स्थानीय सेरोफेरो

काठमाडाैंका भन्दा जुम्लाका महिला सक्षम छन्: कान्तिका सेजुवाल [भिडियो अन्तर्वार्ता]

कमल विक

काठमाडौँ

बिएल नेपाली सेवाको साप्ताहिक प्रस्तुति स्थानीय सेरोफेरोमा स्थानीय तहमा भइरहेको विकास निमार्णको अवस्था, सन्तुलित बजेट बाँडफाड र जटिलताबारे स्थानीय सरकारका प्रतिनिधिहरुसँग संवाद गर्ने गरेका छौँ। सङघीयता कार्यान्वयनको सन्दर्भमा जनप्रतिनिधिहरुले भोग्नु परेका चुनौती बारे जुम्लाको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालसँग हामीले कुराकानी गरेका छौँ। उनीसँग भगिनी सम्बन्ध (सिस्टर सीटी)को अवधारणा र महत्वका विषयमा समेत थप चर्चा गरेका छौँ। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीः  

जनप्रतिनिधिका हैसियतले चार वर्षको अवधिमा कस्ता अनुभव बटुल्नु भयो? स्थानीय तहको नेतृत्व गर्न कति कठिन रहेछ?

अब त हामी चार वर्ष पुगेर पाँच वर्षमा लागिसक्यौं। यो अवधिमा हामी स्थानीय जनप्रतिनिधिहरुले धेरै काम गरेको छौं। जुन संघ र प्रदेशको भन्दा उदाहरणीय छ। जति साना धारा र कुलेसो बनेका छन्, ती स्थानीय तहले नै गरेका हुन्। म दाबाका साथ भन्छु कि, कोरोना कहरको नियन्त्रणको लागि काम गर्ने भनेकै जनप्रतिनिधिले हो। त्यसैले हामी अहिले पनि सडकमै छौं स्रोत साधनले भ्याएसम्म नागरिकको लागि काम गरिरहेका छौं। 

जनप्रतिनिधिहरुका चूनौतीहरु धेरै छन्। त्यही अनुसार अवसर पनि छन्। संघीयताको मर्म भनेकै उत्पादन र वितरण हो। जसअनुसार आफै उत्पादन गर्ने र वितरण गर्ने हो। तर, त्यो उत्पादमा कमी छ। कतिपय उत्पाद गर्न सकेनौं, किनभने संघीयता पहिलो संरचना भएकाले केही कठिनाई आए। एकै चोटी काम गर्न जादूको छडी होइनन् स्थानीय तह। संघ र प्रदेशले हालसम्म गर्न नसकेका काम, जो ग्रामिण क्षेत्रमा हुनैपर्ने छन् ती स्थानीय तहले गरेका छन्। हामीले कस्तो काम गर्ने भन्ने सपना देख्न सकिन्छ। सोही अनुसार काम गर्ने हो। सपनाहरु चरणबद्ध तरिकाले पूरा गर्ने हो। पाँच वर्षमै सपना पूरा हुन्छ भन्ने छैन। 

यो चार वर्षको अवधिमा कस्ता–कस्ता काम गर्नु भयो? 

यसै पनि स्रोत साधनको अभाव छ। त्यसैमाथि जनसंख्या र भूगोलका हिसाबले हामी सानो छौं। र पनि हामीले दुई वटा हाईड्रोपावर बनाएका छौँ। हामीले मुुगु जोड्ने सडक खोल्यौं। सबै वडा तहमा सडक सञ्जाल विस्तार गरेका छौं। सबै ठाउँमा खानेपानीको व्यवस्थापन गरेको छौं। नौं वटा स्वास्थ्य संस्था स्थापना गरेका छौं। दुई वटा मोडेल स्कुल खोल्दै सबै विद्यालयहरुका भौतिक सुधारदेखि सबै कुराको व्यवस्थापन गरेका छौं। शुद्धखानेपानी नगरका रुपमा केही दिनमा घोषणा गर्दैछौं। सबै नागरिकलाई कोरोना खोप पुर्याएका छौं। कोरोना भाइरस परिक्षण गर्ने मेसिन नेपालमा ल्याउने टेकु अस्पातालपछि हामी पहिलो हौँ। नगरपालिका महसंघबाट हामी कर्णाली प्रदेशभित्र पहिलो भएका थियौं। अन्य धेरै योजनाहरु कोरोनाका कारण रोकिएका छन्। 

केन्द्र र प्रदेशसँग कार्य सम्पादनमा तलमेल कस्तो रह्यो ? साथ कति मिल्यो? 

मलाई संघ र प्रदेशसँग त्यति तालमेल मिलेजस्तो लाग्दैन। हामीले कति धेरै प्रस्ताव गर्दा पनि समन्वय गर्न चाहनुहुन्न। हामीबीच सम्बन्ध प्रगाढ हुनुपथ्र्यो, तालमेल मिल्नुपथ्र्याे। त्यो हुन नसक्दा नागरिकका धेरै कुराहरुसँगै विकास निर्माणका कामसमेत ओझेलमा परेका छन्। त्यसैले होला, अहिले संघीयता खारेजीका कुरासमेत उठ्ने गर्छन्, तर यो कुरा अहिले गर्ने होइन, यसबारेमा पहिलै सोच्नु पथ्र्याे। संविधान बनाउनु पहिला नै सोच्नु पथ्र्याे। तर, संविधान त्यही हिसाबले बनेको छ, जसले पूर्णता पाउनको लागि पनि संघीयताको आवश्यकता छ। नागरिकको नजिक रहने भनेको स्थानीय तह नै हो। ग्रामिण क्षेत्रको विकासको लागि स्थानीय तहको आवश्यकता छ। बरु यसको सञ्चालनको लागि थप जिम्मेवारी दिनुपर्छ भन्ने मलाई लाग्छ। 

काम गर्नको लागि अन्य जनप्रतिनिधि र कर्मचारीबाट कस्तो साथ पाउनु भयो?  

हामी देशको नयाँ संरचनामा आउँदाको पहिलो वर्ष त अलमलमै परियो। दोस्रो वर्ष कर्मचारी समायोजनमै बित्यो। काम गर्नको लागि समय छोटो भएको जस्तो लाग्छ। सुरुको समय योजना र कानून बनाउँदै ठिक्क भयो। यही समयमा कोरोना कहर। त्यसैले गर्दा पनि हामीले चाहेजतिको काम गर्न सकेनौँ। लकडाउनका कारणले केही विकासका कार्यक्रमसमेत ओझेलमा परे। 

त्यसो भए तपाईं फेरि पनि मेयरको रुपमा दोहोरीन चाहानुहुन्छ?

दोहोरीने र नदोहोरीने भन्ने कुरामा अहिले नै सोचेकी छैन। म फेरि आए पनि नआए पनि विकासका काम निरन्तर गर्छु। त्यसमा पनि हामीले ‘मास्टर प्लान’ बनाएकै छौं। व्यक्ति फेरिए पनि संस्थाको ‘स्टिम’ फेरिँदैन, त्यो ‘स्टिम’ अनुसार चल्यो भने जो आए पनि फरक पर्दैन। 

कोरोना महामारीको यो समयमा आफ्नो क्षेत्रका विद्यालयको पठनपाठन सुचारु गर्न कस्ता कदम चाल्नु भयो? कस्तो योजना बनाउँदै हुनुहुन्छ?

त्यसको लागि सर्वेक्षण टोली बनाएका छौं। टोली यसको अवस्था बुझ्नको लागि ‘डोर टू डोर’ पुगेको छ। विद्यालय व्यवस्थापन समितिसगँ पनि छलफल  भइरहेको छ। सबै रिपोर्टको आधारमा नयाँ योजना बनाएर अगाडि बढ्ने तयारीमा छौं। त्यसमा पनि अन्य वैकल्पिक माध्यमबाट त पठनपाठन चलिरहेको छ। 

कृषि तथा पशुपालनको क्षेत्रमा कस्तो काम गर्नु भयो? तपाईंहरुले दिएको अनुदान अनुसार प्रतिफल पाउनु भयो कि भएन?

हाम्रो दशवटै वडा एउटा–एउटा कुराको लागि पकेट क्षेत्र छन्। हामीले कुनै ठाउँमा स्याउ, कुनैमा तरकारी, कुनै ठाउँमा नगदेबाली, कतै मार्सी चामलको पकेट क्षेत्रको रुपमा जोन बनाएका छौं। तर, पनि सम्भावना अनुसार उत्पादन गर्न सकेनौं कि भन्ने लागेको छ। धेरै मानिसहरु कृषिमा भन्दा अरु पेशामा लाग्ने भएको हुनाले कृषिमा अभिपे्ररित गर्नको लागि सचेतनाका कार्यक्रम गरिरहेका छौं। 

महिला भएकै हिसाबले काम गर्न असहज कठिन भयो? 

अफ्ठ्यारो त संस्थागत रुपमा पर्नुभन्दा पनि दलीय रुपमा केही अलिकति प्रभाव कार्यपालिकाभित्र पर्याे कि भन्ने लाग्छ। विकासका कुरामा पनि राजनीतिक प्रभाव परेको छ। तथापि, कुनै पनि महिलाले पुरुष बराबर काम गर्छ। मैले महिला भएर काम गरेको होइन। त्यो कुर्सी र ठाउँ पुरुषको लागि मात्रै होइन, सबै मानव जातिको लागि हो। त्यही पनि अझै हाम्रो समाजले महिलाले गरेका कामप्रति विश्वास नगर्ने परम्परा बाँकी नै छ।  त्यसैले पनि धेरै महिलाहरु नेतृत्व तहमा आउनुपर्छ।

कूप्रथासमेत रहेको कर्णालीका महिलाको लागि के–के गर्नु भयो? 

तपाईंले राजधानीमा बसेर त्यहाँको बारेमा सुनिरहनु भएको छ, हेर्नु भएको छैन। तपाईंले सुनेका सबै कुरा सही होइनन्। काठमाडौं, ललितपुर र भक्तपुरमा बसेका महिलाभन्दा जुम्लाका महिला ‘ट्यालेन्ट’ छन्। हिजोको जस्तो अवस्था छैन। यहाँका महिला नाङ्गो खुट्टाले हिँडे पनि उनीहरु सशक्त छन्। नेतृत्व गर्न सक्ने क्षमताका छन्। कर्णालीका महिलाले अन्य क्षेत्रका महिलासँग प्रतिस्पर्धा गर्न सक्छन्। विगतमा नराम्रो हुँदोहोला तर अहिलेका महिलाहरुमा लोभलाग्दो सम्भावना छ। अहिले रुढिवादी प्रथाहरु हटाउने अभियानमा हामी छौं। हामीले हटाई पनि रहेका छौं। राज्यले हामीलाई हेर्ने गरेकोभन्दा हामी धेरै फरक भइसकेकाछौं। 

तपाईं अहिले भगिनी सम्बन्ध जोड्ने अभियानमा हुनुहुन्छ। जुन कुराको सुरुवात तपाईं आफैले गर्नु भएको हो। यो कस्ताे खालको योजना हो? 

यो मेरो व्यक्तिगत कल्पना र योजना हो। भगिनी सम्बन्ध हामीले आजसम्म विदेशीसँग गर्दै आएका थियौं। मैले सोचे मितेरी साइनो लगाउनु छ भने विदेशीसँग किन हारगुहार गर्ने। हामीले पहिला आफैलाई चिन्ने कोशिस गरौं भन्ने हिसाबले मैले काममा सहकार्य गर्ने योजना अनुसार यो अभियानको सुरु गरेकी थिएँ। पहिलो पटक हामीले काठमडौं महानगरपालिसँग यो सम्बन्ध कायम गर्याैँ। अहिले भर्खरै यो ललितपुरसँग जोडिएका छौं। 

यसले कसरी काम गर्छ? यसको प्रभावकारीता कस्तो छ? 

संघीय र प्रदेश सरकारले पनि सहलगानी र सहकार्यको अवधारणा ल्याएको छ। जुन २०७४ साल पछाडि आएको हो। हामीले पनि नगरपालिकाको योजना के छ भन्दा दुई स्थानीय तहबीचको सहकार्य जीवन्त भन्ने किसिमले काम गरिन्छ। एक अर्काबीचको छलफलमा कमीकमजोरी सुधार्ने योजनामा हामी छौं। 

यो सम्बन्धका लागि तपाईले पहिला किन राजधानीकै स्थानीय तह (काठमाडौं र ललितपुर) नै रोज्नु भयो ? 

हामीलाई प्रस्ताव त अन्तबाट पनि आएको थियो। तर, काठमाडौं र ललितपुर महानगरपालिका सबैभन्दा पुरानो अनुभवी भएको र स्रोत साधन भएको हिसाबले पनि उहाँहरुबाट सिक्नकै लागि हामीले रोजेका हौंँ।

प्रकाशित मिति: : 2021-08-22 21:17:00

प्रतिकृया दिनुहोस्