मेरो चासो विषय हो, नाटक र फिल्म। त्यसेले पनि सिनेहलमा फिल्म होस् या थिएटरमा कुनै नाटक चल्दा नै किन नहोस् म त्यहाँ पुगेकै हुन्छु। शनिबारको दिन कार्यालय छुट्टी थियो, त्यसैले मैले नाटक हेर्ने योजना बनाएँ।
पछिल्लो समय चलिरहेको नाटक हो, ‘असुर’। जसको पोस्टरले नै मलाई लोभ्याएकाे थियो। त्यहीँ पाेस्टर देखेर आकर्षित भएकाे म रातोपुलको ‘ओजस’ थिएटरमा नाटक हेर्न गएँ।
अध्याँरो नाटक घरमा पुगेपछि नाटक सुरु भयो। जहाँ नाटकको ‘पागल’ पात्रले हामीलाई हेर्दै भनिरहेका थिए–‘तिमीहरु यहाँ कथा सुन्न आएको? के सुन्छौँ? म सुनाउँछु’ भन्दै उनी भुइँमा बस्न थाल्छन्।
त्यतिकैमा ‘युग फेरिए, जुग फेरिए, फेरिएन मान्छेको मन’ भन्ने गीत बज्छ। अनि नाटकको सुरुवात हुन्छ।
‘असुर’ एउटा गाउँको पारिवारिक कथा हो। जुन कथामा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन। अन्नत उसले ‘असुर’ को रुप लिन्छ।
गत १५ देखि चलिरहेको नाटकमा महिलालाई पीडित देखाइएको छ। पुरुष–पुरुषको बीचमा परेकी महिलाले नै अन्याय भोग्नु परेको छ। असुर नाटक हेरेर मैले वास्तविकतालाई बुझेँ।
नाटकमा २०५८–०६३ सम्मको देशको परिवेशलाई देखाउन खोजेको छ। लेखक रविन दोङ र निर्देशक विवेक न्यौपाने ‘घने’ रहेको उक्त नाटकले मेरोझैँ अरु दर्शकहरुको मन जित्न सफल भएको छ।
राजन कार्की र शंकर कार्कीको निर्माण रहेको नाटकमा केशवसिंह ठगुन्ना, प्रतीक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, वीरेन्द्रसिंह कुशवाहा, अस्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंसा गहतराज र शुक्रराज मगरको अभिनयले नाटक उत्कृष्ट बनेकाे छ। दर्शकहरुको मन जित्न सफल भएको ‘असुर’ नाटकलाई एकपटक हेर्नेपर्छ।