अर्बपति एलोन र शक्तिशाली ट्रम्पबीच चर्कियो झगडा

Break n Links
Break n Links

चुनावी अभियानदेखि सरकारसम्मै केही समय सँगसँगै रहेका अमेरिकी अर्बपति एलोन मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अब सामाजिक सञ्जालमा बाझाबाझ अनि भनाभन हुन थालेको छ। 
ट्रम्पको दोस्रो कार्यकालका लागि चुनावी मैदानमा अद्भूतरुपमा मैदानमा खटिएका एलोन ट्रम्प प्रशासनमा केही समय कर्मचारीकै रुपमा काम रहे। 

उनले सरकारको खर्च कटौती गर्ने एउटा विभागको जिम्मेवारी पाएका थिए। केही दिनमात्रै एलोनले आफू त्यो जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए। त्यसलगत्तै ट्रम्पले एउटा सार्वजनिक समारोहकै आयोजना गरेर मस्कको प्रशंसा गर्दै उनलाई बिदाई पनि गरेका थिए। 

तर लगत्तै यी दुई शक्तिशाली ब्यक्तिबीच भनाभन हुन थालेको छ। 

एउटा अर्बपति ब्यापारीले चुनावी मैदानमा पैसा बगाइदिएका कारण चुनाव जितेको भनेर ट्रम्पको आलोचना पनि भयो। यद्यपि ट्रम्प कसैको कुरा सुन्दैनन् र आफ्नै निर्णयमा अघि बढ्छन्। उनले आफ्नो प्रशासनिक केन्द्रमा एलोनलाई नै राखे। केही समय दुईजनाबीच मात्रै होइन पारिवारिक सम्बन्ध पनि निकै सुमधुर देखिन्थ्यो। हरेक यात्रामा मात्रै होइन आफ्नै कुर्सीमा समेत एलोनका छोरालाई राखेर ट्रम्पले आफ्नो काम गर्थे। यसबाट दुनियाँ आफैमा चकित थियो। 

संसारकै महंगोमध्यको बिजुली कार टेस्लादेखि अन्तरिक्षसम्मको ब्यापारबाट अहिले एलोन विश्वकै धनी व्यक्तिमध्यका एक हुन्। अमेरिकी राष्ट्रपति कति शक्तिशाली हुन्छन् भनेर त यहाँ चर्चा गरिरहनै नपर्ला। 
यी दुईबीचको त्यो सम्बन्ध अब विस्तारै धमिलिन थालेको छ र सामाजिक सञ्जालमा दुईबीचको वाकयुद्ध निकै चर्किन थालेको छ। 

यी दुबैसँग आआफ्ना कुरा राख्नका लागि विशाल सामाजिक सञ्जाल छन्। एलोन सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरका एकल मालिक हुन्। ट्रम्पको पनि आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ छ। जसबाट उनले मन लागेको कुरा अनि अमेरिकी सरकारका धारणाहरू सार्वजनिक गर्छन्। 

पछिल्ला केही दिनयता दुईबीच यिनै सामाजिक सञ्जालमार्फत एकअर्काप्रति आरोप प्रत्यारोपहरू चलिरहेका छन्। 

ट्रम्पले मस्कको कम्पनीलाई सरकारका कामकाजबाट अलग गरिदिने धम्की दिएका छन्। यो भनेको मस्कको स्पेसएक्सजस्ता कार्यक्रम र अरु ब्यापारिक परियोजनाहरूमा ठेक्कापट्टा वा अनुदानका कार्यक्रमहरू हुन्। 
‘हाम्रो सरकारको बजेटबाट अर्बौं पैसा बचाउने सबैभन्दा सजिलो उपाय भनेको एलोनले पाइरहेको सरकारी ठेक्का अनि अनुदानहरू कटौती गर्नु नै हो’ ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्। 

यदि साँच्चिकै ट्रम्पले एलोनको प्रविधिजन्य कम्पनीहरूलाई सरकारी सम्झौताबाट अलग गरे भने एलोनको ब्यवसायमा निकै ठूलो क्षति हुनेछ। यो भनाभन र बाझाबाझ बीच टेस्लाको शेयर मूल्यमा १४ प्रतिशतभन्दा धेरैले गिरावट भइरहेको छ। 
तर एलोनले पनि ट्रम्पलाई अप्ठ्यारोमा पार्नसक्छन्। 

ट्रम्पका यी धम्कीहरूका बीच एलोनले ट्रम्पविरुद्ध ‘महाअभियोग लगाउन’ आह्वान गरेका छन्। र हिम्मत भए आफ्ना कम्पनीहरूको सरकारी सम्झौता रद्द गरेर देखाउन पनि चेतावनी दिएका छन्। 
एलोनले आफ्नो कम्पनीको ड्र्यागन स्पेसक्राफ्टलाई फिर्ता गर्ने धम्की पनि दिएका छन्। यसबाट अमेरिकी अन्तर अन्तरिक्षयात्रुहरूलाई ओसारपसार गर्न र इन्टर्न्याशनल स्पेस स्टेशनमा आपूर्तिका लागि अमेरिकी सरकारकी निर्भरता टुट्नेछ। 

यतिमात्रै होइन एलोनले ट्रम्पका नाम जोडिएका कैयौं पुराना प्रकरणहरूलाई ब्यूँताउनुपर्ने पनि बताएका छन्। 

यसको जवाफ आगामी चुनावहरूमा एलोनले ट्रम्पका विरोधीहरूमाथि पैसा खन्याएर पनि दिनसक्छन्। 

एकअर्काप्रति निकै कडा र आक्रामक देखिएका यी शक्तिशाली अर्बपति र शक्ति राष्ट्रका शक्तिकेन्द्र ट्रम्पबीचको यो लडाईं यत्तिकै र चाँडै थामिने पनि छाँट देखिंदैन। 

‘राष्ट्रपति भइरहनका लागि ट्रम्पसँग अब मात्रै साढे तीन वर्ष बाँकी छ’ एलोनले धम्क्याएका छन् ‘तर मचाहिँ अझैं ४०-५० वर्ष यहिँ र यत्तिकै हालतमा रहनेछु।’

प्रकाशित मिति: : 2025-06-06 09:46:00

प्रतिकृया दिनुहोस्