नेपाली चिकित्सकहरूको युएसएमएलई प्रकरण पुग्यो अदालतमा, यस्तो भयो आदेश

प्रदीप भट्टराई

वासिङ्टन डीसी

नेपाली चिकित्सकहरूले काठमाडौंस्थित प्रोमेटिक सेन्टरमा दिएको युएसएमएलई परीक्षा रद्द प्रकरण अमेरिकी अदालतमा प्रवेश गरेको छ। प्रभावित चिकित्सकहरूको तर्फबाट द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमा दायर गरिएको मुद्दाको प्रारम्भिक सुनुवाइ भएको छ।

सुनुवाईपछि न्यायाधीश रुडोल्फ कोन्त्रेरसले दुबै पक्षको सहमतिमा एउटा मध्यमार्गी आदेश जारी गरेका छन्। अदालतले युएसएमएलईको स्कोर रद्द गर्ने निर्णय अस्थाई रूपमा रोक लगाउन गरिएको माग अस्विकार गरेको छ। तर, द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावित चिकित्सकलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद भने अदालतले अर्को आदेश नदिएसम्म स्थगित हुने भएको छ ।  

यो समाचार पनि पढ्नुहोला :
सयौँ नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा रद्द, तुहिदैछ अमेरिकी सपना

आदेशमा द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले नेपालको यूएसएमएलई परीक्षासम्बन्धमा जवाफ दिन दिएको अन्तिम म्याद अदालतको निर्णय नआउँदासम्मका पछाडि सारेको जानकारी एजुकेशनल कमिसन फर फरेन मेडिकल ग्रयाजुएट, फेडेरेशन अफ स्टेट मेडिकल बोर्ड र म्याचलाई पनि दिनुपर्ने उल्लेख छ।

अदालतले युएसएमएलई परीक्षा रद्द गर्नुपर्ने आफ्ना तर्क पेस गर्न प्रतिवादी द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरलाई फेब्रुअरी १८ को साँझ ५ बजेसम्मको म्याद दिएको छ । प्रतिवादीको तर्क प्राप्त भएको २४ घण्टाभित्र वादी प्रभावित नेपाली चिकित्सकले इलेक्ट्रोनिक फाइलिङ प्रणालीमार्फत जवाफ दिनुपर्ने छ ।

यो समाचार पनि पढ्नुहोला :

युएसएमएलईलाई नेपाल र नेपाली चिकित्सकको मानमर्दन गर्ने स्टेटमेन्ट सच्याउन आग्रह

यसअघि द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले सन् २०२३ को अन्तिम दिन जनवरी ३१ मा काठमाडौैस्थित प्रोमेटिक सेन्टरमा युएसएमएलई परीक्षा दिएका सयौं  नेपाली चिकित्सकको परीक्षा रद्द गरिएको सूचना पठाउँदै परीक्षा पुन लिने, पुनर्विचारको अनुरोध गर्ने वा पुनरावेदन गर्ने विकल्पसहित समयसिमा तोकेर जवाफ पठाउन पत्राचार गरेको थियो । 

यो पत्राचारसँगै सयौंको संख्यामा नेपाली चिकित्सकको अमेरिकी सपनामाथि प्रश्नचिन्ह त लागेकै थियो, यसबाट नेपाल र नेपाली चिकित्सकका मानमर्दन पनि भएको अनुभूति गरिएको थियो। अमेरिकामा रहेका नेपाली चिकित्सकहरूले सम्बन्धित पक्षलाई प्रेस स्टेटमेन्ट सच्याउन आग्रह पनि गरेका थिए। तर, उनीहरू त्यसका लागि तयार नभएपछि नेपाली चिकित्सकहरूका तर्फबाट युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमा मुद्दा दायर गरिएको हो ।   

प्रकाशित मिति: : 2024-02-17 22:32:00

प्रतिकृया दिनुहोस्