दाङमा बढे मतदाता, थपिए मतदान केन्द्र

दाङमा मतदाताको संख्या वृद्धि भएका छन्। २०७४ सालमा भएको निर्वाचनको तुलनामा १ लाख २२ हजार ६ सय ६७ जना बढी मतदाता थपिएका हुन्। ०७४ सालमा भएको निर्वाचनमा दाङमा २ लाख ९१ हजार १ सय ७० जना मतदाता रहेका थिए।

आउने २०७९ साल बैशाख ३० गते हुने निर्वाचनमा दाङमा मतदाताको संख्या वृद्धि भएर ४ लाख १३ हजार ८ सय ३७ हुने भएको छ।

यो संख्यामा अन्तिम पटक निर्वाचन आयोगले अध्यावधिक गर्ने समयमा केही थप घट भएपनि अन्तिम मतदाताको संख्या यहिको आसपासमा रहने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना गेहेन्द्र कुँवरले जानकारी दिए।

जसअनुसार घोराही उपमहानगरपालिकामा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६७ पुगेको छ। यो जिल्लाका अन्य पालिकाको तुलनामा सबैभन्दा बढी मतदाताको संख्या हो। यस्तै तुलसीपुर उपमहानगरपालिकामा मतदाताको संख्या १ लाख ८ हजार ९ सय ८३ मतदाता पुगेको छ।

लमही नगरपालिकामा ३४ हजार ५ सय ९९, राप्ती गाउँपालिकामा ३२ हजार ४ सय ३५, गढवाामा ३० हजार १ सय १६, राजपुरमा १६ हजार १५ जना मतदाता पुगेका छन्।

यसैगरी बबई गाउँपालिकामा २२ हजार ३ सय ६६, शान्तिनगर गाउँपालिकामा २१ हजार १ सय ७९, दंगीशरणमा १८ हजार २ सय ९० र बंगलाचुली गाउँपालिकामा १६ हजार ८७ मतदाता पुगेका छन्।

जसमा कुल पुरुष मतदाताको संख्या २ लाख २२ हजार ७ सय ७२, महिला मतदाताको संख्या २ लाख ११ हजार ५ सय ६३ र २ जना तेस्रो लिंगी मतदाता रहेको सूचना अधिकारी कुँवरले जानकारी दिए।

यस्तै दाङमा मतदाताको संख्यामा बृद्धि भएसँगै मतदान केन्द्रहरु थप गरिएका छन्। ०७४ सालमा भएको निर्वाचनामा दाङमा ३ सय ५१ मतदान केन्द्र रहेका थिए। यो संख्या बढाएर अहिले ४ सय ६४ पुर्‍याइएको छ।

दाङमा ५ मतदानस्थललाई सारियो, २ मतदान स्थल थप

दाङमा ५ वटा मतदानस्थललाई पहिलेको ठाउँबाट अन्यत्रै सारिएको छ। पहिले मतदान हुने ठाउँमा विभिन्न कारण देखाउँदै ५ वटा मतदानस्थललाई अन्यत्रै सारिएको हो।

मतदान हुने स्थानमा ठाउँको अभाव, जिर्ण भवन तथा सुरक्षाका दृष्टिकोणले ५ मतदानस्थल सारिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

गढवा गाउँपालिका १ नमूना मावि महदेवामा रहेको मतदान स्थललाई रात्रि आधारभूत विद्यालय पचैहामा सारिएको छ। यस्तै लमही नगरपापिलका १ सोनपुर मतदानस्थलाई बालोदय आधारभूत विद्यालय सुनडवरी, लमही ५ स्थित नगरपालिकाको कार्यालयबाट खिमबहादुर मावि कोलहीमा सारिएको छ।

दंगीशरण गाउँपालिका २ मावि मधपुरमा रहेको मतदानस्थललाई आधारभूत कौवाघारीमा र शान्तिनगर गाउँपालिका १ सरस्वती आधारभूत विद्यालयमा हरेको मतदान स्थललाई पेदीखोला आधारभूत विद्यालयमा सारिएको छ।

यस्तै दाङमा नयाँ दुई वटा मतदान स्थल थप गरिएको छ। मतदाता संख्या र भूगोलका दृष्टिले उपयुक्त भएपछि नयाँ दुई वटा मतदानस्थल थप गरिएको हो। जसमा घोराही उपमहानगरपालिवका वडा नं. २ को चाक्लीघाट र बबई गाउँपालिका १ जिलामा गरी दुई मतदान स्थल थप गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-03-01 17:30:00

प्रतिकृया दिनुहोस्