जोखिममा सगरमाथा सहकारी

तेजन खड्का

उर्लाबारी

माेरङकाे सबैभन्दा जेठाे बचत ऋण सहकारीका रुपमा परिचय बनाएको उर्लाबारी- ५ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था उच्च जाेखिममा देखिएको छ। संस्थाकाे ३४ औँ वार्षिक  साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख भएका तथ्यांकले संस्था उच्च जाेखिममा देखिएको हाे।

संस्थाकाे आफ्नै सभाहलमा बिहीबार गरेकाे साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्था आ.व. ०८०/०८१ मा २० हजार २७२ रुपैयाँ ५८ पैसा घाटामा देखिन्छ। हल र काेठा भाडा लगाएर आन्तरिक आय ५ लाख ४५ हजार २५ गरेको संस्थाले मलखाद बिक्रीबाट २५ हजार, विविध आम्दानी ४८ हजार ७६४ र खाताबन्दी शुल्क १५ हजार ९ सय आम्दानी गरेको छ।

ऋण व्यवस्थापन शुल्क भनेर समेत ५ लाख ७५ हजार १५५ रुपैयाँ आम्दानी गरेको संस्थाले ऋणबाट ब्याज लक्ष्यअनुसार उठाउन सकेको छैन्। एकातर्फ तरलता उच्च रहँदा बैंकबाट प्राप्त ब्याज लक्ष्यभन्दा २ लाखले बढी प्राप्त भएको छ। भने, अर्कोतर्फ २ कराेड ६ लाख ५७ हजार ब्याज प्राप्त गर्ने लक्ष्य राखेको संस्थाले  यथार्थमा १ कराेड ४० लाख २८ हजार ७४७ रुपैयाँ मात्रै ब्याज प्राप्त गरेको छ।

अझ राेचक पक्ष के छ भने प्रतिवेदनकाे पेज ३५ मा आ.व. ०८१/०८२काे जम्मा आम्दानी १ कराेड ७० लाख ८८ हजार २१४ रुपैयाँ ८४ पैसा र खर्च पनि त्यतिनै भएको भनी आम्दानी खर्च  बराबर देखाएर खुद बचत शून्य देखाइएको छ। प्रतिवेदनकै पेज २५मा आम्दानी १ कराेड ७० लाख ८८ हजार २१४ रुपैयाँ ८४ पैसा देखाइएको छ भने खर्च १ कराेड ७१ लाख ८ हजार ४८७ रुपैयाँ ४२ पैसा भएको उल्लेख छ। लेखापरीक्षण रिपोर्टअनुसार संस्था २० हजार २७२ रुपैयाँ ५८ रुपैयाँले घाटा देखिन्छ।

कहाँ-कहाँ चुकेकाे छ सगरमाथा साकाेस?

सगरमाथा साकाेसकाे आन्तरिक खर्च बढेको छ। सञ्चालककाे चिया खर्च मात्र ४० हजार ५ सय रुपैयाँ रहेको छ।

यस्तै १ लाख ७६ हजार ६१० रुपैयाँ सहकारी अवलोकन भ्रमण र २२ वटा शीर्षकमा हिसाब राखेर पनि लक्ष्य भन्दा ४३ हजार ६० रुपैयाँ बढी खर्च भएको छ। संस्थाले विविधमा १ लाख ५० हजार खर्च हुने अनुमान गरेको थियो। तर, विविधमा १ लाख ९३ हजार ६० रुपैयाँ खर्च भएको छ।

संस्थाकाे खराब कर्जा ३ कराेड ७२ लाख ६० हजार ८१७ रुपैयाँ पुगेको छ। याे १२ महिनाभन्दा बढी समय भाखा नाघेको ऋण हाे। यस्तै १ महिना देखि १२ महिनासम्म भाखा नाघेको ऋण पनि १ कराेड ३१ हजार २६५ रुपैयाँ पुगेको छ। १२ कराेड १४ लाख १० हजार ५२६ रुपैयाँ कर्जा लगानी गरेको संस्थाकाे असल ऋण ७ कराेड २० लाख १८ हजार ५४५ रुपैयाँ रहेको छ।

खराब कर्जा बढ्दै गएपनि संस्थाले ऋण सुरक्षण (लाेन लस) २२ लाख ४९ हजार २४१.६५ रुपैयाँ मात्रै गरेको छ। याे कूल खराब कर्जाको ६ प्रतिशत मात्रै हाे। नजिकैका अधिकांश बचत ऋण सहकारीहरूले शतप्रतिशत ऋण सुरक्षण गरेका छन्।

तर, सगरमाथाले खराब कर्जा व्यवस्थापन गर्न सकेको छैन। वार्षिक ६ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेर पनि सहकारी घाटामा जाँदा शेयर सदस्यले सहकारीप्रति प्रश्न उठाएका छन्।

यसबारे कुराकानीका लागि सहकारीका अध्यक्ष विजय कार्कीसँग सम्पर्क गर्दा उनले फाेन उठाएनन्।

प्रकाशित मिति: : 2024-09-20 22:04:00

प्रतिकृया दिनुहोस्