उ एउटा निर्वस्त्र कविता हो
जसको हातमा काला, निला, हरिया,
अनि राता-राता काँचका चुरा लगाएर
साहित्यको पसलमा हुर्किने प्रयास गर्दैछे
कलम र मसीको साहारा लिएर
उ आफूलाई अबला भनेर
सेतो साडीभित्र फनफनी बेरिएर
आफ्नो निर्लज्जतालाई लुकाउने प्रयासमा छे।
उसले यो अनुमान लगाएकी छे-
केही आँसु र मासुको अदला-बदलीमा
उ समकालीन कविताको महारानी हुन्छु भनेर
तर त्यो सम्भव छैन,
किनभने यहाँ साहित्यका उपासकहरुले
कठोर तपस्या गरिरहेका छन्
त्यही भएर उसको मोहनी लाग्दैन
लगाए जति पनि
उसले, जसको हात महादेव भनेर समातेको छ
अनि ताते गर्दै हिँड्ने गरिरहेकी छे शब्दहरुलाई कुल्चेर
न त्यो हात महादेवको हो
न त्यो हिँडाइ साहित्यको हो
वास्तवमा त्यो एउटा निर्वस्त्र कविता हो
जो समकालीन कवितामा
भित्रपट्टी र भित्रैबाट लाग्ने
एउटा कालो ग्रहण हो।
धेरै धेरै धन्यबाद सर मेरो कवितालाई पत्रिकामा स्थान दिनुभएको लागि