३८ क्विन्टल सुन काण्डः अदालतमा अन्तिम बहस आजदेखि, गाेरेलाई सुनाइँदै छ यस्ताे फैसला

सुन तस्करी एवम् मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको बहुचर्चित मुद्दाको अन्तिम बहस आज (आइतबार)देखि सुरु हुँदैछ।

सुन तस्करका भरियाको काम गर्दै आएका शाक्यको हत्या भएको घटनाको अनुसन्धान थाल्दा विदेशबाट झन्डै ३८ क्विन्टल सुन तस्करी गरेर नेपाल ल्याइएको खुलेको थियो।

उच्च प्रहरी अधिकारीसमेतको संलग्नता देखिएपछि करिब ४ वर्षअघि मुलुककै ध्यान खिचेको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम सुनुवाइ एवम् बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुन लागेकाे हाे।

सुरुवाती चरणमा कडा अनुसन्धानको कदम चालेको सरकारका तर्फबाट बहस गर्ने कानून व्यवसायीलाई आज र भोलि (सोमबार) गरेर दुई दिनको समय छुट्याइएको छ। पछिल्लो समय सेलाउँदै गएको भान भइरहेको मुद्दामा प्रतिवादी बनाइएका अधिकांश अभियुक्तहरू उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्।

पूर्पक्षका सिलसिलामा जिल्लाबाट उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेको मुद्दाको मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई बनाइएको छ। उनको समूहले दुबईबाट २०७४ साल माघ ९ गते तस्करीमार्फत भित्राएको साढे ३३ किलो सुन काठमाडौं ल्याइपुर्याएपछि गायब बनाइएको थियो।

अहिलेसम्म फेला नपरेको सुन गायब बनाएर पचाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा शाक्यको मृत्यु भयो।

शाक्यमाथि करेन्ट लगाएर चरम यातना दिएको दर्दनाक भिडियो नै सार्वजनिक भएको थियो। शाक्यको हत्या हुँदा उनीमाथि करेन्ट लगाइरहेको प्रष्टसँग देख्न सकिन्छ। घटनामा प्रत्यक्ष संलग्न बनेका गोरे भने शाक्यको हत्यापछि फरार बने। त्यतिबेला प्रहरीकै ‘सेटिङ’मा उनलाई भगाइएको आरोप पनि लाग्दै आएको छ।

७७ जना प्रतिवादी रहेको मुद्दामा पहिलो दिन आज सरकारी वकिलले बहस गर्ने जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले जानकारी दिए। उनका अनुसार यही असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

लामो समयदेखि विचाराधीन रहेर फैसलाको चरणमा पुगेको मुद्दामा वादी नेपाल सरकार र प्रतिवादीका कानून व्यवसायीबीच बहस हुने जानकारी धमलाले दिए।

कानून व्यवसायीको बहस सकिएपछि अदालतले फैसला गर्ने छ। मुद्दाको किनारा दसैंअघि नै लगाउने तयारी अदालतले गरेको छ। वादी नेपाल सरकारका तर्फबाट मुद्दाको बहसको नेतृत्व उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालले गर्ने छन्।

जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेललगायतले सरकारका तर्फबाट बहस गर्ने छन्।

उनीहरुले सुन तस्करीलाई थप पुष्टि गर्ने आधार पेस गर्दै तस्करी एवम् हत्यामा संलग्नलाई कैद सजायको मागदाबीसहितको दलिल इजलासमा प्रस्तुत गर्ने छन्।

प्रकाशित मिति: : 2021-09-26 10:36:00

प्रतिकृया दिनुहोस्