खुला पत्र

कमल दाजु, पाथीभरा माताले पनि हेरिनन्…

रमा सिंह

काठमाडौं
File Photo
File Photo

एउटा खेलाडीको नाताले २०४० सालमा तपाईंलाई फुटबलको मैदानमा चिन्दा तपाईंको व्यवहार, विचार र कार्यशैली नै तपाईंको सफलताको सिंढी बनेको भन्ने ममा रहेको विश्वास ३८ बर्षपछि गर्ल्यामगुर्लुमै ढल्यो।

नेपालमा खेलकुदको संस्थागत विकासका प्रणेता स्वर्गीय शरद चन्द्र शाहको छहारी र विकास- अनुशासन-गतिशिलताको अनुशासित लक्ष्य बोकेको खेल क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्ने अवसर पाउनु भएकोले पनि बढी निष्ठावान र अनुशासित जीवन शैली अपनाउनु भएको होला भन्ने ठानेका म जस्ता धेरैलाई निर्वाचन परिणाम पछिको व्यवहारले तपाईंप्रतिको धारणा परिवर्तन गर्न स्वयम् तपाईंले नै बाध्य पारिदिनु भो, यसका लागि तपाईंलाई बधाई दिन चाहान्छु।

राप्रपाको निर्वाचन अघि र परिणाम पछि उल्लेख गर्नुभएको प्रसंग सन्तोष पन्तजीको प्रहशनभन्दा पनि रोचक बन्यो। निर्वाचन अघि ‘राजाको मलाई साथ छ’ भनेर राजाको सचिव सागरप्रसाद तिमिल्सिनाको नाम भजाएर प्रचारप्रशार गर्ने तर परिणाम ‘हात लाग्यो सुन्ना’ भए पछि ‘राजाले मलाई हराए’ भनेर धारे हात लगाउने चरित्रलाई राजनीति शास्त्रका विद्यार्थीले अध्ययनको विषयवस्तु बनाए पनि, नबनाए पनि, दशकौँ पहिले आफ्नै पार्टीको सरकार ढाल्न गर्नु भएको योगदानपछि राजनीतिमा मुसो प्रवृतिको विकास भयो भनेर लोकेन्द्र बहादुर चन्दले सार्वजनिक घोषणा नै गर्नुभएको प्रसंगले राप्रपा फेरि तरंगित भएको छ।

निर्मल निवासले चुनाव गराउने, जिताउने र हराउने गर्छ भन्ने महाज्ञान हुँदाहुँदै अधिवेशन किन गराइरहेको? ‘निर्मल निवासको मलाई आशिर्वाद छ ठोको ताली’ भनेको भए तरर... ताली बजी हाल्थियो ! यत्रो रोदन, क्रन्दन किन?

भोट त निर्मल निवासका ढोके, हुक्के, बैठकेले पक्कै हालेनन् ! तपाईंकै ४६०० महाअधिवेशन प्रतिनिधीले नै हालेका हुनाले मेरै कार्यकर्ताले मलाई किन हराए? स्वनाम मूल्याकंन पनि गर्ने कि?

हिन्दु राष्ट्र र राजसंस्थाको मुद्धा बोक्ने  ‘शनै शनै घस्कन्ते मन्त्री पदेन कुशलन्त भव’ भन्दै गणतन्त्रमा रमाउने छद्मभेषको पर्दा खुले पछिको भंगेरे चित्तले अग्लिएको उचाई ढलेको मात्रै हो सुध्रिने बाटो टुटी सकेको भने छैन। 

हिन्दु धर्म र राज संस्थाको मुद्धा बोकेकै कारण एक निर्वाचनमा  ‘एक भोट दाईलाई, एक भोट गाईलाई’ धर्म रक्षा गर्ने जिम्मा स्वरूप जनताले दिएको २५ सिटको सदुपयोग भयो? किन भएन?

२५ सिट २५ करोडमा लिलाम बढाबड भएको खबरको चर्चा चलेकै हो! संविधान सभाबाट संविधान अनुमोदन हुन नदिन मधेशवादी दलले बहिस्कार गर्दा राप्रपाका २५ सै जनाले लुरूलुरू संविधानमा ल्याप्चे त त्यसै लगाएका थिएनन्! त्यहाँ पनि ६५ करोडको गिन्ती गराउँदै   राष्ट्रसंघको जेनेभा कार्यालयमा विश्वकै उत्कृष्ट संविधानको प्रशस्ती गाउन पुग्दाको परिणत पनि हो कि यो चुनाबी परिणाम!

हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर राष्ट्रपतिको प्रस्तावक/समर्थक बन्दै बेग्लै विचारधाराका ३ प्रधानमन्त्रीको कार्यकालमा उप-प्रधानमन्त्री बन्दै जाने कार्यशैलीले गर्दा २०७४ सालको निर्वाचनमा जनताले २५ बाट १ मा झारे।

त्यति बेला नै जनताले चुनाव त हराएकै हुन् नि। त्यो बेला राजाले चुनाव हराए भन्ने ज्ञान किन आएन ?

२५ सिटको उन्माद पछि कार्य समितिको बैठकमै -
‘राजा राजा भन्दै हिंड्ने हामी भजन मण्डली हौँ र?’
‘हामीले राजसंस्था भनेका हौँ पूर्वराजा भनेका हैनौँ’

‘राजाले राप्रपा फुटाउने खेलमा लागे यसकाे मूल्य महंगो पर्न सक्छ’ भन्ने जस्ता सानो चित्त र तुच्छ विचार आफ्नै एजेण्डामाथि व्यक्त गर्दै हिँड्नु नैतिकताको पराकाष्ट भन्दै धेरैले राप्रपा परित्याग गरेको बिर्सनु भएको पक्कै छैन होला?

आफु बाहेक अरूलाई सुन्दर नदेख्ने आनीबानीले स्वयं अलोकपृय दलदलमा भासिने क्रममा राजनीतिका  अग्रजहरूलाई ‘अल्छी बुढो घोडा’ र युवालाई ‘आला काँचाहरू -टुंडिखेलमा दौड’ जस्ता अभिव्यक्तिले तपाईंलाई  ‘म शुन्यमा शुन्यसरी हराए’ नबनाउला भन्न सकिन्न!

इमान र निष्ठाको राजनीति गरेको भए पाथीभरा माताको शरणमा जब्बरजस्ती अरूलाई उभ्याएर कसम खुवाउने दुष्चरित्र पनि देखा पर्दैन थियो कि? तर के गर्नु पाथीभरा माताले पनि पूर्वेली लिम्बुको सत्य र निष्ठाको परख गरिन्!

किन निर्मल निवास तिर मात्रै धारे हात लगाउनुहुन्छ , उनै पाथीभरा मातालाई पनि धारे हात लगाउने कि?

प्रकाशित मिति: : 2021-12-07 18:30:00

प्रतिकृया दिनुहोस्