मेची उर्ल्यो, काली उर्ल्यो, हिमाल, पहाड, तराई ब्युँझियाे ! माओवादी जनयुद्धले भोका/नाङ्गा सारा ब्युँझ्याे !
कमरेड पूर्ण घर्तीले लेखेकाे याे गीत।
अनि, ती आँधीमय संघर्षका दश वर्ष सम्झदा अत्यन्तै गौरव लाग्छ। आनन्द आउँछ। र, कता-कता पीर पनि लाग्छ। सामन्ती राज्य सत्ताको समुल नष्ट गरी जनवादी व्यवस्था स्थापनाको महान उद्देश्य बोकेर आफ्नो ज्यान, बुढाबुढी आमा-बुवा, परिवार, साना/अवाेध छोराछोरी छोडेर परिवारभन्दा राष्ट्रलाई छातीमा राखेर शिरमा कफन बाँधी ती घनघोर जङ्गलहरुमा गरेका कठिन यात्रा। ती नाकै ठोकिने उकाला ठाडा पहाडहरुमा हिँडेको। कहिले दुश्मनका किल्ला छेउँबाटै पार गरी हिँडेका दृश्यहरु आँखामा झल्झली आउँछन।
ती प्रिय योद्धाहरु कति सहिद हुनुभयो, कति घाइते हुनुहुन्छ। कति अपाङ्ग, कति वेपत्ता हुनुहुन्छ। उहाँहरुको सपना साँचेर जीवित हामी कतै सहिदका सपनाहरु अधुरो रहने हुन् कि भन्ने एकातिर पीर।
महान जनयुद्धले १० वर्ष पार गर्दै गर्दा नेपाली क्रान्तिले ठुलो उचाइ हाँसिल गर्याे। पूरा विश्वको ध्यान नेपालतिर केन्द्रित भयो। विश्वका ठुला-ठुला महाशक्ति भन्नेहरुले हाम्रो त्यो महान जनक्रान्तिलाई आतंकवाद भने, क्रान्तिकारी योद्धाहरुलाई आतंककारी भने तर तिनीहरुको केही सीप लागेन किनभने आतंक मच्चाउनु र धन कमाउनुको उद्देश्यले जनक्रान्ति गरिएको थिएन। आम नेपाली जनसमुदायको साथ, समर्थन र सहभागीताले हामीलाई आतंककारी भन्नेहरुको चेत खुलिसकेको थियो। तर, जबर्जस्ती आतंककारीको विल्ला भिराएर सहयोगको नाममा नेपाल छिर्न चाहने ती साम्राज्यवादी र विस्तारवादीको योजना विफल पार्न हामी सफल भयौँ। यो सफलताको पछाडि हाम्रो राष्ट्रप्रतिको प्रेम, क्रान्ति चेतना, निश्वार्थ लगाव, व्यक्तिगत जीवनभन्दा निकै माथिको सोचाइ र क्रान्तिप्रति जनताको अपार माया नै थियो।
हामीलाई जङ्गली भनियो। जङ्गलमा बास बस्छन्, भनियो। यदि त्यसो भएको भए तिनिहरुले हामीलाई सजिलै सिध्याउँथे होला। जङ्गल अप्रेशन गर्थे होला, लखेट्थे होला। उनीहरुले भने जस्तो हामी कहिल्यै जङ्गलमा बसेनौँ। हामी जनताको घर/बस्तीमा हुर्कियौँ, त्यहीँ योजना बनायौँ। बस्तीभित्रै प्रशिक्षण लियौँ। शैन्य अभ्यासका लागि मात्र जङ्गल बस्यौँ तर जनसमुदायको साथमा। यसरी हामी बढ्दै गयौँ एक योद्धा ढल्दा सय योद्धा जन्मियौँ, रक्तबिजले जन्मिएका ती योद्धाहरु स्पात बन्दै जनयुद्धको महान कार्यदिशामा लामबद्ध भइरह्यौँ। हामी कहीँ कतै विचलित भएनौँ। कहिल्यै आत्तियनौँ, पार्टीले ल्याएको योजनाभन्दा माथि हाम्रो छुट्टै सपना थिएन। सामन्ती राज्य सत्ताले राज्य शक्तिको चरम दुरुपयोग गरिरह्यो। सेना प्रहरीलाई हदभन्दा माथि दमन गर्न आदेश दियो। हद पार गरेर राज्यले क्रान्ति दबाउने बाहनामा शोषण दमन र बलात्कार गर्याे। हजारौँ हाम्रा महिला योद्धा साथीहरु राज्यको न्यायीक हिरासतमा अपमानित हुनुपर्याे। न्यायीक हिरासतमा कविहरु मारिए। साहित्यकारहरु बेपत्ता पारिए। चरम यातनाबाट सयौँ योद्धाहरुले ज्यान गुमाए। शासकहरु यति क्रूर भए कि त्यसको कुनै लेखा/जोखा छैन। देशको कानुन पूर्णरुपमा निष्कृय भयो। अदालतले सफाइ दिएको व्यक्त्ति घर फर्कनुको साटो सफाइ पाएर बाहिर गेटमा आउने बित्तिकै फेरि गिरफ्तार भए। मानव अधिकारकर्मीहरुलाई राज्यले अपमान गर्याे। निकम्मा बनायो। राज्य संचालकहरु अपराधमा उत्रिए। माओवादीको समर्थन मात्र गर्नेलाई पनि गोली हान्ने आदेश दिए। सेना प्रहरीलाई राक्षेसीकरण गरे। जे गर्न पनि छुट दिए। मानव अधिकारको एक अंश पनि राज्यले बाँकी राखेन।
सरकार पूरै अन्धा भयो। आफ्ना नागरिकलाई आतंककारी मात्रै देख्यो। घरभित्र साना दुधे बालक च्यापेर सुतेका महिलाहरुलाई मध्यरातमा घरबाहिर निकाली सामूहिक बलात्कारपछि गोली हानी मारियो। एअरपोर्ट बनाउँदै गरेका कालिकोटका मजदुरहरु एकै चिहान भए। घरमा बैठक बस्दै गरेका क्रान्तिकारी योद्धाहरुलाई रामेछापको दोरम्बा डाँडामा लगि लाइनमा राखेर सामूहिक हत्या गरियो। के मात्रै गरेनन् भनि साध्य छैन, सम्झी साध्य छैन, भैरवनाथ गणमा जो पुग्यो ऊ जिउँदै खाल्डोमा पुग्थ्यो। महिला भए बलात्कारको सिकार बन्थे।
त्यति धेरै अन्याय, अत्याचार र दमनका बाबजुत पनि क्रान्ति निरन्तर जारी रह्यो। पहिला एक मर्दा सयौँ जन्मिन्थ्यौं भने पछि एक मर्दा हजार जन्मिन थाल्यौँ किनकी त्यो कहिल्यै नथाक्ने कहिल्यै नझुक्ने क्रान्ति थियो। बरु बलिदानीको यात्रामा लामबद्ध थिए योद्धाहरु। त्यति धेरै अदम्य साहस, त्यो सौर्य, त्यो उर्जा सायदै प्राप्त होला। बलिदानी भावले क्रान्तिमा लामबद्ध भएका योद्धाहरुको त्यही साहसले आम नेपालीलाई कुनै न कुनै रुपमा प्रत्यक्ष अप्रत्यक्ष क्रान्तिमा सहभागी गरायो र सबैलाई जनयुद्धको आत्मबोध गरायो। विद्यार्थी, शिक्षक, बुद्धिजीवी, डाक्टर, कवि लेखक, किसान, मजदुर, महिला, दलित सबै-सबैले जब जनयुद्धमा प्रत्यक्ष सहभागीता जनाए तब चरम दमनमा उत्रिएको अन्धो राज्यसत्ता कमजोर बन्यो। राज्यले गरेको अन्यायको पहाड चुलियो तर पनि क्रान्ति कहिल्यै डगमगाएन। योद्धाहरुको शिर झन् झन् ठाडो भयो क्रान्तिले उचाइ हाँसिल गर्दै गयो। जनयुद्धले छलाङ मार्दै गयो। आज त्यही जनयुद्धमा लामबद्ध योद्धाहरुको रगत पसिनामा उभिएर, त्यही जगमा टेकेर १९ दिने जनआन्दोलनको आँधीबेरी सिर्जना भयो। विभिन्न मधेस आन्दोलनहरु सफल भए। त्यही बिजले सबैलाई गोलबन्द गरायो। यो महान् परिवर्तन सम्भव भयो। जातीय लिङ्गीय भेदभावको अन्त्य भयो। कानुनी राज्यको स्थापना भयो। सबैको जिब्रोको चाबी खोलियो। निर्धक्क आफ्ना अधिकार बारेमा सबै बोल्न सक्ने भए।
तर, विडम्बना त्यो महान् जनयुद्ध हाँक्ने सर्वाेच्च कमाण्डरलाई १७ हजारको हत्यारा भनि बदनाम गर्ने कोसिस अहिले पनि जारी छ। यदि बोल्न सक्ने भए ती सहिदहरुले भन्ने थिए होलान्, महासय तपाईंहरुकै स्वतन्त्रताका निमित्त हामीले आफ्नो ज्यान आहुती दिएका हौँ। हाम्रा आदरणीय कमाण्डरले हामीलाई कहिल्यै गोली ठोक्न भन्नु भएन। गोली ठोक्ने आदेश दिनुभएन बरु तिमीले समयमै बुझेको भए यति धेरैको ज्यान जाने थिएन। तिम्रो अन्याय र अत्याचारले सीमा नाघेर भोलिका हाम्रा सन्ततिले जिउँदै मर्न नपरोस्। सधैं गरिबी, अभाव, पछ्याैटेपन र अन्यायमा बाँच्न नपरोस् भनि हामी हाँसी हाँसी मर्न तयार भएका हौँ। आफू मरेर पनि देश बचाउन होमिएका हौँ। क्रान्ति नायकलाई हत्याको जिम्मा नलगाइयोस्। हाम्रो रगत खेर गएको छैन। हामी सधैँ बाँचिरहने छौँ। हामीले बोकेको महान् उद्देश्य कहीँ अलमलिएको छैन। क्रान्तिको रुप फेरिएको होला तर त्यो निरन्तर जारी छ।