रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने इशनाथ नगरपालिका-४ को लतमरीबाट सशस्त्र प्रहरीले आईतबार राति पक्राउ गरेको हो।
भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय-९ का २६ बर्षिय धनञ्जयकुमार झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका गणपति (एसपी) विक्रम हुमागाईंले बताए।
उनका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जीन १ थान, ७.६७ एमएम ४ राउण्ड गोली बरामद भएको छ। घटनास्थलबाट बीआर ०५ बीडी १२२४ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको उनले जानकारी दिए।
तीनजना व्यक्ति एक होटलमा बसेर खाजा खाइरहेको र गतिविधि शंकास्पद रहेको खबर पाउना साथ सशस्त्र प्रहरी बलको टोली मठियाबाट खटिएको एसपी हुमागाईंले बताए।
आईतबार राति साढे ८ बजेको समयमा उक्त पसलमा सशस्त्र प्रहरीको टोली पुग्दा दुई जना भागेपनि हतियार बोकेका एक जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएको छ।
पक्राउ परेकाको आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको रौतहट सशस्त्र प्रहरीले जानकारी दिएको छ।
उनीहरू लामै समयदेखि नेपालमा आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको आशंका छ। उनीहरूको सम्भावित योजनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।