कविता के हो? कविता कस्तो हुनुपर्छ? के कविताका अनेक अनुहार हुन्छन्? कवि को हो? सायद मेरा लागि सबैभन्दा कठिन प्रश्नहरु यिनै हुन। सायद मैलै कवितालाई चिनेको छैन। उत्तम कविताका अनुहार कस्ता हुन्छन्, म त्यो पनि छुट्टयाउन बिर्सिन्छु तर म कवितालाई प्रेम गर्छु। कहिले काहिँ आफूले चिनेका कविताका अनुहार कापीमा उतार्ने प्रयास गर्छु तर सायद सिपालु छैन, मैले कोरेको कविता धमिलो हाँस्छ।
म पेशाले इन्जिनियर हुँ र एक छोरीको बाउँ पनि। काँधमा अलिकति पेशागत जिम्मेवारी, हृदयमा छोरीप्रतिको प्रेम, पारिवारिक र सामाजिक बन्धनमा बाँधिएर म मान्छे हुनुको गौरव बोकेर हिँड्ने प्राणी तर पनि शौखको कुनै आयाममा कविताका लागि प्रेम जोगाएर राखेको छु। म कविता लेख्दिन् तर कविता औधी मन पराउँछु। मेरा वरिपरीका साथीहरु कविता लेख्छन्। कविताका बारेमा गफ गर्छन्। आलोचना गर्छन्। विषयगत समालोचना गर्छन् तर म उनीहरुका कुरा सुनिदिन्छु। रमाइलो लाग्छ।
तपाईंलाई के लाग्छ? कवि, लेखकहरु कहाँ हुन्छन् होला? कस्ता हुन्छन् होला?
कुनै एक प्राकृतिक दृश्यको अवलोकन गर्दै सुन्दर नदिको काखमा हुन्छ कवि? कि त नगरकोटि जस्तो समसान घाटमा? सफेदीमा जीवन गुथेको गुल्जार जस्तो हुलियामा हुन्छ कवि? कि त कविले सिरमा भादगाउँले टोपी र साइडमा जोगीको झोली जस्तो झोला बोकेको हुनुपर्छ? तपाईं र मैले सोचे विपरीत प्राय: सबै कवि लेखकहरु हामी जस्तै सामान्य मान्छे हुँदा रहेछन्। यो कुराको पनि मलाई धेरैपछि बोध भएको हो। यस्ता मान्छेहरु आजकल पुस्तकालयतिर, कि त क्याफे वा चिया पसलतिर नै भेटिन्छन् र म परे औधी चिया पिउने मान्छे, त्यसैले कुनै संयोग नभनौ यस्ता मान्छेसँग प्राय: म चिया पसलतिरै भेट्छु।
दैनिकीको हिस्सा न हो, आज पनि अफिसको काम सकेर चिया पिउन क्याम्पस रोड हुँइकिए र सृष्टि क्याफेमा छिरें।
क्याफेभित्रको एक कुनामा क्याम्पसका विद्यार्थी जस्ता देखिने केटाकेटी समूह बनाएर बसेका थिए। म त्यतै नजिकको टेबलमा गएर थचक्क बसें। पछि थाह भयो, उनीहरु त्यै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी रहेछन्। समूहमा छ–सात जना जति केटाहरु थिए र बीचमा दुईजना केटी साथी पनि, मस्त चिया पिइरहेका थिए। उनीहरु अनेकन प्रसंगका कुराकानी निकालेर चियाको बाफसँग हाँसो उडाइरहेका थिए।
हुन त मलाई युवाहरुसँग घुलमिल हुन खुब मनपर्छ। युवाहरुसँग मेरो उमेर नमिल्ला तर मैले तालमेल मिलाउन राम्ररी जानेको छु। एकपटक त उनीहरुको बगलमा मिसिउ कि? जस्तो पनि लाग्यो।
तर उनीहरु कतिबेला कक्षाका, कतिबेला क्याम्पसका र कतिबेला आफ्नै प्रोफेसरका किस्सा सुनाउदै जिस्किरहेका थिए। त्यसैले म कसैको दाई वा काका उमेरको मान्छे यस्तो माहोलमा उनीहरुबीच समाहित हुनु उपयुक्त ठानिन्। म उनीहरुका गफ सुन्दै एक टकले चिया पिउँदै बसें। उनीहरुको यस्तो खुबसुरत समय देख्दा आफ्नै कलेज लाईफ र जिग्रीहरुको याद पनि आयो।
'क्या जीन्दगी छ यार!'
उनीहरुले मस्तै बात मारे। मैले त्यतिन्जेल दुई कप चिया घुट्क्याँए। दुई चार वटा सिग्रेटको टाउको पोलें। समूहमा गफ चल्दै थियो एउटा केटीले बोलिदिई, 'साथीहरु कविता नसुनेको पनि धेरै भयो, कसैको केहि नयाँ छ भने सुनम न।'
एकैछिनमा त्यहि कोलहालबाट खैरो क्याप लगाएको, हल्का झुसे दाह्री पालेको एउटा केटो उभियो र कविता सुनाउन थाल्यो। कविता भन्ने बित्तिकै म पनि कान ठाढा पारेर सुन्न तम्सिए। उसले एउटा कविता सुनायो। कविता राम्रो थियो वा नराम्रो भनेर मैले छुट्याउन सकिन तर उसको कविताले मेरो मानसपटलमा डेरा जमायो। म कविताबाट प्रभावित भए। निस्किदा उसँग परिचय गरेर फोन नम्बर मागें।
बाटोभरी उसको कविताको याद आइरह्यो। घर पुगेर अफिसको काम गर्न खोजे ध्यान एकाग्र हुन सकेन। एक छिन छोरीसँग खेलें तर पनि उसको याद हटेन। राति सुत्ने बेलासम्म पनि उसको कविताले मगज हल्लाइरह्यो। कानमा एउटै आवाज गुन्जिरह्यो।
उसैको कविता जस्ताको त्यस्तै,
झण्डामा, हिमालमा
गुराँसमा
रुँदै रुँदै त्यो स्वाभिमान लेखिरहेछ
त्यो गिद्द त्यतैबाट आएको हो
जहाँबाट घाइते परेवाहरु आएका थिए
हो साँच्चै मेरो देश डुबेको हो
किनकी देश बनाउनेहरु,
त्यतैबाट आएका हुन
जहाँबाट एक अबला नारी
नाङ्गै आएकी थिई।
उसको कविताले मलाई रातभरि रन्थनाइरह्यो। रातभरि राम्ररी सुत्नै सकिन। बिहान शरीर बोझिलो महशुस भैरहेको थियो, तै पनि जागिरे मान्छे जो परियो अफिस त जानै पर्यो। मन नलागी नलागी पनि अफिस गएँ तर दिनभरि काममा ध्यान गएन। त्यो कविता सुनाउने भाईलाई भेट्ने भोग जागिरह्यो। म दिनभरि साँझको पर्खाइमा थिए। आज त चार नबज्दै अफिस छोडेर घर हुइकिए । अनि दिनभरिको पर्खाई जो थियो फेरी क्याम्पस रोडतिर हानिए।
आज पनि सृष्टि क्याफेभित्र हिजोका तिनै युवाहरु टेबल जमाएर बसेका थिए। हिजो कविता सुनाउने बिज्ञान भाईलाई टाढैबाट चिनिहाले। उ त्यतै कतै बीचमा बसेको थियो। उसैसँगको अर्ध परिचयको आडले म उनीहरुकै समिप गए। बिज्ञानले मलाई देखेर नमस्कार दाई भनेर सम्बोधन गर्यो। सोधिहाल्यो दाई बस्नु न!
मैले नकार्न सकिन। लाज पचाएर यथार्त भन्नु पर्दा मलाई नकार्ने मन नै थिएन। म उनीहरुकै माझमा बसिदिए। बिज्ञानले उसका सबै साथीहरुसँग मेरो सामान्य परिचय गरायो। मैले सबैलाई चिया मगाए। आज उनीहरुको समूहमा मसहित जम्मा सात जना भयौं ।
उनीहरु कविता, पुस्तक, कवि, लेखकका यस्तै विषयमा गफ गरिरहेका थिए। सायद कवि, लेखकका गफ गर्ने विषय नै यिनै हुँदा हुन। अनि सोधिहालेँ, मनमा कविताको भोक जो थियो। आज भाई बहिनीका केहि रचना छन् भने सुनौं न भनेर आग्रह गरें।
बिज्ञानले आज फेरी 'बन्दुक' शिर्षको कविता सुनायो। ऊ क्रान्तिबाट अलि बढि नै प्रभावित रहेछ। उसका प्राय: सबै कविताहरु बिद्राही रैछन्। केशवले बढि प्रेम लेख्ने रहेछ। उसले 'गुलाब' सुनायो। आधीले पनि एउटा कविता सुनायो। कुमारले गजल सुनायो। अरु सबैले सुन्यौं मात्र। सबैका रचना उत्तिकै उम्दा थिए।
यदि कुनैदिन शब्दलाई हतियार बनाएर युद्ध लडियो भने लागिरहेको थियो बन्दुको गोलीले भन्दा गहिरो तवरमा मान्छेको दिल यिनिहरुकै कविताले छेड्नेछन्। हिजो त बिज्ञानको कविताले मगज मात्र हल्लाइरहेको थियो। आज त कविताले पागल नै बनाइदियो। आज साँच्चै रन्फनिएको थिए। घर पुगेर दुई प्याक वाईन चढाएर ओछ्यानमा घुप्लुक्क सुते।
फेरी उहि दैनिकी न हो। अफिस - चियापसल - तिनै भाईबहिनीसँग भेटघाट - साहित्यिक खुराक। यस्तै सिलसिल करिब दस पन्ध्र दिन मजैले चलिरह्यो। मानौं एक किसिमले मेरो उनीहरुसित दोस्ती बस्यो। मलाई उनीहरुको लत लाग्यो।
यी युवाहरु कोहि पनि कसैको बन्धनमा छैनन्। सबैका भिन्न विचार छन्। भिन्नै ल्याकत छन् र मुख्य त उनीहरु स्वतन्त्र छन्। निस्फिक्री छन्। शायद कवि, लेखकहरु यस्तै स्वतन्त्र हुन पाउनु पनि पर्छ।
उनीहरुको समुह कुनै राजनैतिक गुट बन्धन पनि होइन। नव युवा कवि, लेखकहरुलाई हातमा लिएर उनीहरुकै दम्भ वा काँधमा टेकेर साहित्यका गडफादर बन्न खोज्ने कोहि कथित लेखक, साहित्यकारको नेतृत्व वा भातृ संगठन पनि होइन। स्वतन्त्र साहित्यिक अनुरागी र कविता प्रेमीहरुको साहित्यप्रति यो समर्पण देखेर साँच्चिकै शिखर पुगेको अनुभव हुन्छ। म आजभोलि उनीहरुका आँखामा देवकोटा, भानू र भूपि इत्यादिका आकृति देख्न थालेको छु। युवा पुस्ताले कवितालाई यसरी प्रेम गर्नु नेपाली साहित्य जगतका लागि गौरवको विषय हो भन्ने लाग्यो।
हुन त म कुनै कवि वा लेखक पनि होइन। नेपाली साहित्य जगतमा कुनै कतै छेउ र टुप्पोमा पनि मेरो कुनै नाम, निशान छैन तर म कथा, कविता मन पराउने मान्छे भएका नाताले मेरो गुनासो गर्ने हक पनि छ जस्तो लाग्छ।
यदि तपाईं छैन भन्नू हुन्छ भने पनि भैगो छाडिदिनुहोस् तपाईंलाई बोर गर्दिन्।
सुनाउ? कि नसुनाउ?
सुनाउ? कि त नसुनाउ?
खैर तपाईं भन्नुहुन्छ भने सुनाइदिन्छु।
यसरी साहित्यलाई प्रेम गर्नेहरु जन्मिरहँदा अहिले अलिकति पाकेका साहित्यकारहरु विभिन्न जात, धर्म, भूगोल र राजनैतिक संगठनको संगलग्नता आदिको आधारमा गुट बनाउँछन्। देशको साहित्यक माहोलमाथि आफ्नो बर्चस्व बनाइराख्न केहि गडफादरहरु बन्न खोज्छन्।
त्यसपछि
त्यो त
........गुटको मान्छे, ...........धर्मको मान्छे, ...........पार्टीको मान्छे।
यो सब मलाई वाहियात लाग्छ। राजनीति लेखकका लागि होइन। तर असल राजनीतिको मार्ग देखाउन सक्ने ल्याकत लेखक वर्गमा हुन्छ जस्तो लाग्छ। आज मेरा आँखा अगाडि कविता सुनाइरहेका यिनै बिज्ञान, केशव, आधी जस्ता भाईबहिनीका आँखामा भुपीको अनुहार। कसैमा देवकोटाको आत्म। कसैमा भानुको प्रतिबिम्ब देखिरहेको छु। कास कथित गडफादर बन्न खोज्नेहरु र यो मैले नबुझ्ने विशाल जालो बुन्नेहरु यी युवाका सहयात्री बनिदिएको भए। युवा लेखकका सपनालाई आफू एक स्वतन्त्र लेखक बनेर मार्ग निर्देश दिन सकेको भए।
म यसैबीच एकछिनलाई आफ्नै युवापन र यस्तै जुझारुपन सम्झिन चाहन्छु। समय यस्तै करिब पन्ध्र वर्ष अघिको हो। यस्तै कलेज पढ्ने उमेरमा म पनि खुब कविता लेख्थें। साहित्य भनेपछि हुरुक्कै हुन्थें, अहिलेका यिनिहरु जस्तै। पछि पनि लेखक बन्ने सपना देख्न थालें र अन्तत: त्रिभुवन विश्वविद्यालयमा साहित्य पढ्न सुरु गरें।
राजधानीमा भ्याएसम्म साहित्यका कार्यक्रमहरु कहिल्यै छुटाइन। एक सबल साहित्यकार बन्ने सपना बोकेर हिँडेको अधवैंशे थिए। जेहोस् साहित्यको भोक निक्कै थियो। बिस्तारै कयौं कविता लेख्नेसित संगत हुन थाल्यो। कयौं कवि, लेखकसँग परिचय पनि हुन थाल्यो। लाग्यो राजधानी भनेको आखिर राजधानी नै हो। यत्तिका अवसर मेरो कर्णालीमा कहाँ पाउनु?
बुवाले मलाई डाक्टर भएको देख्न चाहानुहुन्थ्यो तर दाइले मलाई इन्जिनियर पढ भनेर कर गरिरहनुभएको थियो। म अलि जिद्दि स्वभावको थिए। मैले काठमाडौं जान्छु, साहित्य पढ्छु भनेपछि कसैको केहि लागेन। साहित्य पढिरहेकै बीचमा पनि दाईकै करले एक ईन्डियन युनिभर्सिटीमा स्कलरसिपका लागि ईन्जिनियरिङको परीक्षा पनि दिएको थिँए तर पनि म आफ्नो मनोमानी गरिरहेको थिए। किनकि म सपना पछ्याइरहेको थिए।
स्वतन्त्रता खोजिरहेको थिए। मेरो साहित्यको पढाई र माहोल पनि राम्रै बनिरहेको थियो। मेरा रचनाहरु दैनिक पत्रपत्रिकातिर छापिन थालेका थिए। केहि संयुक्त संगालोहरुतिर पनि रचनाहरु आउन थालेका थिए। सबैले मेरा कथा, कविताहरुको तारिफ गर्थे। यसरी मेरो एक उचाइको परिचय बनिसकेको थियो।
यसैबीचमा के भयो, कसरी भयो, किन भयो यिनै विषयमा म चर्चा गर्न चाहन्न तर जे भयो एक कालखण्ड सिर्जना भयो। मेरा चेतना उहि थियो, लेखनी उहि थियो तर पनि मेरा कथा, कविताहरु छापिन छोडे। अहिलेको जस्तो सामाजिक संजालहरु पनि त त्यतिबेला यति सक्रिय थिएनन् जहाँ म मेरा कुरा राख्न सकु। निस्फीक्री रचनाहरु प्रकाशन गर्न सकु। मेरो लेखनीको प्रसंसा गर्नेहरु हराए।
कयौंसँग बिना कसुर संगत छुटियो र यसरी म एक पात पात्र बन्न पुगें। एक विवादित पात्र बन्न पुगें। केहि नैतिक हस्तक्षेप हुन थाल्यो। यो सब कुरा र चंगुल बुझ्न मलाई धेरै समय लाग्यो। म मानसिक तनाबमा जान थालें। म त स्वतन्त्रता चाहेको मान्छे। आँकलन गरेको थिइन कि मैले सोचेको स्वतन्त्रताभित्र यस्तो एक खौफनाक पिजडा पनि होला भनेर। मलाई विवादित पात्र बन्नु थिएन। भलै म कुनै लेखक भनेर नचिनिउँला तर म यो खेल र जालबाट केवल मुक्त हुन चाहे। काँचो दिमागले केवल यत्ति सोच्न सक्यो।
मैले आफू देवकोटा बन्ने सपना त्यागें। भूपि, भानु बन्ने जोस हरायो। अन्तत आफू पढिरहेको विश्वविद्यालय र पढाई पनि बीचमै त्यागें। फाईनल परीक्षा पनि दिइन। जुन लेखक, साहित्यकारबाट प्रेरित थिए, उनीहरुदेखि घृणा जाग्न थाल्यो। कुम्लो कसेर जालीहरुको शहर छोडेर म कसैलाई नभनी सुटुक्क आफ्नै कर्णाली फर्किए।
घर आइपुग्दा आमाको गोडामा ढोग गर्ने थकित अनुहारको आँखाभरी आँसु र झोलाभरी केवल पुराना लत्ता कपडा र किताब मात्र पुगे। दुईचार दिन म किन एक्कासी घर आए, किन बसाइँ सरेजस्तो बोरिया बिस्तारा कसेर आए, कसैलाई भनिन्। बुवाले एक दिन एक्कासी किन आइस् त बाबु भनेर सोध्नुभयो। बुवालाई छुट्ठि छ भनेर टारिदिए। दाई घरमा हुनुहुन्थेन अनि अरु कोहिले खोजिनीति गर्ने कुरै थिएन।
एक, दुई हप्ता त यत्तिकै कट्यो तर झुटलाई कति दिनसम्म लुकाएर राख्न सकिन्थ्यो र? एक दिन मैले पढाई बीचमै छोडेर आएको कुरा घरमा सबैलाई थाहा भयो अनि के हुनुथियो र त्यहाँ?
हो तपाईंले अहिले कल्पना गरेजस्तै ठ्याक्कै त्यस्तै,
घरमा बबाल मच्चियो। सबैको गाली, भनाई, सब खाइयो। के के भयो, के के भएन। त्यो सब यहाँ बताउन नसकिएला तर यत्ति बुझ्नुहोस्। म सबको नजरमा निकम्मा साबित भए। त्यसपछि मेरो सब फुर्ति हरायो। सधैं उदास बसिरहन्थे। प्राय: यहि कि अब मेरो भोलि कस्तो हुन्छ? अब के गरु? यसरी नै दिन बिते, हप्ता बिते र महिना पनि बित्यो।
एक दिन कुनै एक अन्जान नम्बर बाट कल आयो। नम्बर लामै थियो। त्यसैले आँकलन गर्न सकिन की कहाँबाट हो, कसको होला तर यत्ति थाहा थियो कि त्यो नेपालको नम्बर भने पक्कै थिएन। फोन उठाए।
आवाज आयो,
Hello is this mr. Arjun Acharya?
yes , speaking. who is this?
i am mrs. Anjali from DIT university, india. Congratulation mr. Arjun you got a scholarship for engineering. You please kindly recieve your admission letter from indian embassy, kathmandu. good luck and have a great day.
यत्ति भनेर उसले फोन राखी। दाईको करले मलाई साहित्य पढिरहेकै बीचमा परीक्षा दिन परेको थियो। जुन कुरा मैले अघि पनि भनेको थिए। यो फोन कल त्यसैको नतिजा थियो तर मलाई स्कलरसिप पाएर त्यति खुशी लागेको थिएन। किनकि ईन्जिनियरिङ मेरो रोजाइमा थिएन तर पनि अब पढाई छोडेपछिको अरु उत्तम विकल्प पनि त केहि थिएन। घरबाट पनि ईन्जिनियरिङ पढ भनेर सम्झाई बुझाई गरेपछि मैले ईन्जिनियरिङ गर्नलाई भारत जाने निर्णय गरे।
मैले भोलिपल्टै काठमाण्डौं जाने सुरसार कसें। मेरो बच्चैदेखिको साथी भूपिनलाई फोन गरेर म ईन्जिनियरिङ गर्न भारत जान लागेको कुरा बताए र आफूलाई छिन्चुसम्म पुगाइदिन आग्रह गरे। एक बिहानै भूपिन र म घरबाट निस्कियौं। हुन त म सजिलै घरबाटै गाडी लिन सक्थे तर बाटोमै पर्ने भेरी नदिसँग एक छिन मनको बह नसाँटी जाने मन नै लागेन। भेरीको किनारमा निकै बेर बसें।
आफ्ना सम्पूर्ण साहित्यका पुस्तकहरु भेरीमा बगाइदिए। अहिलेसम्म लेखेका जम्मै कविताका डायरी र कलम बगे। भेरीसँगै लेखक बन्ने सपना बग्यो। केहि थोपा आँशु पनि लिएर समुन्द्रको हातमा राखिदिनु भनेर भेरी नदिलाई नासो जकाँए र केवल कविताको अन्तिम याद बोकेर एक भिन्न यात्रामा लम्किए। आज करिब १५ वर्ष भयो होला मैले त्यसदिन यता कुनैपनि कविता लेखेको छैन तर कविता प्रतिको प्रेमलाई कतै लुकाउन सकिन त्यसैले आजकल अरुका कविता शौखले सुन्छु।
आज यसरी म एक असफल लेखक चिया पिउँदै कुनैबेलाको आफू जस्तै उर्जावान कलिला लेखकका बीचमा एक अपुरो सपनाको पश्चाताप र साहित्य प्रतिको प्रेमलाई सन्तुलनमा राखेर उनीहरुका गफ सुनिरहेको छु। मेरै अगाडि बसेर मिठा मिठा गफ गर्दै, मेरै जस्तो सपना बोकेर चिया पिउँदै बसेका बिज्ञान, रिमा, केशव, आधी र यी सबै सबै मासुम अनुहारहरुमा म मेरै चेहरा देखिरहेको छु। म मेरै विगत देखिरहेको छु। मानौं कि यिनिहरु कुनै समयका ऐना हुन।