हिजाे साँझ निदाउँनु पूर्व तपाईले पढेकाे/सुनेकाे/हेरेकाे अन्तिम समाचार के थियाे ?
कुनै मन्त्रीकाे नयाँ भाषण? काेराेनाकाे आतंक? अस्पतालहरूमा बेडकाे समस्या? वा अक्सिजन अभाव?
खैर, जे सुकै हाेस् !
मैले एउटा एम्बुलेन्सकाे कथा पढे। एम्बुलेन्समा कुनै अनुभवी डाक्टरलाई अस्पताल लगिदैँ गरेकाे समाचार पढेँ। याे महामारीमा पढ्नलाई ता-त्ताताे अरु कुनै विषय पनि त छैन। कथा, कविता, आख्यान, गैर-आख्यान पढ्ने कुनै मूड छैन। न त गीत सुन्ने नै मूड छ।
काेराेनाले अवस्था नै असामान्य छ। असामान्य अवस्थामा सामान्य विषयहरुप्रति खासै ध्यान छैन मेराे, अचेल।
हिजाे चाँडै सुते। घडीकाे सबैभन्दा अल्छि काँटा-छाेटाे काँटा भर्खर ११ अंकमा पुगेकाे थियाे। (याे मेराे लागि चाँडै हाे)
अब यसपछिकाे रात्रीकालिन किस्सा यस्ताे छ-
मध्यरात ठिक १२ बजे। १६ मिनेट ४४ सेकेन्ड।
यो समय थाहा पाउनुभन्दा पहिले म प्रेमिल सपनामा थिए। कुनै सामुद्रिक टापुमा इन्जोय गरिरहको थिए। तर जब यो समय थाहा पाएँ, म आफ्नै कोठाको सिंगल बेडमा थिए। विस्तारामा थिए।
वरिपरी हल्ला गर्ने कोही थिएन। बोल्ने कोही थिएन। थियो त केवल झरी र पानीका बुँदहरु।
ठिक त्यहीँ समय, अचानक मेरो कोठाको मैला पर्दाहरु हल्लिए। झ्यालहरु आफै खुले। ढोकाबाट कसैले 'नक्-नक्' गरेको आवाज आयो।
म प्रायः निदाउनुपूर्व आफ्नै मुटुको आवाज-ढुकढुकी सुन्छु। जुन मेरो पुरानो आदत हो।
'ड्रिम सिटी' घुम्न गएका मेरो आँखाहरुलाई तुरुन्त फिर्ता बोलाए। निद्रालाई एकछिन 'पोस्टपोन्ड' गरेर जसोतसो ढोकासम्म पुगे। एकछिन सोचे- ढोका खोलुम कि नखोलुम ! अर्थात यो मध्यरातमा मेरो कोठामा आउने जनाब को हुनुहुँदो रहेछ?
यी खयालहरुलाई पनि एकछिन 'पोस्टपोन्ड' गरिदिए। र अन्ततः ढोका खोले।
एउटा सुन्दर युवती-प्रेमात्माको आगमन। (मेरो कोठा र कथाकी दोस्रो पात्र।)
केश बाँधिएको छैन। आँखामा गाँजल पनि छैन। नाडीमा चुरा, ओठमा लिपिस्टीक केही छैन। बरु उसको बायाँ हातमा छ- माटोको धुपौरो माथि बलिरहेको एउटा दियो। दायाँ हातमा छ- पवित्र पानीले भरिएको ढलोटको कलश।
उसले लगाएको सेतो फ्रक खुब सुहाएको छ। मेरो अनुमान मात्र हो, यो। कारण मलाई पनि थाहा छैन। तपाइलाई झन् कसरी थाहा हुन्थ्यो? (एकदिन लामो वार्तामा म यसबारे सोध्नेछु।)
ढोका खुल्न बित्तिकै उ कोठा भित्र पसी। मेरो कुनै अनुमती बिना नै। म छक्क। एकटक्क।
म आत्तिए पनि। (प्रिय पाठक, मध्यरातमा अचानक कुनै सुन्दर युवा/युवती आफ्नो कोठामा प्रवेश गर्दा तपाई के गर्नुहुन्छ? जवाफ कमेन्ट बक्समा पार्शल गर्नुहोला।)
हालात सामान्य थिएन, मेरो लागि।
कोठामा प्रवेश गरेपछि उसले मलाई हेरी। पैतलादेखि पाउसम्म हेरी। आँखा, कान, नाक, घाँटी, अनुहार सबै हेरी।
अचम्मको कुरा त के छ भने, त्यो बीचमा मैले न्युनतम सय-पटक आँखा झिम्काए हुँला। तर उसले एक-पटक पनि आँखा झिम्काइन। (आफैभित्र म सक्ड।)
म तिर तेर्सिएका उसका आँखा विस्तारै कोठामा भित्ताहरु तिर तेर्सिए। ह्यागंरमा झुन्डिएको पुरानो 'कोरियन लङ कोर्ट' सुम्सुम्याउँदै पहिलो शब्द निकाली, 'आर यू स्केर्ड?'
म चुपचाप।
अर्को शब्द निकाली, 'क्यान यू हेल्प मी ?'
फेरी पनि म चुपचाप। (कस्तो हेल्प हो, मैले सोधिन।साेध्न जरूरी ठानिन।)
उसले विस्तारै एक-एक गरी कोठाको चारैतिर आँखा तेर्साइ।
मैला पाइन्ट-टिसर्टहरु वेवारिशे थिए। जुत्ताहरु आफ्नै आन्दोलनमा थिए। धुनहरुको मलामी पुगेर फर्केको घाइते गितार त्यहीँ थियो। केही महिना अघिदेखि बिरामी भएर आराम गरिरहेका पुस्तकहरु त्यहीँ थिए। पाब्लाे पिकासाेको एउटा पेन्टिङ पनि धौै-धौ झुन्डिरहेको थियो, भित्तामा। जसले मलाई सधैँ भोकको काँधमाथि टेकेर जीवनभर एउटै चेहरा बनाउने कला सिकायो।
कोठालाई पूर्णरुपमा नियालेपछि उ छेवैको कुर्सीमा बसी। जहाँ म अक्षरहरु खरिद गर्छु। बिक्रि गर्छु। पात्रहरुसँग बार्गेनिङ गर्छु।
यतिन्जेल सम्म मलाई उसको नाम थाहा छैन। उसको ठेगाना, उमेर र आफन्तीबारे म अनविज्ञ छु। र पनि 'उ' र 'म' सँगै छौ। (यो एउटा संयोग मात्र थियो वा प्रायोजित? प्रिय पाठक, आफै नै जान्नुहोस्।
मैले 'उ'सँग 'उसको' नाम सोधेँ। बदलामा 'म'सँग 'मेरो' नाम सोधिन, उसले।
मेरो पहिलो प्रश्न, 'हामी परिचित छौ, या अन्जान?'
उसको जवाफ, 'गोप्य कुराहरु'बाट म तपाईंलाई राम्ररी चिन्छु।
- 'गोप्य कुराहरु?'
- हो 'गोप्य कुराहरु'
- कस्ताे 'गोप्य कुराहरु' ?
- यो तपाईंकै कविता होइन-
हजुरलाई कसले भन्याे-
थाेत्राे चप्पल लगाएर
म रातभर बगरतिर हिँडेकाे कुरा,
कसले भन्याे-
खाेलाकाे किनारमा मेराे हातबाट गुलाफ खसेकाे कुरा,
बतासले मेरै लागि उदेकलाग्दाे संगीत निकालेकाे कुरा,
आँशुकाे नदी तरेकाे कुरा ?
हजुरलाई कसले भन्याे-
मेरा आँखाबाट सपनाहरु हराएकाे कुरा,
मेराे जीवनकाे आकाशबाट जुन खसेकाे कुरा,
ताराहरु दुर्घटनामा परेकाे कुरा,
र कसले भन्याे-
मन्दिर,मस्जिद र गिर्जाघरकाे भित्ताहरु पछाडी
लुकी-लुकी राेएकाे कुरा,
यी सबै-सबै मेराे गाेप्य कुराहरु त थाहा पाईसक्नु भएछ-
अन्त्यमा याे त भन्दिनुस,
हजुरलाई कसले भन्याे
आत्महत्या गर्न नसकेर बाँचिरहेकाे कुरा।
- हो। याे मेरै कविता हाे।
- अनि ?
- अनि ?
- अनि?
- यो 'अनि'लाई यतै छाडौँ। यो मध्यरातमा मेरो कोठामा आउनुको मनाशय?
- मनाशय ? मन शायर नै छैन। विद्रोही छ। मनाशय शान्त छ। उ सुतिरहेको छ। भो नचलाऔँ।
- मैले मध्यरातमा मेरो कोठामा आउनुको कारण सोधेको?
- 'कारण' लिएरै आएको हुँ। बिनाकारण 'कारण' पनि त हुँदैन। 'कारण' छ।
- कस्तो कारण?
- कारण विशेष छ।
- त्यहीँ त भन्दैछु, कस्तो कारण?
- निमन्त्रणा !
- निमन्त्रणा?
- हो निमन्त्रणा। म तपाईंलाई निमन्त्रणा दिन आएकी। तपाई मेरो विशिष्ट अथिति हो।
- तपाईको विशिष्ट अतिथि? त्याे पनि म ?
- एकदम। तपाई विशिष्ट अथिति हो।
- तपाईलाई मैले चिनेको पनि छैन। तर पनि यसरी निमन्त्रणा दिँदै हुनुहुन्छ?
- तपाईले चिन्नुहुनेछ।
- चिन्नुहुनेछ? कहिले चिन्छु?
- नआत्तिनुहोस्, चिन्नुहुनेछ। उल्लेखित समयमा उल्लेखित ठाउँमा पुग्नुहोस्।
- कस्तो पागल कुरा तपाईको ? तपाईको नाम के हो?
- यसपछि हाम्रो भेट उल्लेखित समयमा हुनेछ। म 'मेराे' नाम त्यहीँ भन्नेछु। तपाईले चिन्नुहुनेछ।
- यसपछिको भेट.....?
उ अचानक गायब। मलाई डिस्ट्रब गरेर गायब।
अब, उसको नाम थाहा पाउन मैले नचाहेरै अर्को भेट कुर्नुपर्नेछ।
(प्रिय पाठक, उसको नाम थाहा पाउन तपाईले पनि 'हाम्रो' अर्को भेट कुर्नुपर्नेछ। शुभ साता।)