अमेरिकामा नपाली चिकित्सकको युएसएमएलई स्कोर प्रकरण- ७

अमेरिकी अदालतद्वारा नेपाली चिकित्सकको इमर्जेन्सी मोशन खारेज: ८३२ को युएसएमएलई स्कोर रद्द

प्रदीप भट्टराई

वासिङ्टन डीसी

नेपाली चिकित्सकहरूको युएसएमएलई स्कोर रद्द गर्ने नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको निर्णय सदर भएको छ। अमेरिकाको वासिंटन डिसीस्थित डिस्ट्रिक्ट कोर्टमा युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयनमा रोक लगाउन दायर गरिएको इमर्जेन्सी मोसन अदालतले अस्वीकार गरेपछि नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले गरेको निर्णय तत्कालका लागि कार्यान्वयन हुने भएको हो।

न्यायाधीश क्रिस्टोफर कुपरले बुधबार ११ बजे दुबै पक्षका तर्क सुनेपछि इमर्जेन्सी मोसन अस्विकार गरे। तर, उनको लिखित धारणा र आदेश भने आउन बाँकि नै छ।

न्यायाधीश कुपरको निर्णयबाट  युएसएमएलई स्कोर रद्द भएका आठ सय ३२ नेपाली चिकित्सकको अमेरिकी सपना दुर्घटनामा परेको छ। अब उनीहरू कम्तिमा पनि रद्द भएको परीक्षा पुन: दिनुपर्ने हुन्छ। धेरैले त परीक्षा दिने मनोबल नै राख्दैनन्। जसले परीक्षा दिएर पुन: प्रक्रियालाई अगाडि बढाउँछन्, उनीहरूको नैतिक धरातल दह्रो हुँदैन। उनीहरू गलत किसिमले परिक्षा दिने एक किसिमको ठगका रूपमा चित्रित हुन्छन्। यस्तो अवस्थामा उनीहरूले अमेरिकामा रेसिडेन्सी पाउँन लगभग असम्भव नै हुन्छ।

अदालतको यो निर्णयबाट आठ सय ३२ जना नेपाली चिकित्सक त प्रत्यक्ष रूपमा दण्डित हुन्छन् नै, सबै नेपाली चिकित्सक पनि अप्रत्यक्ष रूपमा दण्डित हुने छन्। अब कुनै पनि नेपाली चिकित्सकलाई अमेरिकामा रेसिडेन्सी पाउँन सहज हुदैन। अमेरिकी चिकित्सा अध्ययन र अभ्यासको क्षेत्रमा नेपाली चिकित्सकहरू एक किसिमको खोटो सिक्का हुने सम्भावना बढेर जान्छ।  

हुन त यो मुद्दा अझै पनि वर्गीय कारबाही मुद्दाको रूपमा अगाडि बढ्ने सम्भावना भएकाले प्रकारान्तरमा नेपाली चिकित्सको पक्षमा निर्णय आउँन पनि सक्छ। तर, त्यतिबेलासम्म धेरै ढिलो भैसक्ने छ।

झट्ट हेर्दा २०२३ को आसपासमा  युएसएमएलई परीक्षामा सामेल भएर परिक्षाफल रद्द भएका आठसय ३२ जना नेपाली चिकित्सकको मात्र विषय जस्तो देखिए पनि यो त्यति मात्र हैन, यसको दुरगामी प्रभाव समग्र नेपाली चिकित्सकलाई पर्छ। अझ अगाडि बढेर यसबाट नेपाली र नेपालीकै छवि पनि दागी हुन्छ।

यो परिस्थिति सिर्जना गर्नमा युएसएमएलई र नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको हेपाहा प्रवृति त जिम्मेवार छ नै, यी आठसय ३२ नेपाली चिकित्सक पनि आंशिक रूपमा जिम्मेवार छन्। समस्या युएसएमएलईकै परीक्षा प्रणालीमा छ, त्यसको फाइदा उठाउन खोज्दा नेपाली चिकित्सकहरू फसेका हुन्। केही चिकित्सक अपवाद होलान्, तर धेरैजसो अमेरिकी चिकित्सा सपना पूरा गर्ने क्रममा जे गर्न पनि तयार भएकै हुन्।

जनवरी ३१ मा नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले आठसय ३२ जना नेपाली चिकित्सकको स्कोर रद्द गरेपछि सुरू भएको यो प्रकरण फेब्रुअरी १२ मा वासिंटन डिसीस्थित डिस्ट्रिक्ट कोर्टमा पुगेको थियो। यो निर्णयबाट प्रभावित एक नेपाली विद्यार्थीले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको निर्णय रद्द गर्न माग गर्दै दायर गरेको मुद्दाको त्यही दिन सुनुवाई गर्दै न्यायाधीश रुडोल्फ कोन्त्रेरसले निर्यण रद्द गर्ने आदेश नदिए पनि द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावित चिकित्सकहरूलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद भने स्थगित गरिदिएका थिए। 

उनले दुबै पक्षलाई आआफ्ना तर्क राख्न फेब्रुअरी २० सम्मको म्याद दिदै फेब्रुअरी २१ मा न्यायाधीश  क्रिस्टोफर कुपरले निर्णय सुनाउने बताएका थिए। न्यायाधीश क्रिस्टोफरले बुधबार ११ बजे दुबै पक्षलाई आआफ्ना तर्क राख्ने आदेश दिएका थिए। बुधबार दुबै पक्षमा तर्क सुनेपछि उनले युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयनमा रोक लगाउन दायर गरिएको इमर्जेन्सी मोसन अस्वीकार गरिदिएका थिए।

यी समाचार पनि पढ्नु होला:
प्रकाशित मिति: : 2024-02-22 20:30:00

प्रतिकृया दिनुहोस्