गाउँपालिकाको नाम ‘सुकिदह’ बनाउन स्थानीयवासीको माग

गंगादेव गाउँपालिकाको नाम फेरेर ‘सुकिदह’ बनाउन स्थानीयवासीले नवनिर्वाचित जनप्रतिनिधिमाथि दबाब थालेका छन्। 

अघिल्लो कार्यकालमा गाउँपालिकाको नाम फेरेका जनप्रतिनिधिहरूलाई मतदाताले अस्वीकारको भन्दै नयाँ जनप्रतिनिधिले कार्यपालिका बैठकमार्फत् सुकिदह नै अनुमोदन गर्नुपर्ने उनीहरूको माग छ।

पाँच वर्षअघि सुकिदह गाउँपालिकाको नाम परिवर्तन गरेर गंगादेव बनाएको थियो। त्यबेला नाम परिवर्तनको विषयलाई लिएर गाउँपालिका कार्यालयमा ३८ दिनसम्म स्थानीयवासीले तालाबन्दी गरेकाे लेखनाथ वली बताउँछन्। गाउँपालिकाको नाम फेरेर गंगादेव बनाउँदा तत्कालीन जनप्रतिनिधिहरूको व्यापक विरोध भएको उनी स्मरण गर्छन्।

स्थानीयवासीले नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र स्वतन्त्र रुपमा निर्वाचित प्रतिनिधिलाई भेटेर मतदाताको मर्म र भावना बुझ्न आग्रह गरेका छन्।

अघिल्लो कार्यकालका जनप्रतिनिधिको गलत निर्णय तत्काल सच्याउनुपर्ने स्थानीय कुलबहादुर केसी बताउँछन्।

‘यहाँका जनताले गाउँपालिकाको नाम सुकिदह होओस् भन्ने चाहेका छन्। सुकिदह जिनाबाङ, ओत, पाखापानी र राँकवासीको धार्मिक आस्थाको केन्द्र हो। योसँग कैयौं मानिसहरूको भावना जोडिएको छ। राम्रो सम्भावना बोकेको पर्यटकीय स्थल पनि हो,’ केसीले भने।

निवर्तमान गाउँपालिका अध्यक्ष बीरबहादुर केसीले जनताको भावना विपरित पालिकाको नाम परिवर्तन गरेको उनीहरूको आरोप छ। उनी यसपटकको स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्। 

गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले निर्वाचित भएलगतै आफू स्थानीय जनताको भावना विपरित नजाने र अघिल्लो कार्यकालमा भएका गल्ली–कमजोरीलाई जनसंवादमार्फत् समाधान गर्ने बताएका छन्।

प्रकाशित मिति: : 2022-06-08 09:09:00

प्रतिकृया दिनुहोस्