दाङमा कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक जना १२ वर्षपछि पक्राउ परेका छन्। राप्ती गाउँपालिका वडा नं.-३ बसन्तपुर बस्ने वर्ष ६४ का जग्गु चौधरी फरार रहेको १२ वर्षपछि तिहारको दिन पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मुकुन्द प्रसाद रिजालले चौधरीलाई लुकिछिपी बसेको अवस्थामा कपिलवस्तुको वारगंगा नगरपालिका वडा नं. २ लखिपाराबाट यहि २० गते तिहारको दिन पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार चौधरीलाई वि.स.०६६ साल बैशाख २७ गते दाङ देउखुरी जिल्ला अदालतले कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेको थियो। त्यस समयदेखि फरार रहेका उनलाई २० गते पक्राउ गरी सोमबार अदालतमा बुझाएको डिएसपी रिजालले बताए।
यसैबीच दाङ प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका अर्का एक जनालाई पनि पक्राउ गरेको छ। राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया बस्ने वर्ष २८ का सुवास चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई ०७३ साल भदौ २६ गते दाङ देउखुरी जिल्ला अदालतले सामुहिक जबरजस्ती करणीमा १० वर्ष तीन महिना १७ दिन कैद सजाय तोकेको थियो। चौधरी त्यस समयदेखि फरार रहेकोमा यही कात्तिक १७ गते प्रहरीले उनकै गाउँबाट पक्राउ गरेको हो। उनलाई पनि सोमबार नै अदालतमा बुझाएको डिएसपी रिजालले जानकारी दिए।