आजका प्रमुख समाचार

संसदलाई प्रचण्डकाे चेतावनी, ‘प्रतिक्रियावादी’हरुसँग नडराउन ओलीकाे आग्रह

मनाइयाे राष्ट्रिय बाल दिवस

‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइएकाे छ।

दिवसको अवसरमा विभिन्न संघ-संस्थाले कार्यक्रमको आयोजना गरे। भने, देशभरका सामुदायीक तथा निजी विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रमहरु गरेका छन्।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९लाई १४ सेप्टेम्बर १९९०मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ।

यस अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालअधिकारको सुनिश्चितताका लागि वर्तमान सरकार संवेदनशील रहेको बताएका छन्। 

प्रधानमन्त्रीसँग सहकारीबारे संसदीय छानबिन समितिकाे छलफल

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेकाे छ।

प्रतिवेदनलाई पूर्णता दिनुअघि समितिले प्रधानमन्त्रीसँग छलफल गरेकाे हाे।

समितिले यसअघि शुक्रबार मात्र गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर सहकारी ठगि गरेर फरार व्यक्तिहरूको खोजविन बारे भएको प्रगति बारे जानकारी लिएको थियो। विदेशमा फरार व्यक्तिहरू कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशित गरेको छ।

समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ। गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको म्याद थप गराएको थियो।

‘हिंसा’ शब्दकाे विषय नटुङ्गिएसम्म संसद चल्न नदिने प्रचण्डकाे चेतावनी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘हिंसा’ शब्दकाे विषयमा उठेकाे बहस नटुङ्गिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन्।

विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानीकाे क्रममा अध्यक्ष प्रचण्डले साे चेतावनी दिएका हुन्।

उनले एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेकाे बताए।

निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन्।

नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको आज बूढानीलकण्ठमा उद्घाटन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरु लागेको टिप्पणी गरेका हुन्।

सामसुङविरुद्ध मोबाइल व्यवसायीले गरेको आन्दोलन स्थगित

नेपाल मोबाइल व्यवसायी महासंघले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्नेगरी घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघकाबीच शुक्रबार भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डविरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो।

महासंघले उठाएको मार्जिन बढाउनुपर्ने विषयलाई मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघले समेत समर्थन गर्दै मार्जिन लगायतका बिषयमा आगामी १३ मंसिरमा ठोस निर्णय लिने सहमति भएको हो।

नेपाल प्रिमियर लिगको मार्की प्लेयर छनोट 

नेपाल प्रिमियर लिग (एनपिएल)का मार्की प्लेयर छनोट भएका छन्।

शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच लिगमा सहभागी आठ टिमले मार्की प्लेयर छनोट गरेका हुन्।

‘लक्की ड्र’मार्फत भएको छनोटमा टिम काठमाडौंमा करण केसी, टिम पोखरामा कुशल भुर्तेल, टिम चिवतनमा कुशल मल्ल परेका छन्।

यस्तै टिम विराटनगरमा सन्दीप लामिछाने, टिम लुम्बिनीमा रोहितकुमार पौडेल, टिम जनकपुरमा आशिफ शेख, टिम कर्णालीमा सोमपाल कामी र टिम सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी चयन भएका छन्।

मार्की खेलाडीले कम्तीमा २० लाख रुपैयाँ पाउने भएका छन्।

एउटा मार्की खेलाडीले तीन वर्ष खेल्नुपर्ने हुन्छ। मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ। यसका लागि उसले क्यानसँग समन्वय गर्नुपर्ने बताइएको छ।

प्रकाशित मिति: : 2024-09-14 19:02:00

प्रतिकृया दिनुहोस्