आइतबार, ०५ अप्रिल २०२६

एनआरएनए कम्बोडिया र नेपाली दूतावास थाइल्याण्डको मिलेमतोमा उद्धारको नाममा कमाउधन्दा!

News Image
• • •

कम्बोडियाका अवैध ‘स्क्यामिङ सेन्टर’हरूमा बन्धक बनाइएका र अलपत्र पारिएका नेपाली युवाहरूको उद्धार प्रक्रियामा बैंककस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ कम्बोडियाका उपाध्यक्ष रामजीकुमार क्षेत्रीको मिलेमतोमा एक संगठीत लुटधन्दा चलिरहेको तथ्य बाहिर आएको छ।

सरकारी निकायले आधिकारिक ‘सम्पर्क व्यक्ति’ तोकेकै व्यक्तिबाट उद्धारको नाममा प्रतिव्यक्ति लाखौं रुपैयाँ हुण्डीमार्फत असुल्ने र आफ्नै होटलमा बन्धकजस्तै बनाएर महँगो शुल्क तिर्न बाध्य पार्ने गरेको प्रमाणहरू फेला परेका छन्।

कम्बोडियाको राजधानी नोम पेन्ह बाहिर रहेका नेपालीहरूलाई १—२ दिनमै स्वदेश फर्काइदिने प्रलोभन देखाएर राजधानी बोलाउने र त्यहाँ पुगेपछि उनै क्षेत्रीले आफ्नै होटल तथा रेष्टुरेन्टमा राखेर प्रतिदिन २२ अमेरिकी डलर सम्मको महँगो शुल्क असुल्ने गरेको पीडितहरूको गुनासो छ। 

बैंककस्थित नेपाली दूतावासको पहलमा बोलाइएका ती युवाहरूलाई विभिन्न बहाना निकाल्दै १० देखि १२ दिनसम्म क्षेत्रको होटलमा बस्न बाध्य पारिन्छ— जसले गर्दा निःशुल्क हुनुपर्ने उद्धार प्रक्रिया पीडितहरूका लागि आर्थिक भार र मानसिक तनावको अर्को कारण बनेको छ।

गैरआवासीय नेपाली संघ कम्बोडियाका पदाधिकारी र नेपाली दूतावास थाइल्याण्डका कर्मचारीहरूको मिलेमतोमा भइरहेको ठगी धन्दामा आर्थिक लेनदेनका लागि अवैध हुण्डी मार्ग र व्यक्तिगत बैंक खाताको समेत प्रयोग भएको पाइएको छ।

एनआरएनएन कम्बोडियाका उपाध्यक्ष क्षेत्रीले मुक्तिनाथ विकास बैंकको आफ्नो व्यक्तिगत खाता नम्बर— २२२१६००५६६०९७०००००१० को क्युआर कोड पठाएर नेपालमै रकम जम्मा गर्न लगाउने र सो रकमलाई अवैध हुण्डीमार्फत कम्बोडिया परिचालन गर्ने गरेका छन्।

नेपाली दूतावासका कर्मचारीसमेत संलग्न रहेको यो कार्य सरासर सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुर अन्तर्गतको गम्भीर अपराध हो। प्राप्त प्रमाणहरूका अनुसार उद्धारको डिल ९० हजारदेखि १ लाख रुपैयाँसम्म हुने गरेको ‘च्याट स्क्रिनसट’हरूले पुष्टि गरेका छन्।
 
सबैभन्दा गम्भीर कुरा त, पीडितहरू कम्बोडियाबाट डिपोट भई सुरक्षित स्थानमा पुग्नेबित्तिकै एनआरएनएन कम्बोडियाका उपाध्यक्ष क्षेत्रीले प्रमाण मेटाउन वाट्सएपका सम्पूर्ण कुराकानी र लेनदेनका विवरणहरू डिलिट गर्ने गरेका छन्।

‘डिजिटल प्रमाण नष्ट गरेर कानुनी कारबाहीबाट बच्ने यो सुनियोजित जालसाजीले यो एक संगठित अपराध भएको प्रष्ट पार्छ,’ कानुनका एक जनकार बताउँछन्। 

बैंककस्थित नेपाली दूतावासले यस्ता विवादास्पद व्यक्तिलाई आधिकारिक जिम्मेवारी सुम्पिएर मौन बस्नुले दूतावासका कर्मचारीहरूको भूमिकामाथि समेत ठूलो प्रश्न चिन्ह खडा गरेको छ। दूतावासका कर्मचारीलाई यसबारेमा बुझ्दा खोज्दा सम्पर्कमा आउनै चाहेनन्।

दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा रामजी कुमार क्षेत्रीलाई नै सम्पर्क व्यक्तिका रूपमा तोकिनुले यो लुटतन्त्रमा सरकारी कर्मचारीको पनि सेटिङ रहेको आशंकालाई बल दिएको थाई नेपाली संघ थाइल्याण्डका एक पदाधिकारी बताउँछन्।

‘सामाजिक सेवाको मुकुण्डो लगाएर नेपालीमाथि लुट मच्चाउने भ्रष्ट प्रतिनिधि र तिनलाई संरक्षण दिने दूतावासमाथि तत्काल छानबिन गर्न आवश्यक छ,’ एनआरएनए थाइल्याण्डका एक सदस्यले भने, ‘नेपाल सरकार परराष्ट्र मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हुण्डी, ठगी र पदको दुरुपयोगको सत्यतथ्य बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्नुपर्ने देखिन्छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!