भाषिक फिल्म

'ट्याङ्चलाक' अर्थात उज्यालो देखाउने निर्देशक 

Breaknlinks
Breaknlinks

तपाईले पनि याद गरेको हुनुपर्छ !

यो कथा तनहुँको मानुङकोटबाट सुरु हुन्छ। त्यही मानुङकोट, जहाँ आँखाले हेरेर सक्ने ठाउँसम्म बादल ओच्छ्याइएको छ।

केही बेरमा घामको लाली खस्छ। त्यसपछि त के कुरा भो र ! कता हो कता पुगेजस्तो। यस्तो लाग्थ्यो, दन्त्य कथामा वर्णन गरिएको स्वर्ग सायद यस्तै होला !

हो, गत सालको हिउँद याम तनहुँको मानुङकोट घुमन्तेहरुको हटस्पट् नै भयो। दमौली बजारले बादलको बर्को ओढेको हेर्न वेशीँदेखि डाँडासम्मै लाम लागे सवारीको। कहाँ-कहाँबाट आएका थिए ती मान्छे। लेखाजोखा राख्ने फुर्सदै भएन।

यो कथा त्यही ठाउँको हो। प्रकृतिको छटाले भरिपूर्ण हुदा-हुँदै पनि मानुङकोटले व्यथा बोकेको थियो। कुनै बेला ठूलो बस्ती थियो, मानुङकोटमा।

अहिले बस्तीको त के कुरा ! धन्न, लोप हुनबाट जोगिएका छन् केही घरहरु।

‘'ट्याङ्चलाक'’ तनहुँको मानुङ कोट डाँडाको हो। मगर चलचित्रकर्मी संघले वार्षिक भेटघाट राखेको थियो। जुन ठाउँमा अहिले डाँडा छ। त्यहाँ ९० घर थियो रे, पहिले। ९० घर भएको ठाउँमा हामी जाँदा नाै घर थियो। अलि तल धारापानी भन्ने ठाउँमा ७० घर थियो रे! अहिले ७ घर छ, त्यो पनि पूरै छ कि छैन।

किन भनेर कोट्याउदै जाँदा त मुख्य कुरा भनेको पानी रहेछ। ‘बिहान ४/५ बजे उठेर पानी भर्न जानुपर्ने', मेजन पुनले सुनाए, 'दुई घण्टा लगाएर दुई गाग्री पानी ल्याउँदा रहेछन्। यतिसम्म दुख खेपेर मान्छे त्यहाँ बस्ने कुरा त भएन। अनि विस्तारै बसाइँसराई गरेर दमौली झर्ने क्रम सुरु भएको रहेछ।'

अहिले बिस्तारै बिजुली-बत्ति पुग्दैछ, मानुङकोटमा। पानी तान्न टंकी बनाइदै छ। तर, त्यहाँको सबै मान्छे बसाइँ सरेर गइसके। सेतो बादल अर्थात् 'ह्वाइट लेक'। सेतो बादलको ताल जस्तै बन्छ। वर्षमा दुई-तीन महिनासम्म यो 'ह्वाइट' हुन्छ।

पानीको पम्प पुग्ने बेलामा २-३ लेनको बाटो पुग्ने बेला अहिले त्यहाँ बस्ती नै छैन। सुविधै-सुविधा पुग्नेबेला त्यहाँ मान्छे छैनन्। 'मानुङकोट' मगर भाषाबाट राखिएको नाम हो। त्यहाँ बस्नेहरु पनि मगर नै थिए। पानीको दुखले कौडीको भाउमा जग्गा बेचेर उनीहरु सहर झरे। अहिले त्यही ठाउँ सुनको भाउमा बिक्री हुँदै छ।

‘यही विषयबस्तुलाई कथाको रुपमा निकालेर फिल्म बनाएँ। 'ट्याङ्चलाक' भनेको उज्यालोतिर हुन्छ,’ उनले अघि सुनाए। 

मेजन पुन अर्थात फिल्म निर्देशक। उनको ''ट्याङ्चलाक'' फिल्म हालसालै साउथ अफ्रिकामा हुने डर्बान फिल्म फेस्टिभलमा तीन सय फिल्ममध्येबाट छानिएर उत्कृष्ट ३५ फिल्ममा छनाेटमा पर्‍यो।

रोजगारको समस्या पनि थियो। गाउँदेखि दमौली पुग्न आधा घण्टा पैदल हिँड्नुपर्छ। न स्वास्थ्यचौकी छ। सानै उपचारका लागि पनि दमौली झर्नुपर्छ। राति बच्चा जन्माउदा के हाल होला ? 

यी नै कथाले छोयो रे, उनलाई। अनि तयार भयो ''ट्याङ्चलाक''।

‘बसाइँसराइ गरेर तल आउदासम्म पनि हामीमा चेतना भएन।  शिक्षा, स्वास्थ्य, सुविधाको चेतनालाई बोकेर 'ट्याङ्चलाक' बनेको हो। हुन त १ घण्टा ३ मिनेटको हो। बुझनेको लागि धेरै चिज दिन खोजेका छौं। मगरको कुरा उठाउन खोजेकाछौं,’ उनले सुनाए।

मगर भाषामा बनेको फिल्म 'ट्याङ्चलाक'मा पूर्ण भाषा भने प्रयोग भएको छैन। ७० प्रतिशत मगर र ३० प्रतिशत नेपाली भाषा प्रयोग भएको छ, सिंगो फिल्ममा। ‘जग्गा दलालहरु जान्छन्। दलालले त हाम्रो भाषा बोल्ने कुरा आएन। मालपोतका मान्छेहरु त हाम्रो भाषा बोल्दैनन्,’ उनले भने।

डर्बानमा फिल्म फेस्टिभलमा छनौट भईसकेपछि फिल्मले राम्रै चर्चा पायो। विश्वभरको ३ सय फिल्ममध्ये ३५ फिल्ममध्येमा छनौट हुँदा राम्रै बनाए जस्तो लागेको उनले सुनाए।

अघिल्लो हप्ता नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले पनि उत्कृष्ट जनजाति फिल्म फेस्टिभल राख्यो। त्यसमा 'ट्याङ्चलाक'ले उत्कृष्ट कथा, निर्देशन, अभिनय, छायांकन विधामा  छनाेट भएकाे थियाे। 

अनि, उनी फिल्म निर्देशक भए

फिल्मी क्षेत्रमा आउनुअघि सञ्चारकर्मी थिए, मेजन। राज्यसत्ताबाट दमित आदिवासी जनजातिलाई सत्ताले त उपेक्षा गर्ने नै भयो। आवाजविहिनको आवाज बोल्ने सञ्चारमाध्यमहरुले नै आफ्ना आवाजहरु उपेक्षा गरेको देख्दा उनलाई एकदमै छोएछ।

कलेज पढ्दा मगर विद्यार्थी संघमा पनि आवद्ध थिए। त्योबेला उनीहरु जनजाति उत्थानकाबारे कार्यक्रम गर्थे। तर, राष्ट्रियस्तर मिडियाले भित्री कुनामा समेत ठाउँ दिएनन्।

यसरी त सम्भव थिएन, जनजाति उत्थान। आफ्ना आवाज जसरी भए पनि धेरैसामु पुर्‍याउनु पर्ने थियो। त्यसको लागि एउटै माध्ययम थियो मिडिया।

अनि, जनजाति बेसमा रहेर समाचार सम्प्रेषण गर्नु पर्‍यो भन्ने सोचेर ‘राज्य सत्ता साप्ताहिक’ जन्माए, जनजाति उत्थानका लागि केही गर्नुपर्छ भन्ने युवाहरुले।

त्यो बेला १०/१२ जनाको समूह बनेर देवबहादुर पाटाको नेतृत्वमा सञ्चार गृह नै दर्ता गराएका थिए, ०५७/५८ ताका। बुटवल केन्द्र बनाएर सुरु भएको राज्य सत्ताले भैरहवा समाज, रुपन्देहीका अधिकांश क्षेत्र हुँदै केन्द्रसम्म पहुँच बनायो। हङकङसम्म पनि पुग्यो। जे होस् जनजातिको आवाज बोल्न सक्नेसम्म बोले।

'बा’ले हात समाएर बुटवल लगे। बाजे/बज्यै म्याग्दीका। कहिलेकाहीँ बाको मुखबाट सुनेका थिए पुर्खेली कर्बाकेली सम्बन्धी। रे,... रे,... सुनेका आधारमा  खोज गर्ने हिँडे।

‘क्यामेरा बोकेर हिँड्यौं। ०६९ मा ओडार छ म्याग्दीमा। पैसा उठाएर सामाजिक कार्य गर्ने भनेर दृढता हामीले गर्‍यौं। ठूलो ओडार थियो। त्यहाँबाट मान्छे खसेको भए के हुन्थ्यो ?’, उनले विगत सम्झिए।

कर्बाकेलीको अर्थ हुन्छ 'मह काँड्ने'। कुल पूजा गर्दा त्यो मह काँड्ने सामानहरु राखिन्छ। विशेष गरि पुन मगरले। कर्बाकेलीको कत्तिको प्रभाव पार्‍यो ? जनजीवनमा त्यसलाई भिडियोमा उतार्ने सोचेर उनी सहितको टिम त्यहाँ पुगेको थियो।

म्याग्दीमा चिमखोला भन्ने ठाउँ छ। त्यहाँ गएर मह काँड्ने काम भयो। एउटा खोलालाई २५/२६ चोटी काटेर माथि गईसकेपछि मह काँड्ने काम खिचियो। खिचेर सकिसकेपछि बेनी बस्दा कर्बाकेलीसम्बन्धि 'डकुमेन्ट्री' बनाउने सोच आयो। अनि, त्यसलाई 'डकुमेन्ट्री'का रुपमा उतारे।

त्यही बेला काठमाडौंमा ‘इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभल’ हुनेवाला थियो। ‘हाम्रो पहिलो काम थियो, लौ त नि भए हुन्छ नभए पनि ठिकै छ भनेर लगेर बुझायौं। सेलेक्सन भईहाल्यो,’ उनले भने, ‘सेलेक्सन भईसकेपछि समस्या के भयो भने क्याप्सन इंग्लिसमा लेख्न पर्ने भयो। त्यो अंग्रेजी फिल्म फेस्टिभल क्याप्सन त हाल्नु पर्नेभयो। झन्झट भयो। भर्खर-भर्खर सिक्दै गरेको। क्याप्सन राख्न त राख्यौं। तर, अनुभव नभएर मिलेन। त्यो चिज सिक्यौं।’

'डकुमेन्ट्री'लाई ठाउँ-ठाउँमा प्रदर्शन गरे। प्रदर्शन कै क्रममा म्याग्दीको शिख भन्ने ठाउँमा पुगेका थिए। त्यहाँ भिडियो देखाउँदा बेलुका हेर्न बुढा-बुढी भईसकेका, कान पनि राम्रोसँग नसुन्नेले पनि भिडियो हेर्न चाख दिएको भेटे। अनि, उनको दिमागमा 'क्लिक' भयो, ‘पत्रकारिताले मात्रै नपुग्दो रहेछ। हाम्रो समुदायमा साक्षरता पनि कम छन्। साक्षर नभएकाले किताब पढ्न सकिरहेका छैनन्। पत्रकारिताभन्दा पनि समाजलाई समेत प्रभाव पार्न त भिडियो ठिक हुँदोरहेछ। अब समुदायलाई बुझाउन त यो फिल्डमा लाग्नुपर्ने रहेछ भन्ने लाग्यो।’

त्यसपछि उनी फिल्म बनाउने र निर्देशन गर्नतर्फ लागे। फिल्म मेकिङमा लागेपछि २०६१ मा मगर फिल्म ‘एजु’ बनाए। जसको अर्थ धौलागिरी क्षेत्रमा साथीलाई बोलाउने हुन्छ। ए – सम्बोधनमा। ज्यु सम्मानार्थ। साथीलाई बोलाउदा fए जुf नामकरण गरियो।

०६५ मा 'एजु २' बनाए। पहिलो अपूरो भयो भन्ने माग आएकाले 'एजु २' बनेको उनले सुनाए। दोस्रो भाग बनाउन युकेबाट पनि उनलाई सहयोग मिलेको रहेछ।

मान्छेको भाग्यले कता-कता डोर्‍याउछ ? कसलाई पो थाहा  छ र !

म्याग्दीबाट बुटवल, बुटवलबाट काठमाडौं हुँदै मेजन ०७० मा पोखरामा झरे। विहे भयो। छोराहरु भए। घरगृहस्थिमा भुले। पछि ०७१ मा रैयाँ बनाए। ०७२ मा शो भयो। ‘'ट्याङ्चलाक'’ ०७५/७६ मा शो भयो। मगर संस्कृतिसँग सम्बन्धित ६/७ वटा डकुमेन्ट्री बनाएका छन्।

किन बन्न सक्ने मुलधारले स्वीकार्ने भाषिक फिल्म ?

यसै पनि नेपाल विविधताले भरिपूर्ण देश हो। जनसंख्याकै ठूलो भाग जनजाति छन्। जनजातिमाथि आधारित रहेर भाषीक फिल्महरु पनि बनिरहेका छन्। तर, मुलधारले ती फिल्म अझै पनि स्वीकार्न सकेका छैनन्। मगर भाषाको पहिलो फिल्म ०५१ मा 'लङ्गन' बनेको थियो। ०५२ मा गुरुङको 'पाते' नामको फिल्म बन्यो। निर्देशक युवराज मास्केले दुवै फिल्म बनाएका थिए।

०५१ देखि सुरु भएको मगर फिल्म अहिलेसम्म जम्मा ४७ वटा बनेका छन्। गुरुङका १ सय २५ भन्दा बढी फिल्म बने। मगरको 'डकुमेन्ट्री'सहित ६५/६७ हाराहारिमा बनेको छन्। तर, पनि आशातित सफलता पाउन सकेका छैनन्।

भाषीक र भेगीय विविधताले भाषीक फिल्म बने पनि स्वीकार्न नसकेको उनले बताए। ‘मनोरञ्जन मात्रै सबैथोक होइन। फिल्मले समाज बोक्नुपर्छ। अहिलेसम्म त्यो भएन। उत्थानको सामग्री बनाउन सकेनौं। माइलस्टोन फिल्म बनेन्। हामीलाई त्यस्तो फिल्म बनाउन पनि गाह्रो भयो। यो ठिक छ भन्ने आएन। चेतना दिने खालको आएन,’ उनले भने, ‘त्यसैले पनि पछि परेको सत्य हो।’

फिल्म मेकिङदेखि निर्देशनमा अहाेरात्र लागि परेका मेजनका ६ बढी किताब पनि प्रकाशित छन्। फिल्मका स्क्रिप्टहरु पनि तयारी अवस्थामा रहे पनि पेन्डामिकले रोकिरहेको उनले सुनाए। 

प्रकाशित मिति: : 2021-08-28 09:42:00

प्रतिकृया दिनुहोस्