म्यान्मारका लागि दुःखदायी वर्ष २०२१ लाई फर्केर हेर्दा

बिएल संवाददाता

रंगुन, म्यान्मार

म्यान्मारको सेनाले जननिर्वाचित सरकारमाथि ‘कू’गरी देशलाई आफ्नो नियन्त्रणमा लिएको एकवर्ष पुग्न एकमहिना मात्रै बाँकी छ।

प्रजातान्त्रिक नेत्री आङ सान सुकीलगायतका उच्च नेतृत्वलाई पक्राउ गरी ‘सैन्य–जुन्ता’ले हालसम्म नजरबन्दमा राखेको छ। आम–चुनावलाई लिएर जनसरकार र सेनाबीच विवाद हुँदा  स्वतन्त्र नागरिकले क्रूरता भोगिरहेका छन्।

सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले पटकपटक शासन गर्दैआएको छ। सकी नेतृत्वको नेशनल लीग फर डेमोक्रेसी पार्टीले बहुमत प्राप्त पाएपछि सेनाले धाँधली भएको आरोप छ। 


बर्मेलीहरूकाे खाेजी–खाेजी हत्या

Photo - RFF

सैनिक 'जुन्ता' समर्थक समूहले 'कू'काे विराेध गर्ने नागरिकहरूकाे खाेजी–खाेजी हत्या गरिरहेकाे छ। सैन्य शासकलाई समर्थन गर्ने नागरिकबाट दुई दर्जनभन्दा बढी बर्मेली नागरिकहरूको यसैसाता मृत्यु भएकाे अधिकारीहरूले बताएका छन्।

सैनिक सत्ताविरूद्ध विद्रोह गरिरहेका प्रजातन्त्रवादीहरूमाथि सैनिक समर्थकहरूले सेनाकाे आडमा क्रूर ज्यादती थालेका छन्। सागिङ, मण्डले र उत्तरी शान राज्यमा सैनिक नरसंहारका क्रममा धेरैले ज्यान गुमाएका छन्– जहाँ जुन्ताकाे सबैभन्दा कडा विरोध भइरहेकाे छ।

म्यान्मारमा गत १–फेब्रुअरी​​मा सेनाले निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि देशभर अशान्ति फैलिएकाे छ। बैङ्ककस्थित राजनैतिक कैदीहरूको लागि सहयोग गर्ने एक संगठनकाअनुसार गत फेब्रुअरीदेखि हालसम्म १ हजार ३ सय ६५ बर्मेली नागरिकहरूकाे हत्या भएकाे छ।

मर्नुअघि ७ वर्षीया खिनको अन्तिम वाक्य, ‘भो बुवा अब खप्न सक्दिनँ’ 

तानाशाहको आँखा हुदैन। मन पनि हुदैन। न त भावना हुन्छ, न संवेदना नै। 

उसँग हुन्छ त केवल हिंसा र क्रुरताको डरलाग्दो हतियार। जसले मानवीय भूगोल, जीवन र सभ्यतालाई नै खतरामा पुर्‍याउने डर हुन्छ।

१ फेब्रअरी २०२१ म्यान्मारमा सेनाले सत्ता कब्जा गरेपछि थुप्रै दुःखद घटना घटे। अहिले पनि यो रोकिएको छैन। यसैबीच मानवीय संवेदनालाई बिछिप्त पार्ने एउटा घटना माण्डले शहरमा गत २३ मार्चमा घट्यो। 

सेनाले ७ वर्षीया बालिका खिन म्यो चितलाई बुवाको काखमा भएको बेला गोली ठोकी हत्या गर्‍यो। जुन घटनाले मानव सभ्यतामाथि नै प्रश्न चिन्ह खडा भएको छ। 

सत्ताको उन्मादमा सेना गाउँ–टोलमा छापा मार्दै खिन म्योको घरसम्मै पुगेको थियो। सैन्य खानतलासीका क्रममा अतालिएकी म्यो दौँडिदै बुबाको काखमा घुस्रिएकी थिइन। तर, सेनाले बाबुलाई गोली ताक्दै ‘फायर’ गरेपछि काखमा रहेकी खिन म्योको पेटमा गोली लाग्यो। 

उनी बुवाको काखमा रुदैँ छटपटाइरहिन्। तर, उनलाई उद्दार गर्न कोही अगाडी बढेनन्। अन्ततः रगतले लतपत्तिएकी खिन म्योको बुवाकै काखमा निधन भयो। म्योका बुवाले अन्तिमसम्म छोरी छट्पटाइरहेको बताएका थिए। उनले भनेका थिए, ‘छोरीले रुदैँ दुख्यो बुवा म सक्दिनँ खप्न भनिन्।’

सेनाद्वारा गर्भवती महिलाको हत्या

मार्च १३ का दिन विरोध प्रदर्शन गरिरहेकी एक गर्भवती महिलालाई सेना गोली ठोकी निर्मम हत्या गरेको थियाे। ती गर्भवती महिला माण्डलेमा भएको प्रदर्शनमा उत्रिएकी थिइन्। उनीसँगै प्रदर्शनमा पाँच प्रदर्शनकारीको निधन भएको थियो।

बर्मेली नागरिकमाथि सेनाको बर्बरताको यो जिउँदो नमुना भएको भन्दै देशी तथा विदेशी अधिकारकर्मीले विरोध जनाएका थिए।

साथीसँग खेलिरहेकी १६ वर्षीया किशोरीको हत्या

Photo - RFA Burmese

सेनाले माण्डले शहरको चाउँजी गाउँमा मार्च १२ का दिन दिउँसो गोली हानेर १६ वर्षीया किशोरीको हत्या गरेको थियाे।

बिहानैदेखि अशान्त चाउँजीमा बन्दूकको आवाज सुनेपछि किशोरी म्या थिदा एए साथीको घरमा पुगेकी थिइन्। एकछिन खेलेर साथीसँगै फर्किने क्रममा घरनजिकैको डाँडामा सेनाले गोली प्रहार गरी उनको हत्या गरेको थियाे।

उनीसँगैकी साथीको भने औँलामा चोट लागेको थियाे। 

एकैदिन ११४ प्रदर्शनकारीकाे हत्या

Photo - Reuters

गत अप्रिलमा प्रजातन्त्रकाे समर्थनमा उत्रेका कम्तीमा ११४ प्रदर्शनकारीकाे गाेली हानी हत्या गरियाे। सेनाले ७६ औं सशस्त्र फौज दिवसका अवसरमा याे वर्षकै रक्तपात दिन मानिएकाे छ।

प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै सडक आन्दोलनमा सहभागी स्वतन्त्र नागरिकमाथि सुरक्षा फाैजले चलाएकाे गाेली लागेर एकैदिन देशका विभित्र शहरमा थप ११४ भन्दा बढी मारिएका थिए।

ज्यान जोगाउन बंकर

कचिन स्वतन्त्र सेना (केआईए) र सरकारी सेनाको गोलावारीबाट जोगिन शरणार्थीहरुले टोल–टोलमा बंकर बनाएका छन्। गत मार्चदेखि उनीहरू शरणार्थी शिविरमा बस्नै सकेनन्। 'सैन्य कू' पछि गाउँ–गाउँमा विद्रोही संगठनहरू सक्रिय छन्।

राज्यविरुद्ध विद्रोह गरिरहेको कचिन स्वतन्त्र सेना (केआईए)ले सरकारी सुरक्षा फौज लक्षित कारवाही सुरु गरेको हाे। सरकारी सुरक्षा फौजको गोलाबारीले शरणार्थी शिविरनजिकै विस्फोट भएपछि थ्रुपै मानिस घाइते भएका थिए।

म्याग्वेमा दर्जनौं गाउँलेको हत्या

सत्ताधारी सेनाले म्याग्वेस्थित गांगका दर्जनौं निर्दोष गाउँलेहरूको हत्या गर्‍यो। गत जुलाई–१६ का दिन सेनाले आक्रमण गर्दा २० भन्दा बढी स्थानीयहरूको मृत्यु भयो।

सैन्य ‘कू’विरूद्ध बर्मेली नागरिकले जनयुद्धको घोषणा गरेपछि सरकार र सशस्त्र समूह पीपुल्स् डिफेन्स फोर्सबीच दोहोरो भिडन्त आज पनि कायमै छ।

सेनाले सोही महिनाको १२ गते म्याग्वेको अर्को एक गाउँमा आगो लगाएको थियो। आगोले ४० भन्दा बढी घर जलेका थिएभने जहाँ ३० प्रहरीसहित ३५ जना मारिएका थिए।

दिनभर हिंसा, रातभर भव्य भोज

सेना हालसम्म निर्दोष नागरिकमाथि बर्बर दमन गरिरहेको छ। गत मार्च २८ शनिबार साँझ म्यान्मार सेना प्रमुख तथा ‘कू’का नाइके मिन आङ लाइङले भव्य भोजको आयोजना गरेका थिए। सेना प्रमुख मिनले 'सशस्त्र बल दिवस'को अबसरमा उक्त भोज आयोजना गरेका थिए। 

एकातिर ‘कू’काे विराेध उत्रिएका  नागरिकहरूकाे हत्या भइरहेकाे थियाे, अर्कातिर सेनाले भोजको आयोजना गर्‍यो।

प्रकाशित मिति: : 2021-12-31 20:25:00

प्रतिकृया दिनुहोस्