गाेदावारीमा जारी एमालेको प्रथम विधान महाधिवेशनमा पोलिटब्यूरो कायमै गरेर वरिष्ठ उपाध्यक्ष पद थप्नुपर्ने सुझाव संकलन भएकाे छ।
कर्णाली प्रदेश कमिटीका तर्फबाट सुझाव राख्दै अध्यक्ष गोरखबहादुर बोगटीले यस्ताे सुझाव दिएका हुन्।
महाधिवेशनकाे दोस्रो दिन अर्थात शनिबार तीनवटा केन्द्रीय निकायले प्रतिवेदन प्रस्तुत गरेका छन्। यससँगै शुक्रबार प्रस्तुत गरिएका प्रतिवेदनमाथि पनि छलफल र सुझावका लागि गठित १० वटा समूहमध्य ५ वटा समूहले पनि आफ्नो प्रस्तुति राखिसकेका छन्।
शुक्रबार कार्यक्रमकाे उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा अोलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै महासचिव ईश्वर पोखरेलले पनि संगठनात्मक प्रतिवेदन र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संसोधन प्रस्ताव प्रस्तुत गरेका थिए।
लुम्बिनी प्रदेशकाे तर्फबाट अध्यक्ष लिला गिरीले केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, दुई उपमहासचिव र सात सचिव राख्न सुझाव प्रस्तुत गरेका थिए। यस्तै, सुदुरपश्चिम प्रदेशबाट अध्यक्ष कर्णबहादुर थापाले ७ उपाध्यक्ष, ३ उपमहासचिव र ७ सचिवको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए।