'राजाकाे देशमा बसेर अर्काे राजा बन्ने सपना देख्दै–नदेख केटाहरूकाे हाे,' ठट्याैली पारामा बाेलिहाल्याे गाेरे। समुन्द्री तटकाे अघिपट्टी गाेरेसँगै छाैं- राजाराम, राजकुमार, दीपक र खराल कान्छाे। जब थाइल्यान्ड कोरोना महामारीले थलियाे, तब हामीहरू पनि जुट्थ्याैं। भलै, जसाेतसाे बाँचिरहेका थियाैं। बेलाबेला भेटवार्ता गर्थ्याैं। आ-आफ्ना दुःख–पीडा बाँड्थ्याैं।
थाइल्यान्ड एउटा सम्पन्न देश हो। लाखौंकाे संख्यामा राेजगारी खाेज्दै दैनिकजसाे मजदुरहरू यहाँ आइपुग्छन्। सपना बाेकेका हजाराैं युवाहरू आँखा चिम्लिएर दाम कमाउनका लागि बैंकक छिर्छन्। कतिको भाग्य ताराजस्तै चम्किएको छ। तर कति झरेका पातजस्तै छन्। लाखाैं सपना चक्नाचुर भएका छन्।
याे बैंकककाे कथा हाे। आम–मानिसकाे कथा हाे। र, एउटा युवककाे व्यथा पनि।
०००
शुक्रबार। दिउँसाेकाे समय। बैंककमा धुप चढ्दै छ। गोदामतिर धमाधम कामदार छिर्दैछन्। दिउँसाे अर्थात् पर्यटककाे मेला लाग्ने समय। बजार जाग्दै छ। साहुकाे मुहार उज्यालो देखिन्छ। नास्ताकाे समय, आरामकाे बेला। दर्जन युवा भेला भइरहेका छन्। उनीहरू छुट्टी मनाउने गफ छाँट्छन्। अनि त्यसैबेला थाइल्यान्ड हेरेर रमाइरहेकाे म अर्थात् राजाराम पनि पुग्छु।
साथीहरू बिदाका कुरा गर्छन्। घुमफिरकाे सपना बुनिरहेका छन्। मभित्र थप उत्सुकता जाग्याे। र हुत्तिँदै पुगिदिए उतैतिर।
मित्रसामु पुग्ने बित्तिकै टक्क अडिएँ। यताउती हेरेँ। र, साेधेँ, 'केटाहरू हाे! कस्ताे छ खबर?'
काेही बाेलेनन्। सानाे स्वरमा अँध्याराे अनुहार पार्दै विदुर बाेल्याे, 'हिजो राति गोरेको एक्सिडेन्ट भयो रे।'
ला... म झस्किएँ। अनि प्रश्न गरेँ, 'हैन कसरी ! कहाँ?' हतारहतार फेरि मुख खाेलेँ, 'सिरियस् कि हल्का!'
दुर्घटनाले दुःख निम्त्याउँछ। यस्ता समाचार सुन्न मनै लाग्दैन। तर सुन्नैपर्छ, साेध्नैपर्छ।
मधुर आवाजमा साथी विदुरले जवाफ दियाे, 'सिरियस्!'
चौबिस घण्टाभित्र गोरेसँग बिताएका हरपल सम्झिएँ। टाउको वरिपरि घुम्न थाले, ती दृश्यहरू। हाँसिलाे अनि चुलबुचे। सरल स्वभाव। फुर्तिलो र फर्सिलो एउटा युवा अर्थात् मेराे साथी– गाेरे।
गहकिला गफ। ठट्याैलाे बाेली। भेटेदेखि नछुट्टिँदासम्म हाँसेकाे हाँस्यै। आफू मात्रै हाँस्दैन्थ्याे, अरूलाई पनि हँसाउने। कुरैकुरामा पेट मिचिमिचि हँसाउन सक्ने उसकाे सबैभन्दा राम्राे खुबी हाे।
दृश्य आँखा वरिपरि घुम्दै सिनेमाका सिन जस्तै फ्याट्टफ्याट्ट आउँदै–जाँदै गर्न थाले। सन्नाटा म र विदुरभित्र मात्रै छायाे, बाँकी सबै रमाइरहेका छन्। मैले झुन्डभित्र ध्यान केन्द्रित गरिदिएँ। विदुर पनि त्यसै गर्याे।
०००
गाेरे अस्पतालमा छ। खै स्वास्थ्य कस्ताे छ? अस्पताल पुग्न आतुर छाैं। झुन्डभित्रबाट कान्छाले ऊबारे थप बाेल्याे, मन झसङ्ग भाे। दुर्घटनाले शरीर मात्रै दुखाउँदैन, दिल पनि पाेल्छ। जताततै चाेट दिन्छ। सहन निकै कठिन हुन्छ। कहिलेकाहीँ बाँच्नै मुस्किल पार्दिन्छ। ऊ मेराे मिल्ने साथी। ऊ मेराे मनकाे साथी। ऊ हामी सबैकाे सुख–दुःखकाे साथी। ऊ अहिले पीडा बाेकेर अस्पतालमा सुतिरहेकाे छ।
०००
भाेकै छु। खानै मन लागेन। तर आन्द्रा थन्काउनैपर्छ। मभित्र पनि एक खालकाे राेग छ। हतारहतार नास्ता गरेँ।
मैले काम गर्ने पसलमा दुईजना स्टाफ थियौं। लगत्तै पुगेर साहुजनलाई गाेरेकाे दुर्घटनाबारे सुनाए। अनि साहु साउ हुसैनले मलाई अनुमति दियो। ऊ पनि अत्तालियाे। म त्यहाँबाट निस्केँ। साहुले माेटरसाइकलमा राखेर ट्याक्सीसम्मै पुर्यायाे। बाइक राेकेर फटाफट ट्याक्सीमा चढेँ।
एक निमेषमै ट्याक्सी हुइँकियो। खबर थियो, गोरेलाई सिरिराज अस्पतालमा भर्ना गरिएको छ। जाँदै गर्दा मनमनै पूर्वानुमान थालेँ। कहाँ–कहाँ चोट लाग्या होला। साह्रै दुःख पाे पायाे कि? तर हिम्मत नहाराेस्। छिट्टै निकाे हाेस्। मेराे कामना छ। भेट्न बित्तिकै बाेलाेस्।
लगभग डेढ घण्टापछि सिरिराजको पार्किङ्मा पुगेँ। उभिएँ। माथिपट्टी हेरेँ, अग्ला–अग्ला भवन। तर त्याेभन्दा अग्ला मेरा पीडा थिए। काउन्टरम–छेउमा विदुर पनि भेटियाे। छिटाेछिटाे भित्र छिरेर उसले गाेरेकाे 'वार्ड' खाेज्याे। अत्तोपत्तो लागेर। यताउती हेर्याैं। फेरि म काउन्टरमा पुगेँ। बल्ल पत्ता लाग्यो। हामीभित्र छिर्याैं। तर गोरे देखिएन। हामीहरूले अझै खोज्यौं। अहँ..., गोरेलाई अझै पनि देखेनौं।
एउटी युवतीले गोरेलाई त्यहीँ ट्राउकाे वार्डमा राखेकाे बताइन्। सेतो कपडामा, राताे कपाल। खाइलाग्दाे ज्यान। जति हेर्याे, उति राम्री। बाह...! बिरामी भेट्न गएकाे म उनैलाई हेरेर भुल्न पाे थाले छु। छ्या कस्ताे नजर। भाे नहेर मलाई, ए... नर्स। मनमनै यस्तै–यस्तै साेचेँ।
गाेरेकाे वार्ड खोज्दा–खोज्दै हैरान पर्याैं। धन्न नर्स 'मैया' ले बताइदिइन्। भित्र गाेरेकाे उपचार भइरहेकाे थियाे। त्यसपछि हामीहरू बाहिर निस्किन थाल्याैं। यसैबेला एउटा ठूलाे कदकाे मानिस देखियाे। म त एकछिन छक्क परेँ। ला...! ऊ त मेराे साहुजन हुसैन पाे रहेछ।
मभन्दा अघि नै बाेल्याे, 'अरे रुको !'
म ट्वा परेँ। फेरि करायाे, 'यही है गोरे।'
निःशब्द बने। सन्त्रासकाे रंग ढाकियो। ऊ त हेर्दाहेर्दै लम्पसार परेकाे गाेरेलाई भेट्न भित्र पाे छिर्याे। हाहीहरूले घाइते मान्छेलाई गोरे भन्ने आँट गरेनाैं– तर ऊ सरासर भित्रै गयाे। हामी पनि उसकै पछिपछि हिँड्याैं। मेरा हातखुट्टा लल्याकलुलुक भए। सुकेको घाँटीले जबर्जस्ती केही निले जस्तो गर्याे। भाउन्न भएँ। चक्कर लागेर लड्छु कि झैँ लाग्यो। मै कमजोर थिएँ वा परिस्थिति कहालीलाग्दो थियो, पत्ताे भएन। एकपलका लागि ऐठनकाे भान भाे।
सत्यसँग कल्पिएर भाग्न कहाँ मिल्छ र! कोही–कोही छेउछाउ जान राेकिए। कोही सुँक्कसुँक्क रोएजस्तो सुनिँदै थियो। साँच्चै गोरेको हालत बहुत गम्भीर थियो। टाउको सुनिएर दुईगुणा ठूलो भएको थियो। दुई पट्टीका गाला पुक्क उचालिएका थिए। टाउको ठूलो कुभिन्डो जस्तो। नाक र मुख छोपिएकाे थियाे। मैले त्यो मानिस हेर्नै सकिनँ।
साहुजन बाेल्याे, 'इसकाे इनाेने अभितक क्यों कुछ नही किया, इतना जख्मी होनेके बावजुद भी!'
ऊ छक्क परिरहेको थियाे। ठुल्ठूलाे स्वरमा कराइरह्याे। हुनपनि गोरेलाई ग्लुकोस् ड्रपबाहेक अरू केही उपचार गरेजस्तो लागेन। हामीहरूबीच कसैले फ्याट्ट भन्यो, 'आफ्ना मान्छेहरू कोही नआइपुगेर होकि..! अस्पताले इलाज सुरु नगरेको।'
हामीहरू अन्याैलमा थियाैं। वार्ड बाहिर अल्झिरहेका थियाैं।
मेरो साहु काउन्टरतिर गयो। ऊ भारतीय मूलकाे हाे। तर मानिस त मानिस नै हाे। फटाफट नर्सतिर गयाे। लामो छलफलपछि बल्ल राहतको सास फेर्याे। हामीहरूले लामाे सास फाल्याैं।
मैले गोरेको लम्पसार शरीरलाई नियालिरहेँ। टाउकोको हेयर–स्टाइलले चिनेको रहेछ, गोरेलाई मेरो साहुले। मैले पनि बल्ल राम्ररी ठम्याएँ। ऊ चाँडै उपचारकाे आशा बाेकेर त्यहाँबाट फर्कियाे।
हिजोको ऊ र आजकाे ऊ बेग्लै छ। दैवको कस्तो खेल! टोलाई रह्यौं हामी। विदुरले समयचक्रलाई उल्टा घुमाउँदै बसिरह्याे।
०००
भित्र गाेरेकाे उपचार भइरहेकाे छ। बाहिर उसकाे विगत फर्केर हेरिरह्याैं।
ग्राहक बोलाउन सिपालु गोरे। सरदारको एउटा टेलर पसलमा काम गर्थ्यो। उसकाे काम देखेर महाजन प्रभावित थियाे। गोरेलाई म्यान्मारकाे रङ्गुन पुगेर पासपाेर्ट बनाउन सुनाैलाै अफर दिए छ। त्यसपछि उसका खुट्टा भुइँमा रहेनन्। त्यही रात गोरे बियरका ५–६ वटा बोतल बाेकेर विदुरको काेठामा आउँछ। प्रगति सुनेर अलिअलि इर्स्या नलागेको पनि कहाँ हो र! तर काेठका साथीहरू खुशी हुनैपर्ने थियाे।
साथीहरूकाे विश्वास जित्न सक्ने गाेरेले साहुकाे पनि जिते छ। त्यस्तो अफर दिनु निकै दुर्लभ मानिन्थ्यो। त्याे साँझ विदुरसँग बियरको आडमा निकै नाच्याे ऊ। रातिसम्म पाटी चल्यो। ऊ हिरो बन्याे। विदुरकाे मानसपटलमा त्यो रात अझै ताजा छ।
खुशीले गद्गद् थियो, गाेरे। त्यसैपनि हँसिलो र हँसाउने कलामा निपूर्ण मान्छे, ऊ। कुनै पनि स्ट्यान्डअप हाँस्य कलाकारभन्दा कम थिएन। झन् यस्तो उपलब्धि पाउँदा कस्तो फुरुङ्ग–फुरुङ्ग थियाे उसकाे मन।
चल्दै गरेको घडीको सुइझैँ घुम्दै गयो, समयचक्र। ऊ पनि उड्यो रङ्गुन। त्यो समयमा पासपाेर्ट लिन जाँदा रङ्गुनमा खुब मस्ती गर्ने चलन थियाे। गाेरेले पनि गर्याे। दुई महिनाको अन्तराल पछि ऊ फर्कियाे।
०००
गाेरे मेरै साहुकाे पसल छेउमा काम गर्छ। उसकाे कला राम्राे छ, बिक्री गर्न जानेकाे छ। साहु पनि उसलाई पासपाेर्टको खर्च दिएर लगानी गर्न चाह्याे।समय बित्दै गयो। गाेरेले मन जित्दै गयाे। ऊ ग्राहक बोलाउने स्तरबाट 'सेल्स्म्यान' बन्न पुग्यो।
ऊ पहिले अर्काे पसलमा ग्राहक बोलाउने काम गर्थ्याे। एकदिन उसले तलब बढाउन मुख फोर्याे। साहुको अनुहार रातो भयो। हिन्दीले निकै होच्याएर बाेल्याे। गोरे रन्फनिँदै सुनाउँथ्याे, बेलाबेला रिसले चुर हुँदै। झाेकमै गोरेले सरदारको काम छाेडिदियाे। गोरे इमान्दार थियाे। अझै ठूलो पसलमा काम गर्ने निधो गर्याे।
गोरेका काेठे–साथीहरू त्यहाँ पनि छक्क परे। जुन पसलमा काम गर्न उनीहरू कल्पना मात्रै गर्न सक्थे, त्यहाँ गोरे 'सेल्स्म्यान'मा जाेडियाे। कहिलेकाहीँ 'काला गए, गोरा आउँछन्' भन्ने सिद्धान्त लागू हुँदो रहेछ।
भर्खंरै सुरु गरेको नयाँ कामको साहु पनि गोरेको हाउभाउ र फुर्तीपन देखेर प्रभावित थियो। निमा रुम्बा चर्चित नेपाली पप गायकको हुबहु नक्कल गर्थ्यो ऊ। एकपछि अर्को खुशी बटुल्दै थियो। नयाँ काम त्यस्तै एक–दुई दिन काम मात्रै गर्याे, उसले।
०००
एक समय। राति १२ बजेतिर गोरेको काेठाको ढोका ढक्ढक गर्छ। जब ऊ बाहिर निक्लेर हेर्छ, उसकै बच्पनको गाउँले साथी कैलाश देख्छ। कैलाश बैंककमा गोरेजस्तै गाइडकाे पसलमा काम गर्थ्यो। कैलाश पनि आफ्नो प्रगतिलाई लिएर धेरै खुशी थियो। त्यसैले साथीसँग भेटघाटका लागि गोरेकहाँ आएको रहेछ।
गोरेलाई रातिको १२ बजे घुम्न जान आग्रह गर्छ– कैलाश। बल्लतल्ल गाउँको साथी भेटेको भएर नाइँ भन्न सक्दैन।
झन्झन् रात छिपिँदै जाँदा हुइँकिन्छन्– गाडी, माेटर। बैंकक देखिन्छ, झिलिमिल। जताततै भेटिन्छिन्, रातकी राजकुमारीहरू। मानिसहरू धेरै रमाउँछन्। रमाउन रूचाउँछन्। किनकि, माहाेल उस्तै छ। उस्तै रहन्छ।
बिहानको ५ बजेसम्म गाेरेहरू त्यहाँ समय बिताउँछन्। अतीतका यादहरू सन्मुद्री छालजस्तै उर्लिरहे। आन्तरिक मन माझ्ने गफहरू बिसाइरहे। उनीहरू मजैले बाेकिरहे, जसरी तट पाउँदा थामिएका छाल झैँ।
कतिबेर रिमझिम भयो, पत्तै भएन। बियर पिउँदै समुन्द्री तटमा गफ गर्नुको आनन्द ग्लै हुँदो रहेछ क्यारे। त्यो पनि एक सुनसान ठाउँ अनि जुनेली रातमा। अझै आफ्नो गाउँले साथीसँग वर्षौंपछि भेटेको, त्यस्तो अवसर।
एकाबिहानै ५ बजे उनीहरूलाई दक्षिण–दिशाकाे अर्को पर्यटकीयस्थल जान मन लाग्याे। जहाँ उनीहरू बसिरहेको तटभन्दा लगभग २५ किलोमिटर टाढा छ। उनीहरू दुबैजना बियरको मातमा झम्म थिए। गोरे गाउँमा जन्मिएकाे मान्छे। ऊ राम्राे माेटरसाइकल पनि चलाउँथ्याे। चालक बन्ने जिम्मा आफैँले लियो। तर लगभग ६ किलोमिटरको सफरपछि एकाएक कैलाश माेटरसाइकल चलाउन मच्चियाे। लिँडेढिपी गर्याे।
गोरे मानिरहेकाे थिएन। तर कैलाश जब्बर निस्कियाे। मात्तिएकाे ऊ कुरै सुन्न तयार भएन। चाबी समातेर माेटरसाइकल चलाउने जिम्मा लियाे, कैलाशले। मिरमिरे उज्यालाे। बियरको मात। तट छेउमा चलिरहेकाे सिरेटो। राेडमा आस्ते–आस्ते चलाउँदा–चलाउँदै एक्कासी कैलाशले माेटरसाइकलकाे स्पिड बढाउँछ।
कैलाश झन्भन्दा झन् बेकाबु हुँदै जान्छ। पछाडिबाट गोरेले सचेत गराउँदा–गराउँदै पनि कैलाशलाई केही प्रभाव पर्दैन। अचानक अगाडिको चक्का लर्बरिन थाल्छ। र दुई ज्यान सवारी भएको, त्यो वाहनले सन्तुलन गुमाउँछ।
ला... एक्कासी चट्याङ पर्छ। माेटरसाइकल सडक छाेडेर बिजुलीको खम्बामा जोतिन्छ।
०००
एकाएक सन्नाटा छाउँछ। मिरमिरे बिहानीको त्यो प्रहरमा अन्य गाडी र माेटरबाइकहरू त्यति दौडिरहेका हुँदैनन्। निकै बेरसम्म उनीहरूको मद्दतका लागि त्यहाँ कोही आइपुग्दैन। नजानी–नजानी दुर्घटनामा परेका गाेरे र जानी–जानी बाइक हाँकेका कैलाश एकैपटक सडककाे शिकार हुन्छन्।
मनभरि अभिलाषा र सपना बोकेर म्यान्मारबाट प्रवास छिरेका दुईजना युवाहरूकाे सुन्दर भविष्यमा कालो ग्रहण लाग्याे। टुक्रियो सपना। भत्कियो योजना। र थन्किनुपर्याे अस्पतालकाे शैय्यामा। एउटा नेपाली गीतजस्तै बन्याे, याे जीवन– 'कर्कलाको पानी जस्तो हाम्रो जिन्दगानी।'
सडक–छेउका भिक्षुहरूले बाइक खम्बामा बज्रेकाे आवाज सुन्छन्। चिच्याउँछन्। कैलाश त ठाउँका ठाउँ ढल्छ, ऊ नउठ्नेगरी सदाका लागि निदाउछ। उता गोरे छटपटाइरहेको हुन्छ। भिक्षुले एम्बुलेन्स बोलाएर अस्पतालसम्म पुर्याउँछन्।
याे गाेरेकाे कहालीलाग्दाे कथा हाे। सग्लाे गाेरे अस्पतालसम्म पुगेकाे एउटा अँध्यारो बिहानीकाे कथा हाे।
०००
जब हामीहरू अस्पतालमा थियाैं, गोरेका आफन्तहरूलाई फोन गर्न लाग्यौँ। लाग्छ, यस्ताे खबर कसैलाई सुनाउन नपराेस्। साथीले भाेगिरहेकाे व्यथा सुनाउँदा पीडा हुन्छ। तर हामी सबैले जसोतसो आफन्तहरूलाई खबर गर्याैं। उता कैलाशको शवलाई अस्पतालबाट निकालेर सद्गत गर्न लागिपर्छाैं। बैंककका कतिपय गाेर्खालीहरूलाई बाेलाउँछाैं। अबेरसम्म अस्पतालमा बसेर थुप्रै कुराको तारतम्य मिलायौं।
बैंककमा एउटा गाेर्खालीकाे कथा सकियाे। कैलाश सकियाे। र हाम्राे सामुन्ने पीडापूर्ण परीक्षाकाे घडी बाँकी नै छ। जहाँ गाेरे उपचाररत छ। त्याे क्षण हामी सबै भावुक भयाैं। भित्रकाे चिसाे अपरेसन टेबलमाथि ऊ बेहाेस छ। मैले चाहिँ रणभूमिमा रहेकाे महसुस गरेँ। लाग्थ्याे, हामीहरू म्यान्मारकाे जुन्ता सैनिक र नागरिक लडाइँभित्र ट्याकं, गाेला–बारूद र धूवाँले घेरिएका छाैँ।
०००
भोलिपल्ट मेरो साहु र अर्को एउटा सरदार अनि केही गाेर्खालीहरू पुगेकाे खबर प्राप्त गरेँ। लगत्तै, मपनि उतै कुदेँ। विदुरलालाई पनि उर्दी गरेँ। गाेरेकाे रिपोर्ट आउने बेला भएकाे थियाे। रिपोर्ट पर्खेर बसिरहेका थियाैं।
टाउकोमा अनगिन्ती शल्यक्रिया गर्नुपर्ने रहेछ। डक्टरहरू पनि माैन थिए, त्याे पनि प्रवासी मजदुर देखेर। ऊ निकाे हुने आशामा बाँचिरहेका थियाैं। समय आफ्नै रफ्तारमा चलिरहेको थियो। पालैपालो हामी गोरेलाई हेर्न अस्पताल जान्थ्याैं। साथीकाे मायाले निक्कै पाेल्थ्याेा। तर ऊ बाेल्दैन्थ्याे। हाम्राे कामना थियाे, छिट्टै राम्राे बनाेस्।
प्रायः आइतबार उसलाई भेट्न जान्थ्याैं, हामी। केही समयको अन्तरालपछि शारीरिक इशाराले सम्पर्क गर्न सक्ने भएको थियाे, गाेरे। बेलाबेला कैलाश सम्झेर रून्थ्याे। हामीहरू माैन हुन्थ्याैं। बाेल्न सक्दैन्थ्याे, ऊ। घाँटीमा प्वाल पारेको थियाे। हामीलाई मनकाे कुरा लेखेर देखाउँथ्याे। उसकाे अवस्था देखेर हामीहरू पनि रून्थ्याैं।
टाउकोको आकार बेग्लै थियो। पहिले जस्तो थिएन। मुख बाङ्गिएको थियो। दाँत थोरै थिए। लगभग २–३ महिनासम्म अस्पतालमै सुत्याे। तर हिँड्डुल गर्न कष्ट गर्नुपर्थ्याे। महिनाैंपछि काेठाबाटै अस्पताल जाने भयाे, गाेरे। हामीरू निकै खुशी भयाैं। सकेजति सहयाेग गर्थ्याैं। तर गोरे पहिलेजस्तो कहिल्यै भएन। अस्पताल दिनदिनै जानुपर्थ्याे। ऊ पुरानाे काममा पनि फर्किएन। फर्किनै मानेन। दुःख गरेर पैसा कमाउन बैंकक छिरेकाे गाेरे उल्टै थलियाे।
धेरैपछि अर्कै काममा फर्कियाे। तर सानाे पसलमा। त्यहाँ ग्राहक बोलाउँथ्यो। सामान बेच्थ्याे। धेरै महिनासम्म डाक्टरकाे निगरानीमा रह्याे। दबाइ–पानी खाइरह्याे। मनकाे तनाब थेग्न नसकेर रक्सी धेरै पिउन थाल्याे। स्थल फेर्दै, साहु फेर्दै, पसल फेर्दै ऊ हिँडिरह्याे। म्यान्मार फर्किनै मानेन। गाेरेले ३–४ वर्षसम्म नर्ककाे जीवन बाँच्याे। बैंकक बसाइँले उसकाे रूपै फेरिसकेकाे थियाे।
अन्ततः गाेरेले एक दिन याे धर्तीबाट विश्राम लियाे। थाइल्यान्डकाे दक्षिणा भेगमा रहेक चर्चित पर्यटकीयस्थलमा काम गर्दागर्दै अन्तिम सास फेर्याे। र यसरी दुर्घटनामा परेका दुई काबिल युवाहरूको दर्दनाक कहानी थाइल्यान्डमै सकिन्छ। आखिर के रहेछ जीवन? जन्मियाे, संघर्ष गर्याे, दुःख पायाे अनि अकालमै मर्याे।
०००
भाग्यको खेल मानौँ वा आफैँद्वारा निर्मित एउटा नियति भनौं। छुट्याउन सकेकाे छैन। गाेरेसँगका तमाम दृश्य सम्झन्छु। कल्पिन्छु। भावुक बन्छु। समय चक्रलाई उल्टाे घुमाउन मिल्ने भए म हर–प्रयास गर्थेँ। तर जिन्दगीले मौका कहाँ दिन्छ र? रिटेक गर्न नमिल्ने, पेनाल्टीजस्तै रहेछ, जीवन।
शान्तिप्रिय र सोझा छन्, रैथाने मानिसहरू। सहनशील स्वभावका असल छन्। हाम्रा शास्त्रहरूमा लिपिबद्ध भएको 'अतिथि देवोभवः 'जस्ता नाराहरू व्यवहारमा देखिन्छ। तर यहाँ पनि अरू देशमा झैं अँध्यारf पक्षहरू पनि छन्। यी पक्षहरूबारे व्यापक रुपमा सबैलाई ज्ञात भएकै हाेला। रक्सीले ज्यान गुमाएका युवाहरूको सूची लामो छ। अतीतका घटनाबाट केही झिक्न वा सिक्न सकिन्छ।
एचआईभी र ऐड्स सङ्क्रमणको रेट पनि निकै उच्च छ। असुरक्षित यौन क्रियाकलापले ज्यान गुमाउनेहरू पनि धेरै छन्।
दुर्घटनापछिको गोरेको जीवन धेरै कष्टकर थियाे। बाँच्नलाई उसले ठूलाे संघर्ष गरेकाे छ। नियतिको खेल विचित्रको हुँदो रहेछ। कमाउन भन्दै आएका युवाहरू चुनौतीसँग लडिरहेका छन्। ज्यान बेचेर धन कमाउन कहाँ पाे सजिलाे छ र।
अहाे! थुप्रै शब्द लेखे छु। निकै तन्कियाे। तर याे कथा हाेइन, एउटा गाेर्खालीकाे व्यथा हाे। मान्छेका आ-आफ्नै कहानी हुन्छन्। लेख्दै जाँदा किताबै बन्छन्, काेर्दै जाँदा एउटा 'पूर्ण कथा' बन्छ। भाे अब पूर्ण विराम लगाएँ।
जब थाइल्यान्डमा म नयाँ-नयाँ आएको थिएँ, तब एक सज्जन भन्ने गर्थे- हामीहरू 'थ्री–ए' बाट तर्कनुपर्ने हुन्छ।
पहिलो– A (ए) alcohol
दोस्रो– A (ए) Accident
र तेस्रो– A (ए) चाहिँ Acquired Immunodeficiency Syndrome अर्थात् AIDS !