७९ जेठमा सुरुङ बन्द गरियो। ६ महिनापछि मन्त्री चौधरीले नै मंसिर २३ गते फेरि काठमाडौंको महाँकालस्थित पानी वितरण केन्द्रबाट वितरण सुरुवात गरे। तर त्यसको ६ महिनापछि पुनः असारमा मेलम्ची खानेपानीको सुरुङ बन्द भयो।
असार १ र साउन १६ गते आएको बाढीले आयोजनामा २ अर्बभन्दा बढीको क्षति गर्यो। बाढीले आयोजनाको करिब २२ किलोमिटर लामो पहुँच मार्ग मात्र होइन ६ वटा पुल, निर्माण सामग्री राख्ने र कार्यालय संरचना पनि बगायो।
मेलम्चीमा गत साउन गएको बाढीले १५ देखि २० मिटर अग्लो ग्रेगानले पुरिएको मुहान मर्मतपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः मेलम्ची खानेपानीको उद्घाटन गरे।
गएको माघ १ गते उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरको धारा खोलेर पाँचौं पटक ‘सुरुवात’ गरेका थिए।
‘दीर्घकालीन रूपमा समस्या समाधान नहुञ्जेलसम्मका लागि हरेक वर्ष मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्येनजर गर्दै अरबौं लगानीमा निर्मित मुख्य संरचनाको रूपमा रहेको २७ किलोमिटर लामो सुरूङलाई क्षति हुनबाट जोगाउन मनसुन अवधिभर सुरूङ सञ्चालन बन्द गर्नुपर्ने बाध्यताका कारण बाह्रै महिना पानी आपूर्ति गर्न नसकिएकोप्रति आम उपभोक्ताहरूमा जानकारी गराउँछु। यस वर्षको बाढीले मेलम्ची हेडवक्र्समा गत वर्षको तुलनामा धेरै क्षति र्पुयाएकोले मेलम्ची पानी आपूर्तिमा केही विलम्ब हुन गएकोप्रति पनि हाम्रो दायित्ववोध भएको छ,’ मेलम्चीको पानी उद्घाटनपछि प्रधानमन्त्रीले भनेका थिए।
मेलम्चीको पानी उद्घाटनमा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई हुटहुटी हुँदै आएको देखिन्छ। तर काठमाडौंबासीले भने मेलम्चीको पानी तिर्खा मेट्ने गरी पिउन अझै पाएका छैनन्।
उपभोक्ताका धारामा नियमित पानी आउन सकेको छैन। बाढीपहिरोबाट आयोजना दिगो समाधान र स्थायी संरचना निर्माण हुन नसक्दा मेलम्ची खानेपानी नियमित हुन सकेको छैन।
काठमाडौंवासीले मेलम्चीको पानीले ‘प्यास’ मेटाउन नसकेपनि राजनीतिक प्यास भने मेटाउन पाइरहेका छन्, राजनीतिज्ञहरू। बरू, दर्जनौं फेरिए प्रधानमन्त्री र मन्त्रीहरू तर अझै अस्तव्यस्त देखिन्छ, मेलम्चीको पानी।
किन भर छैन मेलम्चीको?
असार र साउनमा गएको भीषण बाढीले मेलम्चीको सुरुङमा पुर्याएको क्षतिले बाह्रै महिना पानी आउन नसकेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रकुमार पन्तले बताए।
उनका अनुसार वर्षायाममा पानी फोहोर हुने भएपछि चार महिनाका लागि मेलम्ची बन्द गरिएको हो। काठमाडौंमा मेलम्चीको पानी वर्षभरि नै ल्याउन सम्भव छ। तर त्यसको लागि नयाँ हेडवर्क्स निर्माण गर्नुपर्छ। जसलाई तयार हुन करिब पाँच वर्षसम्म लाग्छ।
‘काठमाडौंमा बाह्रै महिना पानी ल्याउन सकिन्छ तर हेडवर्क्सको मर्मत भइसक्नुपर्छ। त्यो बन्नका लागि पाँच वर्षसम्म लाग्छ र खर्च पनि उत्तिकै हुन्छ। त्यसैले अहिले हामी ८ महिना मात्रै पानी ल्याइरहेका छौं’, बिएल नेपाली सेवालाई उनले भने, ‘ढिलै भएपनि मेलम्ची बाह्रै महिना काठमाडौंका धारमा बग्नेछ।’
हुन त अर्थमन्त्री वर्षमान पुनले पनि मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन सञ्चालन गर्ने बजेट भाषणमा बताएका छन्। बहुवर्षीय योजना भएका कारण त्यसमा बजेटको निरन्तरता त हुन्छ नै।
‘मेलम्ची खानेपानी आयोजनालाई दिगो रुपमा सञ्चालन गर्न इन्टेकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइने छ’, अर्थमन्त्रीले भाषणमा भनेका थिए।
त्यसैगरी सरकारले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने पनि बजेटमा उल्लेख गरेको छ। मेलम्ची खानेपानी आयोजनाबाट स्वयम्भू, ताहाचल, बालुवाटा्, विशालनगर, पानीपोखरी, मण्डिखाटा र चाबहिल क्षेत्रका ६ सय ४५ किलोमिटर पाइपलाइन परीक्षण सम्पन्न गरी खानेपानी वितरण गरिने पनि बजेटमा उल्लेख छ।
झन्डै साढे तीन दशक पुग्न लाग्यो मेलम्चीको चर्चा सुरु भएको। तर अझैसम्म काकाकुल काठमाडौंवासीले धिक मरुन्जेल पानी पिउन पाएका छैनन् तर खर्च भने बढ्याबढ्यै छ।
अहिलेसम्म कति पैसा बग्यो मेलम्चीमा?
काठमाडौं उपत्यकामा दीर्घकालीन रुपमा खानेपानी आपूर्ति गर्नका लागि विश्व बैंकको सहयोगमा सन् १९७२ देखि नै त्यसबारे अध्ययन सुरु गरिएको थियो।
यसै सन्दर्भमा सन् १९८४ मा परामर्शदाता कम्पनीबाट उपत्यकामा खानेपानी आपूर्ति गर्न सम्भाव्यताका लागि २२ वटा विकल्पहरु अध्ययन गरियो। सन् १९९२ मा त्यही विकल्पहरूमध्ये याङग्री र लार्केबाट दैनिक ५१ करोड खानेपानी आपूर्ति हुन सक्ने अनुमान लगायो।
उक्त आयोजना निजी पूँजी परिचालन गरी सञ्चालन गर्ने उदेश्यले मेलम्ची खानेपानी लिमिटेडको स्थापना गरियो। मेलम्ची खानेपानी आयोजनाको लागत धेरै भएकोले एडिबी, जाईका, ओपेक, नर्वे र स्वीडेनलगायतका दातृ निकायहरुले सहयोग गर्यो।
वि.स २०५५ सालमा विकास समिति ऐन, २०१३ बमोजिम मेलम्ची खानेपानी विकास समितिको गठन भयो। त्यसपश्चात एडिबीको इन्जिनियरिङ ऋण सहायता र नर्वे सरकारको अनुदान सहयोगमा आयोजनाको डिजाइन कार्यहरु सुरु गरियो।
मेलम्ची खानेपानी आयोजनाको सुरु गरेको डिजाइनअनुसार प्रवेश मार्गहरु सुरुङ तथा हेडवक्ससहितको मेलम्ची डाइभर्जन स्किम, सुन्दरीजलमा पानी प्रशोधन केन्द्र, काठमाडौं उपत्यकाभित्र थोक वितरण प्रणाली, वितरण सञ्जाल सुधार र फोहोर पानी प्रणाली सुधारलगायत मेलम्ची उपत्यकामा सामाजिक उत्थान कार्यक्रम, वातावरण व्यवस्थापन, पुनर्वास जस्ता कार्यक्रमहरु समावेश गरियो।
आयोजनाको सुरुको लागत ४६४ मिलियन अमेरिकी डलर थियो, जसमा काठमाडौं मनोहरा खानेपानी प्रणालीको खर्चसमेत समावेश गरिएको थियो।
मेलम्ची खानेपानीको सुरूङ, पहुँचमार्ग निर्माण र मुआब्जा वितरणमा अहिलेसम्म ३१ अर्ब ३४ करोड ९ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख छ।
मेलम्ची खोलाको पानी काठमाडौं पथान्तरण गर्ने यो परियोजनाको लागत ३५ अर्ब ५४ करोड अनुमान गरिएकामा पहिलो चरणअन्तर्गत सञ्चालित क्रियाकलापहरूमा यो वर्षसम्मको भौतिक प्रगति ९९ प्रतिशत रहेको महालेखाले जनाएको छ।
आर्थिक वर्ष २०६५–६६ देखि मेलम्ची खानेपानी उपआयोजना–२ सञ्चालित छ। यसले काठमाडौं उपत्यकामा खानेपानीको सञ्जाल विस्तार गर्ने काम गरिरहेको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले यो काम गरिरहेको हो।
यस उपआयोजनामा अहिलेसम्म ३७ अर्ब २८ करोड ५४ लाख खर्च भएको छ।
यस उपआयोजनामार्फत थोक वितरण प्रणाली निर्माणतर्फ १०२.५६ किलोमिटर काम सक्नुपर्नेमा अहिलेसम्म ७९.२२ किलोमिटर अर्थात् ७७.२४ प्रतिशत काम सकिएको छ।
त्यस्तै वितरण सञ्जाल सुधारतर्फ १ हजार ७८१ किलोमिटरमध्ये १ हजार ६०५ किलोमिटर अर्थात ९०.१२ किलोमिटर काम भएको महालेखाले जनाएको छ।
मेलम्चीमा भष्ट्राचार
वर्षौंदेखि काठमाडौंबासीको सपना बनेको मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार पनि प्रशस्तै भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुनमा मेलम्ची खानेपानी परियोजनामा करिब पौने ७ अर्ब भ्रष्टाचार भएको अभियोगमा १८ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
तीन पूर्व सचिवसहित १५ जना व्यक्ति र तीनवटा कम्पनीविरुद्ध ६ अर्ब ७३ करोड बराबरको बिगो कामय गर्दै मुद्दा दायर भएको थियो।
काठमाडौं उपत्यकामा खानेपानी ल्याउने वर्षौंदेखि उक्त परियोजनामा काम नै नगरी रकम भुक्तानी गरेको, भएको काममा बढी भुक्तानी गरिएको, ठेकेदारलाई लाभ हुनेगरी निर्णय गरिएको लगायतको कसुरमा भ्रष्टाचार मुद्दा दायर भयो।
‘सरकारी सम्पत्ति हानीनोक्सानी गरी निर्माण व्यवसायीलाई लाभ गराएको र त्यस बापत बैंक जमानीबाट असुल गरी सोमा लाग्ने ब्याज असुल नगरेको तथा पेश्की फर्स्योट नहुँदै निर्माण व्यवसायीको कारणले ठेक्का अन्त्य भएपछि असुल हुन बाँकी रहेको रकम बैंक जमानतबाट असुल गर्दा त्यसमा लाग्ने ब्याज असुल नगरेको लगायतको अभियोगसहित मुद्दा दायर भएको हो’, अख्तियारले त्यसबारे भनेको थियो।
पूर्वसचिवहरू सञ्जय शर्मा, भिम उपाध्याय र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन्।
यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको थियो।
पूर्वसचिव शर्मा र सहसचिव समेत रहेका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलविरुद्ध ६ करोड ९७ लाख ८३ हजार १ ७८ रुपैयाँ बिगो मागदाबी गरिएको थियो।
त्यस्तै पूर्वसचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २ सय ७९ र अर्को पूर्वसचिव ठाकुरविरुद्ध ६० करोड ५९ लाख १९ हजार ८ सय ८४ रुपैयाँ बिगो र त्यतिनै जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि प्रतिक्रिया दिँदै सामाजिक सञ्जाल फेसबुकमा खानेपानी मन्त्रालयका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफू निर्दोष भएको बताएका थिए।
मेलम्चीको पानी पिउनका लागि आतुर छन् उपत्यकाबासीहरू। तर उनीहरूका लागि सपनाजस्तै भइदिएको छ, मेलम्ची। दीर्घकालीन हुन सकेकै छैन।
‘देशभर खानेपानीको समस्या तटकारो रुपमा देखापरिरहेको छ। मेलम्ची आउँछ भन्दै सरकारले जनतालाई थुमथुमाइरहेको जस्तो देखिएको छ’, संसद बैठकमा सोबिता गौतमले भनेकी थिइन्, ‘३० वर्षदेखि कुरिरहेको छ मेलम्ची राम्रोसँग काठमाडौं भित्रिएको छैन। थोरै मात्रा पानी आइरहेको छ तर रिङरोड बाहिरका मानिसहरू अझै पनि काकाकुल भएका छन्। अब पनि सरकारले दीर्घकालीन रुपमा योजना बनाउन सकेन भने यसले थेक्नै नसकेको विकराल रुप लिनेछ।’
मेलम्चीले कति पानी थेग्छ?
काठमाडौं उपत्यकालाई दिनमा ४७ करोड लिटर पानी चाहिन्छ। जसमध्ये १७ करोड लिटर पानी मेलम्चीले थेगिरहेको छ। त्यसमध्ये दैनिक ३ देखि ४ करोड लिटर पानी भण्डारणमा खर्च हुन्छ। र, १३ करोड लिटर मेलम्चीको पानी उपत्यकाका धारा–धारामा पुग्छ।
त्यसैगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ‘स्टक’ राखेको ८ करोड लिटर गरेर दिनमा २१ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ। जुन पानीको मागभन्दा आधा कम छ।
दैनिक एक व्यक्तिले सयदेखि डेढ सय लिटर पानी खर्चिरहेका हुन्छन्। सोही माग धान्नको लागि केयूकेएलले दुई–तीन दिन बिराएर उपत्यकामा पानी वितरण गरिरहेको छ।
‘काठमाडौं उपत्यकामा एकैदिन पानी वितरण गर्दा पुग्दैन। त्यसैले दिन बिराएर बाँडिरहेका छौं’, पानीको अभावलाई मध्यनजर गर्दै उनले भने, ‘त्यसो गर्नाले सबैको घरघरमा पानी पुग्छ।’
काठमाडौं उपत्यकामा २ लाख ६० हजार धारा जडान छन्, त्यही धाराबाट दिनको २१ करोड लिटर पानी बगिरहेका छन्।
केयूकेएलले वितरण गरिरहेको पानीको मुख्य स्रोत बनेको छ, मेलम्ची। त्यही पनि अस्थायी जस्तै। काठमाडौंमा बाह्रै महिना मेलम्ची बग्न सम्भव छ तर त्यसको लागि अझै केही वर्ष पर्खिनुपर्छ।
बर्खायाममा पानी धमिलो हुन्छ। धमिलो पानीले हेडवर्क्स बिग्रिन्छ। यसकारण बर्खायाममा उपत्यकामा पानी नआउने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता पन्त बताउँछन्। उनका अनुसार धमिलो पानी हालेपनि थिग्राउने व्यवस्था छैन।
एउटा पुस्ताको सिङ्गो जीवन बित्दासम्म पनि मेलम्ची अझै काठमाडौंका धाराहरूमा राम्रोसँग बग्न सकेको छैन।
वर्षौंदेखि यो राजनीतिक मुद्दा बन्यो। आर्थिक मुद्दा बन्यो तर प्यासी बनिरहेको काठमाडौंवासीका लागि मेलम्ची कहिल्यै त्यो प्यास मेटाउने ‘पानी’ बनेन। मेलम्चीले तिर्खा मेट्न अझै कति पुस्ताले पर्खिनुपर्ने हो त्यसको अझै टुङ्गो छैन।