भीष्मालाई क्याम्पस प्रमुख बनाउन विद्यार्थी उचाल्दै एमाले

नेकपा (एमाले) उर्लाबारी नगर कमिटीकी इन्चार्जसमेत रहेकी उर्लाबारी बहुमुखी क्याम्पसकी सहायक क्याम्पस प्रमुख भीष्मा रेग्मी (भट्टराई)लाई क्याम्पस प्रमुख बनाउन एमालेनिकट अनेरास्ववियुले नयाँ-नयाँ हत्कन्ठा अपनाउन थालेको छ।

क्याम्पस प्रमुख खेमराज कार्कीलाई हटाएर भीष्मालाई स्थापित गर्न एमाले नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले विद्यार्थीलाई प्रयाेग गरिरहेका हुन्। शेयर बजारमा लगानी गरेर आर्थिक ब्यवहार बिगारेका बास्ताेलाले लगातार कार्कीसँग बार्गेनिङ गर्दा पनि क्याम्पस प्रमुख टसमस नभएपछि बास्तोलाले विद्यार्थी लगाइदिने धम्की दिएका थिए।

क्याम्पस प्रमुखनिकट स्राेत भन्छ- बास्तोलाले लेनदेनमा क्याम्पस चिफमा पुर्नस्थापित गराइदिने भनेका थिए। तर, अदालतले क्लिन-चिट दिएपछि कार्की खर्च गर्न तयार भएनन्।

क्याम्पस प्रमुख कार्की छिमेकी महिलालाई माेटरसाइकलमा लिएर उर्लाबारी फर्कँदै गर्दा महिलाकाे माेटरसाइकलबाट लडेर मृत्यु भएको थियो। कानुनी प्रक्रिया सबै पूरा गरी कार्की भदाै २८ गते थुनामुक्त भएका थिए। कार्की अदालतबाट निर्दाेष सावित भएर आएपछि असाेज ५ गते क्याम्पसकाे कार्यसम्पादन समितिले उनलाई पुन: क्याम्पस प्रमुखकाे जिम्मेवारी ताेक्याे। यसअघि नै एमालेले कार्कीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएकाे थियाे।

एमाले नेतृत्वले भेटेर एकपटक र फाेनमा पटक-पटक पार्टीलाई सहयाेग गर्न आग्रह गरेका थिए। तर, कार्कीले सहयोग गर्न नसक्ने भनेपछि बास्ताेलाले साेही दिन कार्कीलाई पार्टीबाट निष्कासन गरेकाे पत्र थमाएका थिए। क्याम्पसमा २१ सदस्यीय क्याम्पस सञ्चालक समिति गठन गरिएको छ। जसमध्ये ८ जनाकाे कार्यसम्पादन समिति छ। क्याम्पस प्रमुख र एकजना विदेश रहेका सञ्चालकबाहेक सबैले सर्वसम्मत रुपमा कार्कीलाई पुर्नियुक्त गर्न सकिने निर्णय गरेकाे थियाे।

निर्णय गर्नेमा मुक्तिप्रकाश न्याैपाने, पुष्प ढकाल, विशाल आङ्दम्बे ,गीता खतिवडा, ज्ञानेन्द्र ओली, कृष्णराज गुरुङ र गजेन्द्र दंगाल रहेका छन्। कार्य सम्पादन समितिकाे निर्णय कार्य समितिमा छलफल पनि भयाे। कार्य समितिमा नगरप्रमुख गंगाप्रसाद खरेल पदेन सदस्य हुने व्यवस्था छ। मेयरले बैठकमा क्याम्पस प्रमुख कार्कीलाई पार्टीको पत्र देखाउँदै नैतिकपतन भएको व्यक्तिलाई क्याम्पस प्रमुख बनाउन नसकिने धारणा राखेका थिए। मेयरकाे धारणापछि बैठक निर्णयविहीन भएको थियो।

क्याम्पस प्रमुख कार्कीले भने प्राज्ञिक क्षेत्रमा दलीय राजनीतिले क्याम्पसकाे  शैक्षिक भविष्यमा प्रश्न उठेको बताएका छन्। उनले नैतिक पतनकाे आराेप लगाएर आफूलाई हताेत्साहित गराएको बताए। अदालतले दिएकाे सफाइभन्दा एमालेले पार्टीबाट निष्कासन गरेको कुराले प्राथमिकता पाइरहेको कार्की बताउँछन्।

प्रकाशित मिति: : 2024-09-25 20:24:00

प्रतिकृया दिनुहोस्