थाइल्यान्डको बैंककस्थित त्रिनाथ देवालय भवनको माथिल्लो तलामा सनातनी मन्दिर छ।
सन् १९९३ मा निर्मित यस देवालयमा ‘थाई–नेपाल’ समाज पिलोकका नेपालीहरूले मन्दिर स्थापना गरेका हुन्।मन्दिर छेउछाउमा पिलोके नेपालीहरू बस्छन्। उनीहरु मन्दिरमा दिनदिनै भेला हुन्छन्। सामाजिक मन्थन गर्छन्। पीडितका लागि चन्दा उठाउँछन्। मन्दिरका लागि दान दिन्छन्।
मन्दिर छिर्दा नेपालीहरूको बेग्लै रौनक छ। माथिल्लो तला उक्लिँदै जाँदा राजा–रानी भेटिन्छन्। एउटा फोटो भित्तामा झुन्डिएको छ। थाई राजा स्वर्गीय भूमिबोल अदुल्यादेज र नेपाली पूर्वराजा ज्ञानेन्द्र शाह सपत्नी सजिएका छन्।
थाइल्यान्डमा राजतन्त्र कायमै छ। नेपालमा गणतन्त्र आइसक्यो। तर, स्वर्गीय राजा भूमिबोल र वीरेन्द्रलाई बारम्बार स्मरण गर्छन्, नेपालीभाषी। नेपाली राजपरिवारको हत्याप्रति दुःख व्यक्ति गर्छन्, बर्मेली–नेपाली होमनाथ न्यौपाने।
‘बैंककको चित्रमार्फत् साफ थाइल्यान्डको चरित्र देखिन्छ। बैंककमा यात्रा गर्नु भनेको एकैपटक धेरै संसारहरू हेर्नुजस्तै हो। सामान्य मानिस छन्। महाराजा छन्। मन्दिर छन्। भगवान छन्। मानौँ, संसारै छ,’ उनी भन्छन्।
नेपाल–थाइल्यान्डबीच भावनात्मक सम्बन्ध छ। निख्रिएको निलो आकाश। गगनचुम्बी भवन। जताततै मठ–मन्दिर। पर्यटकले टम्म भरिएको सहर।
सस्तो र उत्कृष्ट सडक–खाना। कुरूप फुटपाथ, छेउकुनातिर मसाज–मदिरालय। ‘थाई–अंग्रेजी’ लवज। वारिपारि सुरा–सुन्दरी। ‘सूवर्णभूमि’देखि ‘चाओ फ्राया’सम्म अजब–गजबको मेला–उत्सव।
बैंककको बेग्लै रौनक छ– चम्किलो र थकाइलाग्दो तर नथाक्ने जीवन।
एउटा बैंककका अनेकौँ जीवन–कहानी छन्। कथा–व्यथा र वेदनाले भरिएका बग्रेल्ती ‘आप्रवासी सपना’। थाइल्यान्डले कैयौं ‘गोर्खा’ अर्थात् नेपालीहरूको भाग्य चम्काएको छ। कोरोना महामारीको कहरले एउटा गहिरो र भयानक भुमरीमा धकेल्यो। तर पनि ‘जिजीविषा’ बोकेर टन्टलापुर घाममा हिँडिरहेका छन्, बैंककका नेपालीभाषी।
थाइल्यान्डमा नेपाली भाषीहरूको यकिन तथ्यांक छैन। तर एउटा विशाल देशमा जातीय अस्तित्वको जर्गेना गर्दैछन्। बर्सेनि नेपालबाट कलाकार बोलाएर सांस्कृतिक उत्सवमा रमाउँछन्। हप्तादिनसम्म तीज र तिहार मनाउँछन्। म्यान्मार हुँदै थाइल्यान्ड प्रवेश गरेका नेपालीहरूले नेपाल झल्काइरहेका छन्।
थाइल्यान्डमा आफ्नो मौलिक कला–संस्कृति जोगाउन/फैलाउन सामाजिक संघ–संस्थाको महत्वपूर्ण भूमिका छ। धार्मिक संस्था र मन्दिरमार्फत् नेपाली भाषा जोगाएर नेपालीपन कायमै राखेको दाबी गर्छन्, नेपाली पण्डित चुडामणि ढुंगेल।
उनी आफैँ पनि नेपाली संस्कार र सनातन धर्मका थाई नेपाली अभियन्ता हुन्। नेपाली गाउँ–टोलमा गइरहन्छन्, उनी। कैयौँ युवा–युवतीहरूको वैवाहिक जीवन बाँधिदिएका छन्। थाइल्यान्डमा नेपाली पण्डित र ज्योतिषहरू जताततै फैलिएका छन्।
नेपालीमुलका सुरज भण्डारी दुई दशकदेखि चर्चित पर्यटकीयस्थल फुकेटमा बस्छन्। उनी कपडा व्यापारी हुन्। खासखास समाराेहमा दौरा–सुरुवाल र ढाका टोपीमा ठाँटिने नेपालीहरूको ठुलाे जमात छ। थाइल्यान्डमा नेपाली पहिरनकाे राम्रै व्यापार हुन्छ। ‘नेपालीहरूले पहिचान झल्काउने कपडा माग्छन्,’ भण्डारी भने, ‘मेराे पसलमा धेरै खैरेहरू आउँछन्। तर नेपालीहरू पनि दौरा–सुरुवाल र ढाका टोपी किनेर लिन्छन्।’