तत्कालीन रकु गाविस हाल सान्नी त्रिवेणी गाउँपालिकामा जन्म भई कक्षा–८ सम्म गाउँकै विद्यालयमा अध्यन गरेका द्वन्द कालको चरम उत्कर्ष काल पछि कैलाली जिल्लामा बसाइँ सरेका रतन देवकोटाले ‘जदौ हजुर’ ल्याएका छन्।
उक्त बोलको गीतमार्फत देवकोटाले कर्णालीको दुखलाई प्रस्तुत गरेका छन्।
कर्णालीको प्रतिनिधित्व गर्ने लय शब्द र पीडा सँगै लाइभ म्युजिक र मोडर्न इन्स्ट्रमेन्टसँग फ्युजन गरी तयार गरेकोगीतले दर्शकको मन जित्नेमा देवकोटा आशावादी देखिन्छन्।
गीतबारे रतन भन्छन्, ‘कर्णालीको पीडा, सङ्घर्ष र आशालाई हुड्केको भाकामा पस्किएको गीत। जहाँ भोक, विभेद र बसाइँसराइका कथा गुथिएका छन्। यो गीत न्याय, एकता र परिवर्तनको लागि कर्णालीको मौन पुकार हो।’
देवकोटाले कुराकानीका क्रममा उनले भनेका थिए, ‘आजभन्दा २०-२५ वर्ष पहिले जस्ताे थिएँ। त्यस्तै छ जीवनशैली।’
दुख र पिडामा कर्णालीका मानिसहरू क्रन्दन र चित्कार गर्छन्। त्यसकै एक बिम्बको रुपमा साङ्गितिक कोशेली ‘जदौ हजुर’मार्फत राज्य सत्तालाई ठुलै उपलब्धि गरेको जसरी नेतृत्वको खुसीलाई र ठुल्ठुलो स्वरको हासेलाई व्यंग्य गरेका थिए।
युग अगाडि बढ्दै गएपछि महत्त्व पनि बढ्दै जानू स्वभाविक हाे। गीतमा छिमेकी चन्द्रमामा पुग्दा कर्णालीमा सिटामोल पुग्न सकेको छैन? भनी प्रश्न गरेका छन्।
‘म गाउँमा हुँदा सानोमा नै दैलेख जिल्लाको डुङ्गेश्वर सम्म गएर नुनको भारी बोकेको सम्झना छ। रोग लाग्दा गाउँमा स्वास्थ्य संस्था, डाक्टर र औषधिको अभावले रोग बोकेर बस्नुपर्ने अवस्था हुन्थ्यो आज पनि उस्तै छ। हिजो गोरेटो बाटो थियो आज हिलाम्मे र धुलाम्मे बाटो भएको छ। हिजो पढ्दा विद्यालय जस्तो थियो आज उस्तै छ’, उनले भनेका छन्, ‘एउटा विकास भनेको सडक मात्रै छ त्यसको पनि अझै स्तरउन्नति राम्रोसँग हुन सकेको छैन। केही समय अघि हिरुलाल भन्ने साङ्गितिक कोशेलीको छायांकन गर्ने क्रममा जुम्लासम्म पुगेँ। कर्णाली जहाँजहाँ हेरे उस्तै देखेँ। आफैंलाई बेचैनी बनायो। लेख रचना कोरौं भन्ने पनि लाग्यो केही न केही गरौं भन्ने लाग्यो। यहाँको गणतन्त्र पछिको वास्तविकता पनि सकेसम्म जस्ताको त्यस्तै सबैमाझ पस्कौं र गीत संगीतको माध्यमबाट राज्य सत्तालाई भद्र तरिकाले सुनाउ र बुझाउसाथै कर्णालीबासीलाई केही गर्नमा थप उर्जा जगाउ भन्ने उदेश्यले जदौ हजुर पस्किएको हो।’
यो आवाज मात्रै पस्किन खोजिएको होइन कर्णालीको लोक सस्कृतिलाई उजागर गर्ने उदेश्यले छायांकनको क्रममा कर्णालिको भाका हुड्के र कर्णालीमा बजाइने बाजागाजाहरू र कर्णालीकै संस्कृतिक पोषाकको छनौट गरिएको छ। जसले गर्दा आजको विश्व डिजिटलाइजेशनमा कर्णालीको भाका, भाषा, बाजा र पोशाक समेतलाई उजागर गर्दै यहाँको संस्कृतिलाई जगेर्नासँगै विश्व सामु चिनाउनु पनि रहेको छ। जसले गर्दा छायांकनकाे लागि ६ महिना भन्दाबढी बढी लामाे समय लागेकाे थियाे।
कर्णालीका जिल्लाहरूमा १००औं वर्षदेखि हावापानी अनुसारको बाली र वनस्पति पशुपालन र खाद्यान्नमा आत्मनिर्भर बनाउनेबारे नसोची पिजडाको चरालाई दाना दिए सरह महँगाे इन्धन खर्च गर्दै हवाई–जहाजबाट अन्न ओसार्दै खुवाउने नीति राज्यले हटाउन सकेको छैन। त्यसैले गीतमा पेट पाल्न मुस्किल भयो न अन्न उब्जनी ....
बाको जुनि बित्यो पिरैपिर बोकी, बित्न लाग्यो मेरो पनि भाग्य यस्तै होकी? स्याउ कुहियो, यार्सा कुहियो दुखमाथि दुख, अभागी कर्म, हाम्रो को बुझ्छ मर्म भन्दै उनले पिजडाबाट मुक्त गर्न र कणालीका उत्पादनलाई भुगोलले दिएको वरदानलाई उपयोगी सम्पत्तिको रुपमा व्यवस्थित र बजारीकरण गरेर अर्थतन्त्रलाई माथि उठाउने नीति राज्यले लिएर मर्म बुझिदिन उनले आग्रह गरेका छन्।
इतिहास मानव जातीको अनुभवको सुची ज्ञान र सार हो। त्यसले आज बाटो देखाउँछ र भोलिको निम्ति बाटो तयार गर्न सहयोग पुर्याउँछ।
साथै इतिहासलाई वीहरूको कथाको रूपमा मात्रै हेरिने स्थिति बदल्न र इतिहासको भौतिकवादी व्याख्या गर्न धेरै खाँचो छ। त्यो अब कर्णालीले सोच्नुपर्छ भनेर कर्णाली बासीलाई समेत सचेत बनाएका छन्।
अँध्यारो रातमा दिशा पत्ता नलगाई जङ्गलमा जति हिडेँ पनि जसरी एउटै घेरामा घुमिन्छ देशको स्थिति पनि झण्डै त्यसरी नै अवरुद्ध छ देश अगाडि बढ्न सकेन किन? हामिले हाम्रा सबै अवरोधहरू हटाइसक्याै अझ उस्तै किन छ?
ठूलो सम्पत्तिको ढुकुटिको साचो हराएको व्यक्तिकाे दशा जस्तै कर्णालीको अवस्था छ।
कर्णालीमा जल, जङ्गल, जमिन, जडीबुटी र जनशक्ति सबै छ तर पनि हरेक दृष्टिमा कर्णाली पछि किन छ?
त्यो ढुकुटीको साचो भनेको आर्थिक नीति हो।
राम्रो अर्थ नीति भएको देश उभो लाग्न समय चाहिदैँन। त्यो आर्थिक नीतिमा कर्णाली समेटिदैँन। जसले गर्दा कर्णाली त पछि पर्यो–पर्यो त्यसको उपयोग गर्न नसक्दा देश नै पछि पर्यो खै कस्ले बुझ्ने हो?
त्यसैले गीतमा भनिएकाे छ,
कर्णालीको बिरहलाई कस्ले सुन्दिन्छ र ....
सुन्दिने कोहि छकी
हाम्रो बितिगो जिन्दगी।
त्यस्तै कर्णालीलाई बेसहारा महसुस गर्दै
पिपलु पातमा
हाम्रो को छर साथमा भन्दै
कर्णालीको विकासमा यहाँको शिक्षा स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनमा साथ खोजिरहेका छन्। वैदेशिक यात्रामा पनि ठूलो भेदभाव देख्छन् ठुलै अर्थतन्त्रको फरक देख्छन्।
एउटा उदाहरण पेश गर्दै उनी भन्छन्, ‘झण्डै १३०-४० घरदुरी भएको कालीकोटको एउटा गाउँ जहाँ वैदेशिक रोजगारीलाई हेर्दा मुस्किलले ४ जना अलि राम्रो देशमा ४ जना खाडी मुलुकमा र बाँकी १००-१२० को हाराहारीमा काला पहाड अर्थात् भारतमा कुल्ली दरवानी र ज्यामी बनेका छन्। यता राज्यले कुल ग्राहस्थ उत्पादनमा जीडिपीमा यस्तै कर्णालीका काला पहाडीहरूको योगदानलाई कतै गणना गर्दैन र वैदेशिक श्रममा पनि हेप्छ।
प्वाँख पलाउँछ परदेशिन्छन्
आगँनीका चरा
बाँझो खेत बाँझो बारी बाझै रह्या गरा
कर्णालीको बिरहलाई कस्ले सुन्दिन्छर ....
सुन्दिने कोहि छकी
हाम्रो बितिगो जिन्दगी।
कर्णालीको हुड्केउली भाकाबाट प्रेरित भएर ‘जदौ हजुर’ बोलको गीतले कर्णालीको दुःख, पीडा,र कर्णालीको जनताको जीवनका अपेक्षालाई सर्जकले उजागर गर्ने कोसिस गरेका छन्।