सापकोटामाथि अनुसन्धान हुने भएपछि हच्कियो माओवादी, गृहमन्त्रीलाई बोल्न दिने संकेत!

सर्वोच्च अदालतले माओवादी (केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरूद्ध अनुसन्धान अघि बढाउन उत्प्रेषणको आदेश दिएपछि बिहीबार अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा पदाधिकारी बैठक बसेको छ।

सर्वोच्चको आदेशपछि प्रहरीलाई काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा पुनः अनुसन्धान गर्न बाटो खुलेको छ। बैठकमा सापकोटाविरुद्धको फैसलामा छलफल भएको थियो।

त्यस्तै सापकोटामाथि अनुसन्धानको बाटो खुलेपछि माओवादी नेताहरू गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिनुपर्ने पक्षमा देखिएका छन्।

प्रचण्डको सचिवालय स्रोतका अनुसार नेताहरू रमेश लेखकलाई बोल्न दिएर जवाफ सुन्नुपर्ने र जवाफ चित्त नबुझेमा फेरि संसद अवरोधको कार्यक्रमलाई निरन्तरता दिन सकिने पक्षमा देखिएका हुन्।

बैठकपछि माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सत्तापक्ष र विपक्षी दलहरूसँग सदनको अवरोध खुलाउने विषयमा छलफल गर्ने बताए।

सापकोटाले भने, ‘यो महत्वपुर्ण र गम्भीर विषय भएकाले हामी सकेसम्म छानबिनका लागि पनि वातावरण बनाउनुपर्छ र सदनमा पनि छलफलको वातावरण बनाउनुपर्छ भन्ने पक्षमा छौं, आजको छलफलको निष्कर्ष छ।’

यसअघि माओवादीसहित विपक्षी दलहरूले राजीनामालाई नै बटमलाइन बनाएर सदनमा अवरोध गर्दै आएका थिए।

प्रकाशित मिति: : 2025-06-05 11:43:00

प्रतिकृया दिनुहोस्