भुटानी शरणार्थी प्रतिनिधिले शरणार्थीको ट्राभल डकुमेन्ट बनाउन सिफारिस दिन सात लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएकाे छ। भुटानी शरणार्थी शिविर बेलडाँगीको शिविर निरीक्षण टिमका संयोजक प्रेमकुमार भट्टराईले निःशुल्क बन्ने सिफारिसका लागि सात लाखको बार्गेनिङ गरेको अडियो रेकर्ड फेला परेको हो।
पुनर्वास भएर अमेरिका पुगेकी भुटानी शरणार्थी लोकमाया अधिकारीसँग उनका बुबाआमाको ‘ट्राभल डकुमेन्ट’ बनाउन भट्टराईले सात लाख रुपैयाँ माग गरेका हुन्।
उनका ८७ वर्षीय बुवा डिल्लीराम अधिकारी र ८० वर्षीया आमा नरमाया शिविरमा एक्लै छन्। उनीहरूलाई शिविरमा बस्दा खाना खुवाएर दिनेसमेत काेही नभएपछि लोकमायाले ‘स्पोन्सर’मा अमेरिका लैजाने तयारी गरेकी थिइन्। स्पोन्सरका लागि सम्पूर्ण तयारी सकिए पनि ‘ट्राभल डकुमेन्ट’ बन्न सकेको छैन। ट्राभल डकुमेन्टका लागि शिविर सुपरीवेक्षकले सिफारिस दिनुपर्छ। त्यो सिफारिस जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालयमा पुग्छ। गृहले राहदानी विभाग ट्राभल डकुमेन्टका लागि सिफारिस पठाउँछ। गृहसम्म जाँदा एक रुपैयाँ पनि पैसा नलाग्ने गृह मन्त्रालयले जनाएको छ।
भुटानी शरणार्थी शिविरमा सुरेन्द्रराज दाहाल सुपरीवेक्षक छन्। प्राप्त अडियोमा भट्टराईले लोकमायासँग गरेको संवादमा दाहालले नै अह्राएर बार्गेनिङ गरेको प्रष्ट हुन्छ।
‘उहाँ (शिविर सुपरीवेक्षक)मार्फत जोडिएर उसले भने जति रकम दिनसक्ने भए काम गर्ने जिम्मा मेरो हो। डकुमेन्ट बनाएर घरसम्मै ल्याइदिन सक्छ। छ/सात लाख भयो भने काम गर्न सकिन्छ,’ लोकमायासँगको सम्पर्कमा भट्टराईले भनेका छन्।
भट्टराईले सम्पर्क गरेलगत्तै शिविर सुपरीवेक्षक दाहालले लोकमायालाई सम्पर्क गर्दै भट्टराईले पठाएको म्यासेज हेर्न आग्रह गरेको अडियो प्राप्त भएको छ। त्यसपछि म्यासेज हेर्दा भट्टराईले पैसा जम्मा गर्न खाता नम्बरसहितको सुकमाया सुब्बाको नाममा रहेको सिद्धार्थ बैंकको चेक पठाएको लोकमाया बताउँछिन्। सुकुमाया प्रेमकुमारको श्रीमती हुन्।
वृद्ध बुबाआमालाई हेरचाहका लागि लैजान खोज्दा ‘ट्राभल डकुमेन्ट’ बनाउन सात लाख मागेको लोकमायाले आरोप लगाइन्। अमेरिकामा रहेकी उनले टेलिफोन सम्पर्कमा सात लाख बुझाउन नसक्दा बुवाआमालाई लैजान नसकिएको गुनासो गरिन्।
‘बुवाआमा वृद्ध हुनुहुन्छ। बिरामी हुनुहुन्छ। खाना बनाएर खान पनि सक्नुहुन्न। खाना पकाएर दिने पनि छैनन्। सँगै ल्याउँ भनेर प्रोसेस अघि सारेको ट्राभल डकुमेन्ट सिफारिसका लागि सात लाख माग्नुहुन्छ,’ उनले टेलिफोन सम्पर्कमा भनिन्, ‘हामीसँग सात लाख कहाँबाट हुन्छ ? शरणार्थी भएर गएका हामीलाई खान पनि धौ-धौ हुन्छ। घर भाडा तिर्न खान नै मुस्किल हुन्छ। कहाँबाट ल्याउने त्यत्रो पैसा।’
शिविर सुपरीवेक्षक दाहालले यसअघि पनि भुटानी शरणार्थीलाई विभिन्न बहानामा दुःख दिएको शरणार्थीले गुनासो गर्दै आएका छन्। यद्यपि दाहालले भने अधिकारी दम्पतीलाई दातृ निकाय युएनएचसीआरले अस्वीकार गरेकाले ट्राभल डकुमेन्टका लागि सिफारिस गर्न नमिल्ने बताए। उनले कसैसँग पैसाको बार्गेनिङ नगरेको दाबी गरे। यद्यपि शिविर निरीक्षण टोली संयोजक भट्टराईले भने पैसाको बार्गेनिङ गरेको स्वीकार गरे। पैसाको लोभ देखाएका कारण आफूले खाता नम्बरसमेत पठाएको बताए।
‘म आफैँ माग्दै गएको हैन। मलाई लोभ देखाइयो। आस देखाएपछि मात्र मैले काम गर्न खोजेको हुँ,’ उनी भन्छन्, ‘तर, पैसा पठाउनलाई मैले दबाब पनि दिएको छैन। किन ढिला गरेको पनि भनेको छैन। मेरो लेभलबाट काम नहुने भएपछि मैले यो कामबाट हात झिकेको हुँ।’