शुक्रबार, ११ सेप्टेम्बर २०२६

कुमार बेनलाई तत्काल पक्राउ गर्न राष्ट्रिय सुरक्षा निकायलाई जेनजी मुभमेन्टको पत्र

News Image
• • •

जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी उनीमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।

संगठनले आफ्नो प्रेस वक्तव्य राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रपति कार्यालय शीतल निवास र नेपाली सेनाको मुख्यालय भद्रकालीलाई समेत बोधार्थ पठाएको जनाएको छ।

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्यमा बेनमाथि कल बाइपाससम्बन्धी गम्भीर आरोप तथा विदेशी जासुसी संयन्त्रसँग कथित अपारदर्शी सम्पर्कको आरोप रहेको उल्लेख गर्दै तत्काल अनुसन्धानको माग गरिएको छ।

संगठनले गम्भीर आरोपमा प्रश्न उठेका व्यक्तिलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारजस्तो संवेदनशील जिम्मेवारीमा राखिनु कानुनी शासन र राष्ट्रिय सुरक्षाको दृष्टिले गम्भीर विषय भएको जनाएको छ। पद र पहुँचका आधारमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने उसको भनाइ छ।

वक्तव्यमा कुमार बेनलाई राज्यमन्त्रीस्तरको सुविधा दिइएको विषयमा समेत प्रश्न उठाइएको छ। उनको शैक्षिक योग्यता र प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्तिको आधारबारे सरकारले स्पष्ट पार्नुपर्ने जेनजी मुभमेन्टको माग छ।

त्यसैगरी, सत्तारूढ दलकै सांसदले संसदमा सरकारको वास्तविक शक्ति–केन्द्र सिंहदरबार नभई ज्वागल बनेको अभिव्यक्ति दिएको प्रसंगसमेत वक्तव्यमा उल्लेख गरिएको छ। सोही समयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि विदेशी जासुसी संयन्त्रसँग कथित भेटघाट र सम्पर्कको आरोप उठ्नु अत्यन्त संवेदनशील विषय भएको संगठनले जनाएको छ।

प्रधानमन्त्रीले संसदमा नेपालको सीमा अतिक्रमण तथा राष्ट्रिय सार्वभौमिकताको विषय उठाइरहेको अवस्थामा उनका प्रमुख सल्लाहकारमाथि सम्बन्धित छिमेकी मुलुकका कथित जासुसी संयन्त्रसँग अपारदर्शी सम्पर्कको आरोप लाग्नुले सरकारको नियतमाथि समेत प्रश्न उठाउने जेनजी मुभमेन्टको दाबी छ।

संगठनले कुमार बेनलाई तत्काल पक्राउ गरी कल बाइपाससम्बन्धी आरोपमा आपराधिक अनुसन्धान अघि बढाउन, विदेशी जासुसी संयन्त्रसँग भएको भनिएको भेटघाट तथा सम्पर्कबारे सुरक्षा र कानुनी निकायबाट गम्भीर अनुसन्धान गर्न माग गरेको छ।

त्यस्तै, अनुसन्धान प्रभावित हुनसक्ने सम्भावना रोक्न उनलाई तत्काल सरकारी जिम्मेवारीबाट अलग गर्न र राष्ट्रिय सुरक्षा, सार्वभौमिकता वा संवेदनशील सरकारी सूचनामा बाह्य प्रभाव वा पहुँच प्रमाणित भए प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ।

राष्ट्रिय सुरक्षा र संवैधानिक संस्थासँग सम्बन्धित विषय भन्दै जेनजी मुभमेन्ट नेपालले उक्त प्रेस वक्तव्य राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रपति कार्यालय शीतल निवास र नेपाली सेनाको मुख्यालय भद्रकालीलाई समेत बोधार्थ पठाएको हो। संगठनले राज्यका सम्बन्धित सुरक्षा तथा संवैधानिक निकायले पनि उठाइएका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ।

जेनजी मुभमेन्ट नेपालले सत्ताको आडमा कुनै पनि व्यक्तिलाई कानुनी अनुसन्धानबाट उन्मुक्ति दिने प्रयासको विरोध गर्दै ‘तत्काल पक्राउ गर, निष्पक्ष छानबिन गर, सत्य सार्वजनिक गर र दोषी भए कठोर कारबाही गर’ भन्ने माग दोहोर्‍याएको छ।

प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्य २०८३ भदौ २६ गते सार्वजनिक गरिएको हो।

यस्तो छ मुभमेन्टको प्रेस वक्तव्य–

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!