सोमबार, २३ नोभेम्बर २०२६

भैरहवा हवाइ रुट दुईतर्फी बनाउने सहमति

News Image
• • •

दशकौंदेखिको कूटनीतिक र प्राविधिक रस्साकस्सीपछि नेपाल र भारतबीच भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश मार्ग (एयर इन्ट्री रुट) खोल्ने ऐतिहासिक सहमति जुटेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणका क्रममा सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त विज्ञप्तिमार्फत यो सहमति सार्वजनिक गरिएको हो।

संयुक्त विज्ञप्तिको बुँदा नम्बर ८ मा हाल नेपालबाट बाहिरिन मात्र प्रयोग भइरहेको एकतर्फी ‘बी३४५ (B345) काठमाडौं–भैरहवा–लखनउ’ हवाई मार्गलाई अब दुईतर्फी बनाउने उल्लेख छ।

यस सहमतिलाई कार्यान्वयनमा ल्याउने मोडालिटी टुङ्ग्याउन तथा नागरिक उड्डयनका अन्य प्रस्तावहरूलाई सम्बोधन गर्न दुवै देशका प्राविधिक टोलीबीच छिट्टै परामर्श सुरु हुने जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेताहरूले हवाई सम्पर्क (कनेक्टिभिटी) विस्तार गर्ने तथा द्विपक्षीय आर्थिक संलग्नतालाई प्रवर्द्धन गर्ने उद्देश्यले नागरिक उड्डयनका विषयमा भइरहेका जारी छलफलहरूलाई नोटमा लिए। दुवै पक्ष विद्यमान एकतर्फी ‘बी३४५ काठमाडौं–भैरहवा–लखनउ’ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमत भए। यस सम्बन्धमा कार्यविधि (मोडालिटी)लाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयन प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्शहरू गरिनेछन्।’

नेपालको डेढ दशक लामो कसरत

भैरहवा र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना अघि सारेसँगै नेपालले सन् २००९–२०१० देखि नै भारतसँग पश्चिमी क्षेत्रबाट थप हवाई प्रवेश मार्ग माग गर्दै आएको थियो। हालसम्म पश्चिमबाट आउने अन्तर्राष्ट्रिय जहाजहरूले भैरहवामा अवतरण गर्न सिमराको आकाश हुँदै करिब ३०० किलोमिटर लामो घुमाउरो बाटो तय गर्नुपर्ने बाध्यता थियो।

उड्डयन क्षेत्रका अधिकारीहरूका अनुसार सिमराको बाटो घुमेर आउँदा जहाजहरूलाई ३० देखि ४० मिनेट अतिरिक्त समय लाग्ने र प्रत्येक उडानमा करिब ३ हजार अमेरिकी डलरसम्म अतिरिक्त इन्धन खर्च हुने गरेको थियो। यही उच्च सञ्चालन लागतका कारण विदेशी वायुसेवा कम्पनीहरू भैरहवा आउन हिचकिचाउँदा अर्बौं लगानीमा बनेको विमानस्थल पूर्ण क्षमतामा चल्न सकेको थिएन।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा ६ महिनाभित्र हवाई रुटको समस्या सुल्झाउने प्रतिबद्धता जनाइए पनि त्यसले मूर्त रूप लिन सकेको थिएन।

भारतको विगतको अडान र सर्त

नेपालले विगतमा महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र जनकपुरबाट हवाई रुटको प्रस्ताव राख्दै आएको थियो। तर, भारतले मुख्यतः ‘राष्ट्रिय सुरक्षा संवेदनशीलता’ र आफ्नो पश्चिमी हवाई क्षेत्र भारतीय वायुसेनाको नियन्त्रणमा रहेको कारण देखाउँदै अनुमति दिन आनाकानी गर्दै आएको थियो। भारतले प्रस्तावलाई सिधै अस्वीकार नगरे पनि प्राविधिक अध्ययनको बहानामा लामो समयसम्म निर्णय टार्दै आएको थियो।

यस्तै, पछिल्ला द्विपक्षीय संवादहरूमा भारतले भैरहवा र जनकपुरबाट कम उचाइको हवाई मार्ग दिन लचकता देखाउँदै बदलामा नेपालको पूर्वी आकाश (विराटनगर–झापा क्षेत्र)बाट आफ्नो बागडोग्रा विमानस्थलका लागि हवाई मार्ग उपलब्ध गराउनुपर्ने ‘पारस्परिक लाभ’को सर्त अघि सारेको समाचारहरू सार्वजनिक भएका थिए। भारतको विदेश मन्त्रालयले भने उक्त रिपोर्टहरूको खण्डन गरेको छ।

महेन्द्रनगर रुटको विषय अझै छलफलकै क्रममा रहे पनि भैरहवा–लखनउ रुट दुईतर्फी बनाउने सोमबारको सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनमा रहेको प्रमुख कूटनीतिक तगारो खुलेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!