बिएल संवाददाता
शंकर पोखरेलबाट धोका पाएपछि तत्कालीन उपमहासचिव प्रदीप ज्ञवालीलाई ११औं महाधिवेशनमा महासचिव नबनाएकोमा एमाले अध्यक्ष केपी ओलीले पश्चाताप गर्न थालेका छन्।
बिहीबार कपिलवस्तुको चन्द्रौटामा बसेको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समिक्षा र पार्टी पुनर्गठनका सन्दर्भमा सुझाव संकलन भेला बसेको थियो। अधिकांश जिल्लादेखि केन्द्रीय पदाधिकारीहरूले पुनर्गठनको पक्षमा बोल्दा एक्ला वृहस्पति बनेर शीर्ष नेता ज्ञवालीले पार्टी नेतृत्वको धुवाँधार बचाउ गरेपछि ओली पग्लिएका छन्।
चन्द्रौटा जानुभन्दा २ दिन अगाडि नेता ज्ञवाली गुण्डु पुगेर अध्यक्ष ओलीसँग केही अन्तरंग छलफल गरेको खुलेको छ। लुम्बिनी प्रदेशका नेता ज्ञवाली गत महाधिवेशनमा महासचिवका आकांक्षी थिए। त्योबेला अध्यक्ष ओली र हालका महासचिव शंकर पोखरेल टसमस नभएपछि बिरक्तिँदै महाधिवेशनको हलबाट बाध्य बनेका थिए।
पदाधिकारीसमेत नरहेका उनी अहिले पार्टीको कुनै निर्णायक जिम्मेवारीमा छैनन्। महाधिवेशन यता अध्यक्ष ओली महासचिव शंकरसँग असन्तुष्ट रहँदै आएका उनी लुम्बिनी प्रदेशको भेलामा भने एकाएक ओलीको बचाउमा उत्रिएपछि नेताहरू अचम्मित परेका छन्। ज्ञवाली उपाध्यक्ष रामबहादुर थापा बादलपछि ओलीको पक्षमा खरो उत्रिएका दोस्रो शीर्ष नेता हुन्।
भेलामा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पक्षधरले ओलीको विकल्प खोज्ने गरी आफूनिकट नेताहरूलाई प्रस्तुत गराएका थिए। तर, यसअघि पुनर्गठनको पक्षमा खुलेका र नेता ज्ञवालीको गृहजिल्ला गुल्मीका अध्यक्ष बालसिंह काउछासमेत अन्तिम समयमा यू–टर्न हुँदै ओलीको बचाउमा उत्रिएपछि नेताहरू झन् अचम्मित भए।
काउछाले एकजनालाई मात्रै दोष देखाएर पन्छिन् नपाउँने भन्दै विकल्प नै खोज्ने भए अहिलेका पदाधिकारीहरूबाट नभइ तेस्रो, चौथो तहबाट खोज्नुपर्ने जिकिर गरे। उनले भने, ‘तपाईंहरू (विष्णु–शंकर)बाट मात्रै होइन विकल्प खोज्ने नै भए नयाँ पदाधिकारी बाहिरबाट खोजौं। होइन भने एउटाको गल्ती देखाएर अरू पन्छिने कुरा हुँदैन। सबै बराबर जिम्मेवार छन्।’
त्यस्तै विगतमा पार्टी महासचिव शंकर पोखरेल निकट रहेका रुपन्देहीका प्रदेश सांसद, पूर्वमन्त्री भूमिश्वर ढकाल, पूर्वसांसद नारायण आचार्य, प्युठानका सूर्य थापा, कपिलवस्तुका पूर्वमन्त्री बलराम अधिकारी लगायतका नेताहरूले पनि पुनगर्ठन गर्ने नै भए सचिवालयका पदाधिकारीहरू सबैको पुनगर्ठन गर्नुपर्ने मत राखे।
अधिकांस पदाधिकारी र नेताहरूले ओलीको विकल्प खोजिरहेका बेला यी नेताहरू ओलीको पक्षमा खुल्दा माहोल रोमाञ्चक बनिरहेको थियो। जब महासचिवमा ओलीले नपत्याएका प्रदीप ज्ञवालीको बोल्ने पालो आयो, उनले दमदार रुपमा ओलीको पक्षमा आफ्नो मत राख्दा नेताहरू खासखुस गरिरहेका थिए।
‘देशीविदेशीको षड्यन्त्रमा पार्टीमाथि भइरहेको हमलामा रक्षाकवच बन्नुपर्ने बेला हो यो। नेतृत्वको रक्षा गर्नुपर्ने बेलामा पुनर्गठन नामको यो अभियान भविष्यमा पार्टीकै लागि घातक हुन्छ। यो विकल्प खोज्ने होइन बरू नेतृत्वको रक्षा गर्ने बेला हो।’
लुम्बिनीमा प्रदीपको प्रदर्शनीलगत्तै अध्यक्ष ओलीले आफूनिकट नेताहरूलाई गुण्डु बोलाएर छलफल गरेका थिए। बिहीबार नै सचिव महेश बस्नेतको टोली पनि ओली निवास पुगेको थियो।
नेताहरूसमक्ष ओलीले प्रदीप ज्ञवालीलाई महासचिव नबनाउनु आफ्नो कमजोरी रहेको भन्दै पश्चाताप व्यक्त गरेको छलफलमा सहभागी एक नेताले बताए।
‘शंकरले यसरी धोका देलान् र पदलोभी होलान् भनेर शंकासमेत गरेको थिइनँ। पछिल्लो समय चाँडै नेता हुने लोभमा विष्णुको मायाजालमा फसे। जसलाई महासचिव बनाएँ उसैले साथ दिएन। जसलाई (प्रदीप) अवसरबाट वञ्चित गरियो उसैले अप्ठ्यारो समयमा साथ दियो। महाधिवेशनमा प्रदीपलाई महासचिव नबनाउनु गल्ती भयो,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले बताए।
त्यसपछि ओलीले नेता ज्ञवाली लुम्बिनी जानुअघि आफूलाई भेट्न आएको प्रसंग सुनाए। पार्टी पुनर्गठनबारे आफूले उनको धारणा बुझेको र उनले यो अभियान नै गलत रहेको भनेको नेताहरूको दाबी छ।
त्यसपछि ओली–महेशबीच केही समय हाँसो मजाक चल्यो। महेशले विकल्प नै खोज्ने भए अहिले निर्वाचित सबै पदाधिकारी शंकरको पनि खोज्नुपर्ने र उनको ठाउँमा प्रदीप ज्ञवाली फिट हुने मत राखे।
त्यसछि ओलीले पनि ‘नेतृत्व नै गर्ने भए शंकरको विकल्प प्रदीप हुनुपर्छ। भावुक छन् तर, पार्टी र आन्दोलनलाई घात गर्दैनन्। उनले सबैलाई मिलाएर लान सक्छन्। कुनै काण्डमा मुछिएका र परिवारवादमा लिप्त नभएका मान्छे हुन्। बद्मासी गर्ने छैनन्। विकल्प नै खोज्ने भए यो पो राम्रो विकल्प हो त। पार्टीमा त्यत्रो जिम्मेवारी पाएका छन्, चुनावमा आफैं हार्छन्। विकल्प नाउँको ढोल पिट्दै हिँड्छन्। कसको विकल्प खोजेको?’ भन्दै व्यंग्य कँसे।
हाँसोमजाक सकिएपछि ओली–महेशबीच रास्वपाको महाधिवेशनको निम्तोबारे चर्चा भयो। ओलीले भने, ‘ल महेश भन रविले शुभकामना दिन बोलाएका छन्। तिमी जाने कि प्रदीप ज्ञवालीलाई नै पठाइदिउँ?’ त्यसपछि ओली र महेशले पदाधिकारीसम्म नभएका प्रदीपलाई नै चितवन पठाइदिने निर्णय गरे।
ओली–बस्नेत छलफलमा सँगै रहेका एक नेताका अनुसार प्रदीपलाई पार्टीको प्रतिनिधित्व गर्न पठाउनुलाई ओलीले एमालेमा के ल्याउँदैछन् भन्ने संकेतका रुपमा बुझ्न सकिन्छ।
लामो समय पार्टी कार्यालय नपुगेका अध्यक्ष ओली शुक्रबार भने एकाएक च्यासल पुगेका छन्। नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको समीक्षात्मक छलफलमा सहभागी हुन् पुगेका ओलीलाई लुम्बिनीमा आफ्नो मत राखेर फर्किएका नेता प्रदीप ज्ञवाली र प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले स्वागत गरेका थिए। ज्ञवाली प्रतिष्ठानका पूर्व सदस्य हुन्।
गुण्डु स्रोतका अनुसार महाधिवेशनपछि चिढिएका ज्ञवालीको पछिल्लो समय ओलीसँग सम्बन्ध सुध्रिएको छ। बिहान प्रायः मर्निङवाकमा निस्कने ज्ञवाली मर्निङ वाक सकेपछि आजकल धेरैजसो गुण्डुतिरै भेटिन्छन्।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया