लघुकथा 

नेपाली समाजसेवामा ‘हर्के दाइ मोडेल’

जनक बराल

लिजवन,पोर्चुगल  

सुर्य असल र इमान्दार युवा हो। पढाई उसको ठिकठाक नै थियो। एसएलसी परीक्षा उत्तिर्ण गरेपछि गाउँमै ‘प्लस टु’ मा भर्ना पनि भयो। उसले गाउँमै बसेर २ वर्ष अध्ययन गर्‍यो तर  पढाई न सोचे जस्तो राम्रो भयो, न त जागिर नै गतिलो पायो।  

अन्ततः वाक्क भएर विदेश जाने निर्णयमा पुग्यो। तर, विदेश जाने कसरी? उसलाई थाहा थिएन। उसलाई एक छिमेकीले सल्लाह दिएछ, पल्ला गाउँका हर्के दाईले मान्छे विदेश पठाउन उचित सहयोग र निःशुल्क परामर्श दिने रहेछन्,उनीबाट सबैकुरा बुझ्।  

उ हर्के दाई कहाँ पुग्यो। भेटेर सबै समस्या बतायो। हर्के दाईको अगाडी रुन मात्र सकेन। आफूलाई विदेश पठाइदिन अनुनयविनय गर्दै लम्पसार पर्यो। 

उसको अवस्था हेरेपछि हर्के दाईले भने, ‘हेर भाई म विदेश पठाउने दलाल होइन। विदेश जानुभन्दा नेपालमै केही गरे भइहाल्छनी। विदेश जाने निर्णय नै गरेको हौं भने भोलि सदरमुकाम जाउँ। मैले चिनेका एकदुई वटा म्यानपावर छन्। सिफारिस गरिदिउँला।’हर्के दाईले उसलाई सम्झाउँदै थप भनेछन्, ‘तिमीले कमाएर फर्के पनि वा नकमाई फर्के पनि यसको जिम्मेवार म हुन्न। किनभने यसले मलाई केही फाइदा हुँदैन। तिम्रो जिन्दगी राम्रो होस्। तिम्रो बोली काट्न नसकेर मात्र हो।’ 

हर्के दाईको कुरा सुनेपछि सुर्य घर फर्कियो र दाईले दिएको टेलिफोन नम्बर मिलाउँदै म्यानपावरमा फोन गर्यो। फोनबाटै काम, तलब र विदेश जाँदा म्यानपावरले लिने शुल्क तय भयो। हर्के दाईले ल्याएको व्यक्ति विदेश उड्ने तय भयो भने म्यानपावरले उनलाई दामासाही २० हजार दिने पहिले नै पक्का छदैछ।

भोलि पल्ट सुर्य हर्के दाईसँगै बजार जान्छ। दुबै म्यानपावर कार्यालय पुग्छन्। हर्के दाईले एजेन्टसँग भन्छन्, ‘यो हाम्रो छिमेकी भाई हो। यसलाई सस्तो लागतमा धेरै कमाई हुने र राम्रो काममा पठाइदिनु पर्‍यो, सोझो छ। मेरो कुनै स्वार्थ छैन। खाली, यसको  भबिष्य राम्रो हुनुप¥यो।’ 

त्यही उनीहरूले पासपोर्ट बुझाउँछन्। डाक्टरी गर्छन् र गाउँ फर्किन्छन्। बस भाडादेखि लिएर सबै खर्च सुर्यले बेहोर्छ। अनि मनमनै सोच्दछ, ‘अहो १ हर्के दाईले मेरा लागि आफ्नो दिन मारेर निस्वार्थ सेवा गरे।’

दुई महिनापछि सुर्यको भिषा आउँछ। घरबाट विदेश जान साईत गरेर उ निस्कन्छ। उसले हर्के दाईलाई आफूलाई बिदा गर्न बसपार्कसम्म जान अनुरोध गर्दछ। हर्के दाई र उ बसपार्क पुग्दछन्। काठमाडौं जाने बसको टिकट काट्छन्। अनि सुर्यले बस चढ्ने बेला भन्छ, ‘दाई तपाईंले मेरा लागि यत्रो कस्ट गर्नुभयो। यसको गुण म कसरी तिरौँ?’

उसले यतिबेला गोजीबाट ३ हजार रुपैयाँ निकालेर हर्के दाईको हातमा थमाउँदै भन्छ, ‘खाजा खानुस् है दाई।’ यति भनेर उ बस चढ्छ।  

पैसा बुझेर हर्के दाई पनि दंग पर्छन। उसलाई खुसीखुसी बिदा गर्छन्। अनि सरासर म्यानपावर पुग्छन।  मुख्य एजेन्टलाई भेट्छन् र काउण्टरबाट आफ्नो कमिसन २० हजार रुपैयाँ बुझेर फुरुङ्ग पर्दै घर फर्कन्छन् ।  

सुर्य कतार पुग्छ। काममा लाग्छ। कमाई पनि राम्रै हुन्छ अनि २ वर्षपछि लाहुरे बनेर पहिलो छुट्टिमा घर फर्किन्छ। उसले हर्के दाईलाई एउटा घडी उपहार दिँदै भन्छ, ‘दाजु, हजुर त निस्वार्थ र महान समाजसेवी हो। हजुर मेरो लागि भगवान हुनुहुन्छ।’

हर्के दाईले धेरै जनालाई यसरी नै निस्वार्थ समाजसेवा गर्दागर्दै आज सदरमुकाममा दुई–तीन टुक्रा घडेरी र गाउँमा दुई तले घर ठड्याइसकेका छन्। त्यसैले उनले गर्वका साथ मुस्कुराउँदै भन्न छोडेका छैनन्, ‘निस्वार्थ समाजसेवा मेरो रगतमा दौडिएको छ। मात्र गाँउले सबैको भलो होस्। मलाई केही चाहिदैन।’ अब आउने चुनावमा गाउँपालिका प्रमुखमा उठ्ने उनको मनसाय छ।  

अहिले नेपाली समुदायमा चलेको समाजसेवाको मोडेल नै ‘हर्के दाई मोडेल’ हो, जहाँ कयौं सुर्यहरूलाई पत्तै नदिई दलाली गरिरहेका छन्। हर्के दाई भगवान होइनन् एजेन्ट हुन्। यद्धपि सुर्यहरू जस्ता केही युवाको भलो भएको कुरा पनि उत्तिकै सत्य हो। 

 
 

प्रकाशित मिति: : 2021-01-30 13:08:00

प्रतिकृया दिनुहोस्