केपी शर्मा ओलीको कार्यक्रममा बम राखेको भन्दै अफवाह फैलाउने पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा बम राखेको छ भनी अफवाह फैलाउने गौरादह नगरका वाईसीएल इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत गौरादह नगरपालिका–४ निवासी धर्म चौहानलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। चौहान माओवादी निकट वाईसीएलका गौरादह नगर इन्चार्ज हुन्। उनलाई इटहरीबाट पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ।

उनले आफ्नो फेसबुक आइडीमार्फत– 'गौरादह नगरपालिका–५ स्कुलचौनमा केपी ओलीद्वारा उद्घाटन गर्ने नमुना पाहुना गृह परिसरमा सामन्य कुकर बम फिट गरिएको हुदा कोहि पनि स्थानीय नागरिक सो स्थानमा नजानुहुन् अनुरोध गरिन्छ।' भन्दै फेसबुक पोष्ट गरेका थिए। चर्चामा आउने  उनले  यस्तो  हर्कत  गरेको बताइएको छ। 

पूर्वप्रधानमन्त्री ओलीले हिजो सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र–५ को भ्रमण गरेका थिए। झापा प्रहरीले बताए अनुसार चौहानलाई ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको छ।

चौहानको फेसबुक स्टाटसलाई पत्याउदै झापा प्रहरीले सुरक्षा व्यवस्था कडा पार्न  ओली भ्रमण स्थलमा सुरक्षा व्यवस्था कडा पार्न कुकुर परिचालन गरिएको थियो।

आवेकमा आएर फेसबुक पोष्ट

माओवादी निकट वाईसीएल नगर अध्यक्ष धर्म चौहानले आवेकमा आएर फेसबुक स्टाटस लेखेको प्रहरीसमक्ष बताएका छन्।

ओलीप्रतिको 'नफरत'कै कारण सो फेसबुक स्टाटस लेखेको उनले प्रहरीसामु बके। स्टाटस लेखेको केहि समयमा नै उनले आफनै फेसबुक आईडी कसैले 'ह्याक' गरि सो लेखेको भन्दै आफ्नो बचाउ गर्ने कोशिस गरेको प्रहरी स्रोतले बतायो। सो स्टाटस केहि समयमा नै उनले हटाएका थिए।

प्रकाशित मिति: : 2021-10-26 22:15:00

प्रतिकृया दिनुहोस्