‘मातृभूमि जागरण’को अभियानमै व्यस्त छन् भीम रावल

Break n Links
Break n Links

मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावल यतिखेर देश दौडाहामा छन्। संगठन निर्माणका लागि विभिन्न जिल्ला धाइरहेका उनी पार्टी घोषणाको अन्तिम तयारीमा जुटेका छन्।

देशभक्तिपूर्ण राजनीतिक शक्ति निर्मााण गर्ने योजनामा रहेका उनले आफ्नो गृहजिल्ला अछामसहित विभिन्न जिल्लाको भ्रमण गरिसकेका छन्।

उनी जेठ ८ गतेदेखि २३ गतेसम्म अछामसहित नवलपरासी, दाङ, बाँके, कैलाली, डोटी र चितवन पुगे। त्यहाँ उनले विभिन्न पार्टीका नेता–कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूसँग छलफल गरेको बताइन्छ।

पूर्वमन्त्री रावल राजधानी फर्किएलगतै राजावादी आन्दोलनसँग जोडेर केही सञ्चारमाध्यम र अराजक व्यक्तिहरूले अनेकन अफवाह फैलाएपछि उनको सचिवालयले तुरुन्तै खण्डन गरेको छ।

उनले आफ्ना सुभचिन्तक र कार्यकर्ताहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्।

‘दुई हप्ता मातृभूमि जागरण अभियान, नेपाल अन्तरगत विभिन्न जिल्लामा कार्यक्रम गरी काठमाडौं फर्कदा मेरो बारेमा विभिन्न हल्ला चलाइएको सुनियो। हामीहरू उक्त कार्यक्रममा निरन्तर क्रियाशील छौं। यस बाहेकका अन्य हल्ला निराधार भएको तथ्य स्पष्ट गर्दछु,’ रावलले भने।

उनी अहिले मातृभूमि जागरण अभियानको समीक्षा र भेटघाटमै व्यस्त छन्। केही दिनअघि दाङ पुगेर रावलले एमालेका महासचिव शंकर पोखरेलबाट पेलिएका नेताहरूसँग अन्तरक्रिया गरेका थिए।

त्यस्तै, २०७० सालमा संविधानसभा सदस्य बनेकी सिन्धु जलेसा बुढाथोकी पनि उनको अभियानलाई सफल बनाउन जोडतोडका साथ लागेकी छन्। उनले नवलपरासीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पेलिएकाहरूलाई भेला गराएर रावललाई सहयोग गरेकी हुन्।

बाँके र चितवनमा एमाले, नेकपा एकीकृत समाजवादी पार्टीका नेता–कार्यकर्तासँग रावलले अन्तरक्रिया गरेका थिए। एमालेका लुम्बिनी प्रदेशका नेताहरूले उनलाई देशभक्ति वा वैकल्पिक पार्टीबनाउन सुझाव दिएको बताइन्छ।

पाँच दशकभन्दा बढी समय कम्युनिष्ट नेताका रुपमा बिताएका उनलाई गैरकम्युनिष्ट पार्टी खोल्ने निर्णयबाट पछाडि हट्न सुझाइएको हो।

जिल्लामा अभियान सकाएर अस्ति काठमाडौं फर्किएका रावलले हिजोदेखि पुनः छलफल थालेका छन्। उनी छिट्टै नै पार्टी दर्ता गर्ने योजनामा रहेको रावल निकटस्थहरूले बताएका छन्।
 

प्रकाशित मिति: : 2025-06-08 16:51:00

प्रतिकृया दिनुहोस्