स्थानीय तह निर्वाचन

स्वर्गद्वारी नगरपालिका : मेयर पदकाे लागि काे–काे छन् आकांक्षी ?

आगामी वैशाख ३० का लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्युठानकाे स्वर्गद्वारी नगरपालिकामा चुनावी सरगर्मी बढ्न थालेको छ। यहाँका सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षणलगायत कार्यक्रममा जुट्न थालिसकेका छन्। चोक र चिया पसलमा निर्वाचनकै चर्चा हुन थालेकाे छ।

साविकका ९ वटा गाउँ विकास समिति (कोचिवाङ, खाल, भिँग्री, बेलबास, सारी, गोठीबाङ, बर्जिवाङलगायत) मिलेर बनेकाे स्वर्गद्वारी नगरपालिकामा चुनावी माहोलसँगै सम्भावित उम्मेदवारको चर्चा पनि हुन थालेकाे छ। स्वर्गद्वारी नगरपालिकामा नेकपा (एमाले), नेकपा (माओवादी), राष्टिय जनमोर्चा (मसाल), नेपाली कांग्रेसलगायतका राजनीतिक दलहरू सक्रिय छन्।

गत स्थानीय तहको निर्वाचनमा चार वटा वडाध्यक्षसहित मेयर र उपमेयर पदमा विजयी हासिल गरेकाे एमाले यसपटक पनि सुखद नतिजा निकाल्न चाहन्छ। साेहीअनुसार उसले चुनाव लक्षित गतिविधिहरूलाई तीव्रता दिएकाे छ। यसअघिकाे निर्वाचनमा स्वर्गद्वारी नगरपालिकामा मेयर नेत्रबहादुर रोका क्षेत्री, उपमेयर गोमा रेग्मी विजय भएका थिए।

त्यसैगरी यसअघि वडा नं. ६ मा जनमोर्चाले जितेको थियो भने ७ माओवादीले जित हासिल गरेकाे थियो। ६ र ७ गरी दुई वडामा गठबन्धन भएको थिएन भने बाँकी तीन वडामा गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरेका थिए। गठबन्धनका उम्मेदवार वीरबहादुर पुन र उपमेयर दुर्गा रेग्मी पराजित भएका थिए।

त्यस्तै काँग्रेसका मेयर टेकप्रसाद भण्डारी पनि पराजित भएका थिए। उनको प्यानलले भने कुनै पनि वडामा जित निकाल्न सकेन।

यस पटककाे निर्वाचनमा यदि सत्ता गठबन्धन (कांग्रेस, जनमाेर्चा, माओवादीलगायत) बाट उम्मेदवार बनेकाे खण्डमा अन्य दलले जित्ने सम्भावना काम देखिन्छ। यद्यपि, पाँच दलीय गठबन्धनले सबै स्थानीय तहमा मिलेर जाने निर्णय गरिसकेकाे अवस्था छ।

यहाँ मेयर पदकाे लागि अहिलेसम्म कुनै पनि राजनीतिक दलले उम्मेदवारी घाेषणा गरेका छैनन्। तर, साहित्यकार एवम् शिक्षक घनश्याम अस्तित्वले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। नगरपालिकामा विभिन्न राजनीतिक दलले गरेको कामप्रति असन्तुष्टि जनाउँदै उनले मेयर पदमा स्वतन्त्र उम्मेवादी दिने घाेषणा गरेका हुन्।

अब यहाँ सक्रिय राजनीतिक दलहरूबाट काे र कस्ताे व्यक्तिले मेयर पदमा उम्मेदवारी देलान् भन्नेप्रति सबैकाे चासाे बढेकाे छ। त्यसमा पनि गठबन्धन गरेर चुनावी मैदानमा जाने निर्णय गरेका कांग्रेस, माओवादी र जनमोर्चाले कसलाई उम्मेदवार बनाउलान् भन्नेप्रति धेरैकाे चासाेकाे विषय बनेकाे छ। गठबन्धन गरेका यी दलले आ–आफ्नाे पार्टीबाट उम्मेदवारी हुनुपर्ने अडान कायम राखेका छन्।

गठबन्धनको तर्फबाट टेकप्रसाद भण्डारी र गिरबहादुर गुरुङ मेयर पदका सम्भावित उम्मेदवार हुन्। भण्डारी कांग्रेस र गुरूङ जनमाेर्चाका नेता हुन्।

त्यस्तै उपमेयरमा मेघराज जिसीकाे सम्भावना बढी देखिन्छ। यहाँ समग्र नगरको तुलनामा राष्ट्रिय जनमोर्चा र एमाले उस्तैउस्तै अवस्थामा रहेका छन् भने माओवादी र काँग्रेस केही कमजाेर अवस्थामा छन्। पहिलेदेखि नै यो नगर जनमोर्चाको पकट क्षेत्रकाे रूपमा स्थापित छ। तर, हालैका दिनहरूमा यहाँ एमालेकाे प्रभाव पनि बढ्दाे अवस्थामा रहेकाे छ। त्यस्तै नेकपा एकीकृत समाजवादीलगातका अन्य दलकाे प्रभाव शून्य जस्तै छ।

९ वटा वडा रहेको यहाँ गत निर्वाचनमा मेयरसहित ४ वटा वडामा विजय हासिल गरेको एमालेले यसपटक पनि हालका मेयर नेत्रबहादुर राेका क्षेत्रीलाई उम्मेदवार बनाउने सम्भावना बढी देखिन्छ। त्यस्तै रामप्रसाद श्रेष्ठ र हिरामणि भण्डारीकाे पनि बलियाे सम्भावना रहेकाे छ।

स्रोतकाअनुसार रोकाले मेयर पदमा विजय हासिल गरेपछि नगरपालिकामा आफूले गरेका काम र नगरमा पार्टीको जिम्मेवार पदमा रहेकाले उनले फेरि दाबी गर्न सक्ने अवस्था छ।

वीरबहादुर पुन राष्ट्रिय जनमोर्चाका नेता थिए। संगठनको कारबाहीपछि उनी अहिले नेकपा (मसाल समन्वय समिति)मा आबद्ध रहेका छन्। यतिबेला उनी कृषि खेतीमा लागेका कारण उम्मेदवारी दिने सम्भावना न्यून छ।

प्रतिनिधिसभा सांसद एवम् राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल, नेपाली कांग्रेस केन्द्रीय सदस्य गोबिन्द पोख्रेल र एमाले प्युठान जिल्ला इन्चार्ज सूर्य थापाकाे यहाँ राम्राे प्रभाव रहेकाे छ।

प्रकाशित मिति: : 2022-04-01 20:08:00

प्रतिकृया दिनुहोस्