गत साता जम्मु-कश्मिरको पहलगाममा आतंकवादी आक्रमणपछि भारत-पाकिस्तान फेरि एकपटक युद्धका तयार भएको संकेत दिइरहेका छन्। गत मंगलबार द रेसिस्टेन्स फ्रन्टका आतंकवादीहरूले त्यहाँ घुम्न गएका २६ जना पर्यटकको हत्या गरेका थिए। त्यसमा एक जना नेपाली पनि मारिए।
यो घटनापछि भारत र पाकिस्तान फेरि एकपटक आमने-सामने देखिएका छन्। घटनापछि भारतीय सेनाले जम्मुकश्मिरमा सुरक्षा अपरेसन तीब्र बनाएको छ। केही आतंकवादीहरू मारिएको दाबी पनि भारतले गरेको छ। सिमानामा दुई देशका सैनिकहरूबीच गोलीवारी पनि भइरहेको छ।
उक्त आतंकवादी संगठनलाई भारतले पाकिस्तानको सेनाले समर्थन गरेको आरोप लगाएको छ भने पाकिस्तानले त्योसँग कुनै सम्बन्ध नरहेको दाबी गरेको छ।
तर यो बीचमा दुबै देशले एकअर्काविरुद्ध कडा कदमहरू अघि सारेका छन्। दुबै देशले एकअर्को देशका नागरिकलाई देश छोड्ने आदेशदेखि कैयौ सन्धी सम्झौताहरू खारेज भएको घोषणा गरेका छन्।
आम नागरिकमा भने फेरि भारत-पाकिस्तानबीच युद्ध हुने हो कि भन्ने भ्रम छ।
साँच्चिकै युद्ध भयो भने के हो? भारत र पाकिस्तानको सैन्यशक्ति कस्तो छ?
आज हामी यसबारे चर्चा गर्नेछौं।
खासमा भारत र चीन दुबै आणविक हतियारका धनी राष्ट्रहरू हुन्।
चीन र अमेरिकापछि भारत विश्वको सबैभन्दा धेरै सैनिक भएको देश हो। एशियाली राष्ट्रहरूमा त भारत पहिलो नै हो। भारतसँग लगभग १२ लाख सैनिक छन्। त्यसका अलावा एक लाखभन्दा धेरै आरक्षित सैनिक छन्। त्योभन्दा धेरै २० लाखभन्दा बढी अर्धसैनिक बल छ। भारत-पाकिस्तान सिमा तथा अरु देशका सिमानाहरूको रक्षार्थ यो फोर्सलाई खटाइएको छ।
त्यस्तै २५ हजार भन्दा गोर्खा सैनिकहरू छन्। यी भनेका संसारकै खतरनाक मानिन्छन्। तीमध्ये धेरै नेपाली नै हुन्।
लभगग एक अर्ब ४६ करोड जनसंख्या भएको भारत अरु पनि विभिन्न प्रकारका सैन्य शक्तिहरू सञ्चित छन्।
लगभग साढे २५ करोड जनसंख्या रहेको पाकिस्तानसँग ८ लाखभन्दा धेरै सैनिकहरू छन्। भारतसँग तनाव बढ्दै जाँदा उसले सैन्य संख्या पनि थप गर्दै जान्छ। लगभग २ लाख जति आर्मी नेशनल गार्ड राखेको पाकिस्तानले करिब लाख जति आरक्षित सैनिक राखेको छ।
भारतभन्दा कैयै गुणा कम रक्षा बजेटमा काम गर्ने पाकिस्तानले आफ्ना सेनालाई भने निकै मजवुत राख्छ। भारतले चालु आर्थिक वर्षका लागिमात्रै लगभग ६३ खर्बभन्दा धेरै रक्षा बजेट छुट्याएको छ। पाकिस्तानले लगभग ५० हजार करोड जति रक्षा बजेट खर्च गर्छ।
हातहतियारका हिसाबले पनि पाकिस्तानभन्दा भारत अलि अघि नै छ। भारतीय सेनासँग लगभग ५ हजार सैन्य ट्याङ्कहरू छन्। ७ हजारभन्दा धेरै बख्तरबन्द सैन्य बहानहरू छन्। ३ सयभन्दा धेरै रकेट लन्चरहरू छन्। त्यस्तै पाकिस्तानसँग ३ हजारजति सैन्य ट्याङ्कहरू छन्। ३ हजारजति बख्तरबन्द र १५० जति रकेट लन्चरहरू छन्।
भारतीय सेनासँग लगभग २ हजारभन्दा धेरै लडाकु एयरक्राफ्टहरू छन्। भारत विश्वकै चौथो ठूलो एयरफोर्स मानिन्छ। पाकिस्तानसँग भने लगभग १ हजारभन्दा धेरै त्यस्ता एयरक्राफ्टहरू छन्। ५० भन्दा धेरै एएचवानएस लडाकु कोब्रा हेलिकोप्टरहरू राखेको पाकिस्तानले पनि आफू सबैभन्दा शक्तिशाली एयरफोर्स भएको दाबी गर्छ। त्यस्ता आक्रमण गर्नेखालका लगभग ४० वटा हेलिकोप्टर भारतसँग पनि छन्।
विश्वमा जलसेनाको शक्तिमा भारत नै अघि छ। त्यसका लागि लगभग ७०हजार जलसेना भारतसँग छन्। पाकिस्तानसँग भने लगभग २६ हजारमात्रै त्यस्ता सैनिकहरू छन्। भारतीय जलसेनाले सामुद्रिक हतियारहरू पनि उत्तिकैमात्रामा राखेको छ। त्यसको तुलनामा पाकिस्तानसँग अलि कम सामुद्रिक हातहतियार छन्।
आणविक हतियारमा दुबै देशले आआफू नै शक्तिशाली रहेको दाबी गरे पनि त्यसमा पाकिस्तान शक्तिशाली छ।
हालका दिनमा युद्ध भइहालेमा त्यसको प्रयोग सबैभन्दा घातक र बिनासक मानिन्छ। दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमाथि त्यस्तै खाले आणविक बम खसालेको थियो। जसको प्रभाव अहिलेसम्म पनि छ।
विश्व शक्ति राष्ट्रहरूले सकेसम्म यस्ता युद्धमा आणविक हतियार प्रयोग नगर्न दबाव दिँदै आएका छन्।
भारत र पाकिस्तान दुबैले आणविक हतियार प्रहार गर्नसक्ने क्षेप्यास्त्र पनि विकास गरिरहेका छन्। भारतसँग १० भन्दा धेरै त्यस्ता अपरेशनल मिसाइलहरू छन्। योमध्ये सबैभन्दा खतरनाक अग्नी-३ हो जसले ५ हजार किलोमिटरसम्म मार हान्नसक्छ।
त्यस्तै प्रकारको क्षेप्यास्त्र ‘द सासिन २’ भन्ने क्षेप्यास्त्र पाकिस्तानसँग पनि छ। जसले ३ हजार किलोमिटरसम्म मार हान्ने क्षमता राख्दछ।