नेपाली कांग्रेसका नगरसभा सदस्यहरूले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैं खोलेका छन्।
मेयर धनराज आचार्यसंग तीन बुँदे सहमति भएको भन्दै नेपाली कांग्रेस समर्थित नगरसभा सदस्यहरूले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैं खोलेका हुन्।
गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा माघ १० गतेसम्मका लागि स्थगित गरेको भन्दै आक्रोशित उनीहरूले मेयर आचार्यसहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए।
सोही दिन नेकपा एमाले समर्थित नगरसभा सदस्यहरूले भने महानगरको बिशेष नगरसभाले पारित गरेका एजेण्डाहरू त्यस दिनको नगरसभाको एजेन्डामा नै नपरेको भन्दै बहिष्कार गरेको पोखरा ५ का वडाध्य्क्ष बिष्णु प्रसाद बरालले जानकारी दिए।
नेपाली कांग्रेस पोखरा महानगर संसदीय दलका नेता दिवास्मान प्रधानाङ्गले दिएको जानकारी अनुसार, मेयर धनराज आचार्यसँग पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूबीच गत मंसिर २३ गते बसेको विशेष नगरसभामार्फत पारित सातबुँदे सहमति अक्षरंश पालना गर्ने, सम्पूर्ण वडा कार्यालय, महाशाखा, शाखालगायत खर्च केन्द्रहरूका शीर्षकान्तर र रकमान्तर हुन नसकी पुर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प हुन गएको अवस्थामा महानगरको १६ औं नगरसभामार्फत आवश्यक निर्णय गर्ने गरी चालु नगरसभा माघ ११ गते बोलाउने सहमति भएको छ।
कांग्रेस संसदीय दलका नेता आफूहरू करारका कर्मचारीलाई माघ १ गतेदेखि करारमुक्त गर्ने र महानगरमा काजमा आएका कर्मचारीलाई उसकै दरबन्दीमा फर्काउने लगायतका निर्णयहरू कार्यान्बयन गर्नमा प्रतिबद्ध रहेको बताउँछन।
यता नेकपा एमालेका तर्फबाट पोखरा ५ मा वडाध्यक्ष बनेका विष्णुप्रसाद बरालले बिगतमा आफ्नो पार्टीसंग भएको सहमति बमोजिमका एजेण्डाहरू माघ ११ गतेको नगर सभामा पेश नभए बैठक नै चल्न नदिने दाबी गर्छन। वडाध्यक्ष बराल आउने नगसभा बैठकमा आर्थिक महाशाखा गठन, बक्यौता रकम असुली सम्बन्धि कार्य योजना लगायतका प्रस्ताबहरू नआएमा बैठक नै चलन नदिने बताउँछन।
वडाध्यक्ष बरालको प्रश्न छ , ‘जनप्रतिनिधिसँग भएको सहमति कार्यान्वयन गर्न कांग्रेस सहमत हो भने महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा किन ताला लागाइएको हो? उनीहरूले किन तालाबन्दी गरेर किन खोले त?’
सहमति कार्यान्वयन सम्बन्धमा नगरसभामा नै छलफल गर्न सक्ने अवस्थामा नेपाली कांग्रेसले महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेर महाभूल गरेको वडाध्यक्ष बरालको टिप्पणी छ।