सन् १९०६ मा पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन भएको थियो भने सन् १९०८ मा समान अधिकारको नारा लिएर आन्दोलनमा महिलाहरू उत्रेका थिए।
सन् १९१० मा कोपन हेगनमा सम्पन्न भएको महिलाहरूको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनबाट पारित गरेर मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा मनाउँदै आएको छ। यो प्रस्ताव सचिव कलरा जोटिक्नले राखेका थिए।
अहिलेसम्म आउँदा परिवर्तन नै नभएको त होइन, तर पनि हाम्रो नेपाली समाजमा हामी महिला दिदीबहिनीहरूलाई दोश्रो दर्जामा राखेर हेर्ने नजर अझै पनि हटेको छैन।
समाजमा विकास र परिवर्तन गर्नका लागि पुरुष जतिकै महिलाहरूको पनि समान उपस्थिति एवम् योगदान हुन जरुरी छ। हामी रहेको समाजलाई हेर्दै र भोग्दै आएको कुराहरूले पनि छर्लङ्ग छ कि हामीले अझै पनि नारी समान अधिकारका लागि संघर्ष गरिरहनु परेको छ।
साना-साना नानीहरूदेखि हजुरआमासम्म बलात्कृत हुन्छन्। दिदीबहिनीहरू खुलेर आफ्नो निर्णय गर्न सक्दैनन्, घरको बुबा दाजुभाइको मुख ताक्नु पर्ने हुन्छ। बुबाआमाले छोरीलाई ब्याचलर, डिग्री नै पढाए पनि श्रीमानको घरमा गएपछि चुलाचौकामै जीवन बित्छ। कानुन बन्छ, कार्यान्वन हुन्न। यी यस्ता कुराहरू कति छन् कति, यसको समाधानका लागि दिदी बहिनीहरू आफैँ जागरुक हुन जरुरी छ।
हाम्रो बुबाआमाको दुई सन्तान मात्र छौँ, म र मेरो बहिनी। अहिले बुबाआमा दुबै जना गुमाएका टुहुरो सन्तान हौँ। हामी सानो छँदा ‘छोरो रहेनछ, मरेपछि काजक्रिया कसले गर्छ’ भनेर बुबाआमालाई समाजका प्राय: व्यक्तिहरूले भन्ने गर्थे। त्यो बेला बुबाआमाले मेरो टाउकोमा हात राख्नुहुन्थ्यो र भन्नुहुन्थ्यो जे भए पनि सन्तान बराबर।
बुबा त धेरै अगाडि नै जानुभयाे। आमाले पनि सन् २०२० मा हामीलाई छोड्नुभयो। त्यो बेला हाम्रो धर्म संस्कृति अनुसार दागबत्ती दिने, काजक्रिया गर्ने जिम्मा म र मेरो बहिनी आफैँले लियौँ र सम्पन्न गर्यौँ। मेरो मतलब समाजमा आइपर्ने हरेक कुरामा नारीको समान सहभागिता र अधिकार हुनुपर्छ अनि मात्र समाज सही स्थानमा आउनेछ।