दैलेखी छाला जुत्ता शृङ्खला– ५ 

अन्तिम सास लिइरहेको दैलेखी छाला जुत्ता उद्योगमा बिरक्तिएका टेकबहादुर

Breaknlinks
Breaknlinks

दैलेख नारायण नगरपालिका– १ का ६४ वर्षीया टेकबहादुर बस्याल दैलेखी छाला बनाउने मध्येका एक हुन्। बिएल नेपाली सेवाले उनीसँग दैलेखी छाला बनाउने प्रविधिको विषयमा कुराकानी गरेको छ। 

पुरानो सीपलाई आधुनिकीकरण गर्ने विषयमा स्थानीयदेखि सबै तहका सरकारले चासो नदिँदा दैलेखी छाला जुत्ता प्रविधि र उद्योग अन्तिम सास लिइरहेको छ। अधिकांश ठाउँका उद्योग बन्द भइसकेका छन् भने धेरैले पेसा नै परिवर्तन गरिसकेका छन्।

पहिला काँचो छालालाई तयारी छाला बनाउने उनले यो काम छोडेको पनि लामो समय भइसेको छ। उनले आफूले छाला बनाउन दिनलाई यसरी स्मरण गरे:


इतिहासदेखि हाम्रा पुर्खाले मान्छेको चोलालाई हिंडडुल गर्न सहज बनाएका हौं। मान्छेको चोलालाई भोट-मधेस गर्न सजिलो बनाउन हाम्रो पुर्खाको ठूलो योगदान छ। त्यसरी नै सीप सर्दै हामीसम्म पुगेको हो।

गाई, भैंसी, पाडो, गोरु, राँगो, घोरल, रतुवा, चित्तल, थार, जरायोको काँचा छलाबाट हामीले जुत्ता बनाउने छाला बनाउँथ्यौं। यी सबै जनावरको काँचो छालाबाट तयारी छाला बन्न करिब ६ महिना १० दिन जति लाग्थ्यो। हाम्रा पुर्खाहरुले छाला जुत्ताको आवश्यक कच्चा पदार्थ र सामग्री ल्याउन २२ दिनसम्म लगातार हिंडेर भारतको कानपुर गएर ल्याउँथे। सानो छँदा हामीले पनि देखेका हौं तर हामी गएनौं। हाम्रो पालामा नेपालगञ्जमा पनि ती कच्चा पदार्थ पाइन्थे। अहिले केही त दैलेख बजारमा पनि पाइन्छ।

पहिला इन्डियाबाट ल्याउने सामग्रीबाहेक अरु सबै घरमै तयार गर्नुपर्थ्यो। पहिला निकै दुःख हुन्थ्यो अहिले सुख छ। सुख हुनेबेला मैले पेसा छोडेँ। दुःख मात्रै हात लाग्यो। छोडौं, यी मेरो सुख दुःखका कुरा। अब छाला बनाउने प्रविधिबारे नै छलफल गरौं।

काँचो छालालाई जुत्ता बनाउने तयारी छाला बनाउन लामो पक्रिया छ। यी लामो प्रक्रियालाई कतिले सावर प्रविधि पनि भन्छन्। सावर भनेको दक्षिण हिमाली क्षेत्रमा पाइने मृग हो। जसको छालाबाट बनेको जुत्ता महँगो पनि हुन्छ भने ती जुत्ता लगाउनेको समाजमा मान, प्रतिष्ठा बढी हुन्छ। हैसियत पनि उचो भएको मानिन्छ।

दैलेख नारायण नगरवालिकाका २२ घरे सार्की परिवार सबैको पेसा छाला जुत्ता बनाउने हो। तर, अहिले भगवतीमाई नगरपालिकाको वडा नं.४ को एउटा परिवारका एक जना मात्रै सावर बनाउँछन्। अरु छाला बाहिरबाट आउँछ।

२०२५ सालसम्म दैलेखी छाला जुत्ता र सावरको माग व्यापक थियो। त्यतिबेला जुम्लीहरु आएर डोकोमा जुत्ता बोकेर लगेको हामीले देखेका हौं।

राजा, महाराजा, राणा र मन्त्रीहरु समेतको रोजाइमा पर्ने दैलेखी छाला जुत्ता प्रविधि अब लोप भइसकेको छ। अहिले त हुनेखानेहरु विदेशबाट समेत जुत्ता झिकाएर लगाउने गरिरहेका छन्।

काँचो छालाबाट तयारी छाला बनाउनका सुरुमा दुई वटा खाडल बनाउनुपर्छ। जसलाई हामी खाडी भन्छौं। त्यो ३ फिट गहिरो र ३ फिट चौडाई भएको हुन्छ। खाडीबाट पानी बाहिर नछिरोस् भनेर भित्रबाट माटोमा रौं राखेर चुनाले पोत्ने र लिप्ने गरिन्छ। त्यो सिमेन्टको जस्तो पानी नछिर्ने हुन्छ। पानी सिधै खाडलमा नपरोस भने। खाडल १ फुट जति अग्लो पारिन्छ।

खाडल तयार भएपछि विभिन्न जनावरहरूको छालालाई खाल्डोमा चुना छर्कंदै छाला राख्ने गरिन्छ। एउटा छाला राख्दा पनि बन्न उही समय लाग्ने हुनाले सकेसम्म धेरै छाला तयार पारी खाडीमा हालिन्छ। कम्तिमा आठदेखि १० वटा छाला सजिलै राख्न सकिन्छ। छालको माथितिर तीन/चार केजीका पाँच/छ वटा ढुंगा राखिन्छ।

राखेको छालाबाट एक बित्तामाथि आउने गरी पानी भरेर राखिन्छ। यसले जंगली जनावर र कुकुरले सजिलै निकाल्न पाउँदैनन् भने आकासे र बाहिरको पानी सिधै खाल्डोमा पर्दैन। खाडीको माथितिर भाटा वा साटो राखी बोरा वा प्लाष्टिकले छोपी पानी बाहिर तर्काइन्छ।

खाल्डोमा सबै प्रकारको छालालाई चार महिना चुन पानीमा राखिन्छ। हरेक ८ देखि १० दिनमा चुनपानी फेर्दै, छाला माड्ने पनि गर्नुपर्दछ। यो एउटा लामो प्रक्रिया हो।

त्यसपछि सफा पानीले छालालाई पखाली दोस्रो खाल्डोमा सारिन्छ। त्यो छालामा रंग मिसाउने समय पनि हो। छाला कस्तो बनाउने भनी सोचिन्छ र त्यही अनुसारको रंग तयार पारिन्छ। 

गाढा रातो रंगको छाला बनाउन उत्तिसको पाको रुखको बोक्रा चाहिन्छ। ढिकीमा मसिनो गरी कुटेर धुलो पारिएको बोर (रंग) को प्रयोग गर्नुपर्दछ। त्यस्तै पँहेलो रंगको लागि औले लोदको पात काटेर धुलो प्रयोग गर्नुपर्दछ। सेतो रंगको लागि लेकाली लोदको पात सुकाई कटेर धुलो प्रयोग गर्नु पर्दछ। त्यसलाई खाडीमा दुई महिनासम्म राख्यो भने रंगिन छाला तयार हुन्छ।

७ देखि ९ दिनमा सफा पानी र रंग (बोर) को धुलो फेर्नु पर्दछ। सफा पानीसँगै चुनेट लगाउँदै जानुपर्दछ। गोलो मोटो लठ्ठी वा साटोमा छाला बेरेर किलोमा झुन्डयाएर रंग छिराउने विधिलाई नै चुनेट भनिन्छ। खाल्डो नजिकै काठको खाँबो जमिनबाट ६ फिट जति अग्लो गरेर गाडिन्छ।

उभ्याइएको खाँबोको टुप्पोतिर छालाको बीच भागलाई बेरेर लुगा निचोरे जसरी निचोर्नुपर्छ। यसरी निचोर्दा छालाभित्र रंग मज्जाले छिर्छ र छाला सफा र छाला रंगिन हुन्छ।

रंग भरिएको छालालाई राम्ररी निचोरेर फेरि पहिलाकै जसरी खाल्डोमा राख्नुपर्दछ। दुई महिनासम्म यही प्रकिया जारी रहन्छ। सबैभन्दा बढी समय रंग चडाउने बेला जान्छ।

त्यसपछि छालालाई बाबियोको डोरीले तुनेर ठाडो थैलो बनाइन्छ। त्यसभित्र पानी र आवश्यक रंग छनौट गरी थैलोभित्र राखेर रंग निकाल्न बेस्सरी ढुंगाले खिप्ने गरिन्छ। बिहान खिपेको थैलोलाई बेलुका मुखमाथि र माथिको मुख तल पारी तुनेर त्यही पानी राखी फेरि खिप्ने गरिन्छ। थैलोको दुबैपट्टि खिप्न दुई दिन जति लाग्छ। ढुंगाले राम्ररी खिपिसकेपछि छालालाई तन्काएर सुकाउनुपर्छ। राम्रो पारिलो घाम लागेको छ भने छाला एकै दिनमा  सुक्छ।

अब छाला तयारीको चरणमा जान्छ। यसरी सुकेको छालालाई हल्का ओसिलो बनाउन मुखमा सफा पानी राखी छालाको चारैतिर पर्ने गरी दुवैतिर छर्किने गर्नुपर्दछ। यसपछि चारकुना मिल्ने गरी सावरलाई पट्याउनु पर्दछ भने हल्का माड्ने र थिच्ने पनि गर्नुपर्छ। यसपछि चिप्लो ढुंगामा छालालाई राखेर फागले दुवैतिर खुर्कनुपर्छ। यसरी तयार भएको छालालाई बाकस वा लुगामा बेरेर लामो समय राख्न सकिन्छ। यस्तो छाला निकै बलियो हुन्छ र लामो समय टिक्छ।

मृगको छालाबाट दुई जोरसम्म जुत्ता बनाउन सकिन्छ भने छाला सानो भएको खण्डमा तीनवटा जुत्ता मात्रै बन्छ। गाई भैंसीको छालाबाट साडे दुई देखि तीन जोरसम्म जुत्ता बन्छ।

तर, अब यो कहानी भइसक्यो। छाला बनाउने मान्छे भेटाउनै मुस्किल छ। घर अगाडि बनाएका खाडीहरुका अवशेष मात्रै छन्, तर छाला बनाउने मान्छे छैनन्। प्रविधि र उद्योग लोप भइसक्यो। त्यसैले हामीले विरक्तिएर काम नै छोड्यौं।

प्रकाशित मिति: : 2022-03-02 16:10:00

प्रतिकृया दिनुहोस्